Comments Add Comment

‘चुनाव पनि लड्ने, लिम्बुवान बन्द पनि गर्ने ?’

कुमार लिङदेनजी कुहिरोको काग बन्नुभयोः खगेन्द्र माखिम

लिम्बुवान र फोरमबीच पार्टी एकताको दृश्य

३० जेठ, इटहरी । पूर्वी नेपालमा सामान्य प्रभाव रहेको संघीय लिम्बुवान पार्टी यतिबेला छिन्नभिन्न भएको छ । खगेन्द्र माखिमको नेतृत्वमा एउटा समूह उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा समाहित भएको छ ।

कुमार लिङदेनले राजपासँग गठबन्धन गरेर लिम्बुवान बन्द लगायतका चुनाव बिथोल्ने कार्यक्रम घोषणा गरेका छन् । तर, उनकै कार्यकर्ताहरु ताप्लेजुङ, पाँचथर, झापा लगायतका जिल्लामा निर्वाचनमा भाग लिइरहेका छन् ।

संघीय लिम्बुवान नेपालका अध्यक्ष रहेका लिङदेनले आफ्नै अध्यक्षतामा संघीय लिम्बुवान मञ्च नामक अर्को पार्टी गठन गरेका छन् । लिङदेन नेतृत्वको सो मञ्चले अहिले ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा घर चुनाव चिन्ह लिएर उम्मेदवार घोषणा गर्दै चुनावी प्रचार गरिरहेको छ ।

तर, आफ्नै कार्यकर्ताहरुले चुनावमा भोट मागिरहेका बेला सोही पार्टीका अध्यक्ष लिङदेन भने राजपासँग मिलेर बहिस्कारका गतिविधि गरिरहेका छन् । लिङदेनले ‘एक पार्टी, दुई नीति’को लाइन लिएका छन् ।

संघीय लिम्बुवान पार्टीका अर्का नेता सञ्जुहाङ पालुङवा विजयकुमार गच्छदारको पार्टीका प्रवेश गर्न लागेको चर्चा झापामा व्यापक बनेको छ । अर्का नेता सूर्य माखिम लगभग निश्क्रियजस्तै छन् । त्यस्तै अर्का नेता वीर नेम्वाङ अब राजनीतिमा सक्रिय नहुने, अध्ययन गरेर बस्ने बताउँदैछन् ।
यही सिलसिलामा हामीले संघीय समाजवादी फोरमका पोलिब्युरो सदस्य एवं लिम्बुवान प्रदेश प्रमुख खगेन्द्र माखिमलाई लिम्बुवानको अहिलेको राजनीतिक अवस्थाबारे सोध्यौं-

संघीय लिम्बुवान पार्टीबाट तपाईको समूह उपेन्द्र यादव नेतृत्वको फोरममा समाहित भएपछि तपाई पोलिटब्यूरो सदस्य बन्नुभएको छ । तर, सामाजिक सञ्जालका कतिपय प्रतिक्रियाहरु हेर्दा तपाईहरुलाई ‘लिम्बुवान छाडेर भागेका गद्दार’ भनेको सुनिन्छ नि, किन यस्तो ?

खगेन्द्र माखिम

लिम्बुवान आन्दोलनका लागि सबैभन्दा ठूलो गद्दारी त भेडेटारमा भएको पार्टी एकतालाई तोडेर अध्यक्ष कुमार लिङदेन स्वयंले नयाँ पार्टी गठन गर्नुभयो । लिम्बुवानमा अहिलेसम्म नामै नभएको संघीय लिम्बुवान मञ्च भनेर नयाँ खोल्नुभयो । लिम्बुवानको राजनीतिक इतिहासमा यो नाम कहिल्यै थिएन ।

भेडेटारको पार्टी एकतापछि संघीय लिम्बुवान पार्टी नेपालको अध्यक्ष पनि उहाँ नै हुनुहुन्थ्यो, अहिले आफैं अध्यक्ष भएर मञ्च खोल्नुभयो । यहीँबाट लिम्बुवानबासीमाथि, लिम्बुवान आन्दोलनमाथि ऐतिहासिक धोका भएको हो । भेडेटारमा भएको एकताको विरुद्धमा यहीँबाट ऐतिहासिक गद्दारी सुरु गरिएको हो, हामीबाट होइन ।

तर, तपाईहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गर्नुको कारण चाहिँ के हो ? लिम्वुवान आन्दोलन छाडेको हो कि हैन ?

