Comments Add Comment

‘मैले क्लब लिग गर्न अनुमति दिएको हुँ, सम्झौताअनुसार नभए प्रतियोगिता रोक्नसक्छु’

असार ५ देखि काठमाडौंमा हुने भनिएको एसियन प्रिमियर लिगलाई लिएर आशंकाहरु उब्जिएको छ । नेपाली खेलाडीको सहभागिता तथा आयोजकको पादरर्शीतामाथि क्रिकेट खेलाडी संघले समेत प्रश्न उठाएको छ । तर, आयोजनाका लागि अनुमति दिने राष्ट्रिय खेलकुद परिषद् मौन छ । निकै प्रयासपछि राखेप सदस्य सचिव केवश विष्ट टेलिफोन सम्पर्कमा आए । उनीसँग राजकुमार श्रेष्ठले गरेको कुराकानीः

एसियन प्रिमियर लिगलाई लिएर धेरै प्रश्न उठेको छ । यसको ओनरदेखि नेपाली खेलाडीहरुको सहभागिता लगायतका विषयमा प्रष्ट भएन भन्ने छ नी? 

यो भनेको कुनै निजी संस्थाले नेपालमा क्लब लिग गर्ने भनेर स्वीकृति माग्न आयो र हामीले नियमानुसार स्वीकृति दियौं । को खेलाडी खेल्छ, को खेल्दैन, खेलाडीको इच्छाको कुरा हो । नेपाल टिम सहभागी भएको होइन । नेपालको कुनै क्लब सहभागी हुन्छ । यो धेरैले बुझेको छैन ।

तर, आयोजकले त क्लब लिग होइन, एसियन प्रिमियर लिग भनेका छन् नी ?

उहाँहरुले के भन्नुभो त्यो छोडिदिनुस्, म के भन्छु, त्यो सुन्नुस् । हामीसँग एसियन क्लब प्रिमियर लिग भनेर सहमति भएको छ । क्रिकेट काउन्सिल अफ चण्डिगढ भन्ने संस्थाले अनुमति माग्यो । यो अनुमति दिन मैले एसीसी, आईसीसी कसैसँग अनुमति लिनु पर्दैन । हाम्रो आफ्नो प्रावधानअनुसार स्वीकृति दिएँ । यसमा एक रुपैयाँ लगानी पनि छैन, नेशनल टिम खेल्ने पनि होइन । अब कुन खेलाडीलाई खेलाउँछ, खेलाउँदैन उनीहरुको कुरा हो ।

यसमा नेपाली खेलाडीको सहभागिता राखेपको चासोको विषय नै बनेन ?

नेपाल देश सहभागी हुने होइन । कुनै क्लबमा कुनै खेलाडी खेल्छ/खेल्दैन भन्ने चासो हुनु नहुनुमा के सम्वन्ध छ ? मैले कुनै खेलाडीलाई जबरजस्ती खेल भन्न पनि सक्दिनँ । खेलाउनेलाई जबरजस्ती खेलाउ पनि भन्न पनि सक्दिन ।

उसो भए नेपालमा यो लिग हुनुको फाइदा के त ?

फाइदा थुप्रै छन् । तपाई लेख्नुहुन्छ ?

भन्नुस् न, प्लिज ?

एक, नेपालमा इन्टरनेशनल टुर्नामेन्ट हुँदैछ । दोस्रो, नेपाली खेलाडीलाई उनीहरुले अक्सनमा सहभागी गराउँदैछन् ।

मैले तपाईलाई बीचमा रोकेँ, आयोजकले अक्सन पारदर्शी रुपमा गरेनन् । लिग आयोजकले आईसीसी वा एसीसीको अनुमति नभए खेलाडी रिलिज गर्दिँन भनेर राष्ट्रिय टोलीका प्रशिक्षकले पनि भनेका छन् ।

तपाई मेरो कुरा नसुन्ने अनि तपाईको कुरा मात्र मैले सुन्नु पर्ने ?

ल भन्नुस्

यदि तपाईसँग कुनै पूर्वाग्रह छैन भने, कसैले तपाईलाई परिचालन गरेको छैन भने मेरो कुरा सुन्नुस् । नेपालमा इन्टरनेशनल टुर्नामेन्ट हुँदैछ । नेपालको दर्शकले हेर्न पाउँछ । नेपाली खेलाडीलाई खेल्न प्रतिवन्ध लगाएको छैन । तर, कोही खेल्दिनँ भनेर बस्छ भने खेल्दैन । तेस्रो, उसले हामीलाई ग्राउण्ड भाडा तिरेको छ । चौथो, यसले नेपालमा करोडौं रुपैयाँ आउँछ । स्पोट्स टुरिजम विकास गर्ने हो भने अन्तराष्ट्रिय इभेन्टमा सहयोग गर्नुपर्छ ।

कुनै आयो नेपालमा भने आलोचना गर्ने, शंका गर्ने, लखेट्ने, हामीलाई पुछिएन, मैले खेल्न पाइँन भन्नुको अर्थ हुँदैन । हामीले एउटा-एउटा मान्छेलाई होइन, देशलाई हेर्ने हो । यस्ता खालका इभेन्ट नेपालमा थुप्रै आउनुपर्छ, खेलकुदबाट नेपालको अर्थतन्त्रको विकास गर्न सक्छौं । तर, यहाँ एसीसी-आईसीसीले कारबाही गर्छ भनेर रोकिराखेको छ । यो आईसीसी र एसीसीको चासोको विषय होइन, नेपालको हितमा हेर्ने हो तर, र्‍युमर(हल्ला) फैलाइएको छ ।

तपाईले नेपाली खेलाडीलाई प्रतिवन्ध लगाइएको छैन भन्नु भो । तर, अक्सनमा नेपाली खेलाडी को-को परे नै थाहा छैन । यतिसम्म कि नेपाली राष्ट्रिय टोलीका कुनै खेलाडीलाई प्रतियोगिताबारे जानकारी समेत छैन ।

तपाईले बुझ्नु भएको छ नेपाली खेलाडीलाई कसले रोकेको छ ?

कसैले रोकेका होइन, क्रिकेट टिमका प्रशिक्षकले हामीसँगै यदि आईसीसीको अनुमति छैन भने म प्लेयर रिलिज गर्न सक्दिन भनेर भनेका मात्र हुन्

उ नेपाली खेलाडीको ठेकदार हो ? किन रोकेको ? उसको अधिकार हो ? को हो उ ?

नेपालको राष्ट्रिय टोलीका प्रशिक्षक हुन् नी त ।

नेपाल टिम सहभागी हुँदा मात्र उनी कोच हुन् । नेपालको कोच भनेको राष्ट्रिय खेलकुद परिषदको कर्मचारी हो । परिषदले स्वीकृति दिएको छ । तर, यहाँ व्यक्तिगत रुपमा आग्रह पूर्वाग्रहले काम गरेको छ । कसले कति बार्गेनिङ गरिरहेको छ, सबै मलाई थाहा छ । उनलाई सोधिएन, मानिएन भनेर भ्रम फैलाउने ?

ए, उसो भए यो जे भएको थियो साह्रै राम्रो थियो । प्रश्न उठाउने नेपाली खेलाडी र प्रशिक्षक दोषी हुन् ?

कोचको गल्ती छ । खेलाडीलाई रोक्ने उसको अधिकार छ ? खेलाडीको व्यक्तिगत स्वतन्त्रता हुँदैन ? तँलाई एसीसी, आईसीसीले कारबाही गर्छ भनेर डर देखाएको छ । यदि रोक्नु पर्ने भए राष्ट्रिय खेलकुद परिषदले रोक्छ नि । तर, खेलाडी कोच वा क्याप्टेनको निजी सम्पत्ति होइन ।

टिमको कोचले क्यान निलम्बनमा रहेको र आईसीसीले हेरिरहेकाले अनुमति चाहिन्छ, नभए भोलि अप्ठ्यारो पर्न सक्छ, प्रतिवन्ध लाग्नसक्छ भनेर सचेत गराउनु के गल्ती भयो र ?

टिमको कोच भनेको ठेकदार होइन । अर्को कुरा यो खेल खेल्दा किन आईसीसीले कारबाही गर्छ ?

तपाईलाई सन् २००७ देखि ०९ सम्म भारतमा भएको आईसीएल र त्यहाँ खेल्ने खेलाडीमाथि भएको कारबाही त थाहा नै होला ?

इण्डियामा कन्ट्रीवाइज भएको थियो । मैले क्लब लिग भनेर अनुमति दिएको हुँ । आयोजकले भोलि बादमासी गरे र सम्झौताअनुसार भएन भने कारबाही गर्छु र प्रतियोगिता नै रोक्नसक्छु । तर, हुनुभन्दा पहिला नै भ्रम फैलाइयो ।

 तपाई भन्नुहुन्छ, क्लब लिग गर्छु भनेर सम्झौता गरेको छ । आयोजक भन्छ, एसियन प्रिमियर लिग खेलाउँछु । उनीहरुको ब्यानरदेखि ट्रफी कतै क्लब भन्ने शब्द छैन, सञ्चार माध्यमहरुमा आएको तस्वीर त पक्कै हेर्नु भयो नै होला । तर, आयोजकमाथि प्रश्न त उठ्यो नि !

सम्झौता भन्दा फरक देखियो र मैले एक्सन लिइसकेँ । उनीहरुले पुरानो मोडल यही हो । कन्ट्रीवाइज गर्न आईसीसीको स्वीकृति लिनुपर्छ भनेर मैले नै क्लब हालेको हो । र, यदि सम्झौता अनुसार भएन भने म खारेज गर्छु भनेको छु । र, उसले सम्झौता अनुसार हुन्छ भनेको छ । भोलि, पर्सिसम्म पर्खिनुस् । तर, खेल रोक्नु त भएन नि ।

खेल त कसले रोकेको छ र ?

रोक्नेको नियत इमान्दारिपूर्वक छ ? खेलाडीलाई नजा भन्न मिल्छ ?

नजा भनेको होइन होला, आईसीसीको अनुमति भए मात्र दिन्छु भनेको हो कि ?

खेलाडीलाई जान दिन्छु वा दिन्न भन्ने को हो ? क्यान नभए पनि राखेप छ, खेल्न जाने/नजाने त्यहाँ पो सोध्ने हो त । तर, कोही व्यक्तिले खेलाडीलाई खेल्न जा कि नजा भन्न मिल्दैन ।

यो प्रतियोगिताले यू-१९ को बन्द प्रशिक्षणलाई पनि प्रभावित पार्ने देखियो नि ।

ट्रेनिङ गराउने जिम्मा हामीले लिन्छौं । बन्द प्रशिक्षण छ भनेर मैले बल्ल थाहा पाएको छु । यो लिगको प्रक्रिया अघि बढाउँदा र ग्राउण्ड बुक गर्दा मैले सल्लाहकार समूहका विनयराज पाण्डे र जगत टमाटासँग सल्लाह गरेको छु ।

समस्या त देखियो । अब समस्या कसरी हल गर्ने त ?

केही समस्या छैन, म हल गर्छु । यू-१९ को क्लोज क्याम्प जम्मा चार दिन प्रभावित हुने रहेछ । मैले बैकल्पिक मैदान तयार गर्न भनेको छु । त्यसपछि उनीहरु भारत जान्छन् ।

तर, यहाँ केही निहित स्वार्थले विगारेको छ । मैले त नेपालको हितमा हुन्छ, क्रिकेटको हितमा हुन्छ भनेर गरेको । खेलाडीलाई पनि मन पर्दैन, पत्रकारलाई पनि मन पर्दैन, कसैलाई पनि मन पर्दैन भने किन गर्नु ?

मन पर्ने/ नपर्ने भन्दा पनि नेपालमा हुने टुर्नामेन्टबाट नेपाली खेलाडीले लाभ लिउन् र प्रतियोगिताको आयोजना पनि पारदर्शी रुपमा होस् भनेको न हो ?

परादर्शी भनेको के ? हामीले पैसा खर्च गरेको छैन । हामीले दिएको स्वीकृति परादर्शी नै छ, यो भोलि नै म सार्वजनिक गरिदिन्छु । खेलाडी अक्सन गरेको छ । जाँदैनन् भने खेलाडीको कुरा भयो ।

तर, हिजो एनपीएल गर्दा हामी कहाँ फस्यौं र आज के भोगिरहेका छौं भनेर त हामीले भन्दा बढी तपाईहरुले नै बुझ्नु भएको होला ?

मैले बुझेको छु र सल्लाहकार समूहका विजयराज पाण्डेसँग छलफल गराएरै गरेको हो । प्राविधिक कुरा मैले जगत टमाटासँग सल्लाह गरेको हुँ । दुबैको सहमतिमा भएको हो । मात्र यू-१९ को क्लोज क्याम्प केही दिन जुधेछ । अब दिनु हुँदैनथ्यो भन्ने सबैलाई लाग्छ भने रोकिदिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् । राजनीतिक ब्युरोमा कार्यरत श्रेष्ठले मधेस र जनजाति राजनीतिमा दख्खल राख्छन् ।

ट्रेन्डिङ

Advertisment