कुमार लिङदेनजीले एकतालाई तोडिसकेपछि हामीले पार्टीको महाधिवेशन गर्‍यौं । हाम्रो पार्टीको महाधिवशेन हाम्रो असोजमा सम्पन्न भयो र कुमार लिङदेनजीको ठाउँमा सञ्जुहाङ पालुङवा अध्यक्ष बन्नुभयो । तर, महाधिवशेन सकिएको लगभग ८ महिनासम्म अध्यक्ष सञ्जुहाङ पालुङवाज्यू अफिसमै आउनुभएन । पार्टीलाई आफ्नै घरमा सीमित राख्नुभो । त्यसपछि बहुमत केन्द्रीय समितिको निर्णयबाट उहाँलाई निलम्बन गरियो ।

महासचिव सूर्य माखिमजी हुनुहुन्थ्यो । सूर्यजी र सञ्जुहाङजीको डिजाइनमा बाँकी रहेको संघीय लिम्बुवान पार्टीलाई घरमा सीमित गरियो घरमै मिटिङ गर्ने, घरबाटै मान्छे नियुक्ति गर्ने, घरबाटै मान्छेलाई कारवाही गर्ने यावत कार्यहरु गर्नुभएपछि उहाँलाई बहुमतबाट निलम्बन गरियो । सूर्यजीलाई पदमुक्त गरियो । र, अहिले उहाँहरु संघीय लिम्बुवान पार्टी नेपालको कुनै पदमा हुनुहुन्न । हामी छौं भन्छन् भने त्यो भ्रममात्रै हो ।

हाम्रो प्रश्न के हो भने तपाईहरु लिम्बुवान पार्टीबाट उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीमा समाहित हुनुको कारण चाहिँ के हो ?

केन्द्रीय समितिका ९० जनामा लगभग ६८ जनाको उपस्थितिमा भएको निर्णयले के गर्‍यो भने अब लिम्बुवान प्राप्तिका लागि लिम्बुवान पार्टीले मात्रै नहुनेरहेछ । हामी लिम्बुवानको एकता चाहनेहरु हौं, लिम्बुवान भनेर जुन मनोविज्ञान थियो, कुमार लिङदेन हुँदै सञ्जुहाङ र सूर्यसम्म आइपुग्दा त्यो ध्वस्त भयो । त्यसपछि हामीले लिम्बुवान प्राप्त गर्नका लागि लिम्बुवानले मात्रै नहुने रहेछ भन्ने निश्कर्ष निकाल्यौं ।

भेडेटारमा गरिएको लिम्बुवानको एकता सफल नभइसकेपछि अब हाम्रो मुद्दालाई सम्वोधन गर्नका लागि दुईवटा मात्रै बाटा छन्ः कि त राज्यलाई झुकाउने गरी र अहिलेको संविधानलाई च्यात्ने गरी माओवादी जनयुद्धभन्दा नयाँ उचाइको संघर्ष गर्न सक्नुपर्‍यो । अहिले नै लिम्वुवानबाट यसो गर्न सम्भव देखिएन । किनभने भेडेटारमा भएको लिम्बुवानको एकतालाई ध्वस्त बनाइयो ।

अब दोस्रो लाइन भनेको पहिचानवादीहरुको एकताबाट बहुमत सिर्जना गरेर नेपालको संविधान संशोधन गरेर लिम्बुवान राज्यको पहिचान स्थापित गर्न सकिन्छ । यो दोस्रो लाइन लिनुपर्ने स्थिति आएपछि हामीले दोस्रो लाइन छान्यौं ।

यही कारणले अहिले १० वटा प्रान्तको प्रस्ताव लिएर संघीय समाजवादी पार्टी अगाडि आइरहेको छ र मधेसमा आन्दोलन पनि गरिरहेको पार्टी भएको हुनाले यसले लिम्बुवान प्रदेश समिति हामीलाई दिने र यहाँभित्रको निर्णय, यहाँभित्रको आन्दोलनमाथि कुनै हस्तक्षेप नगर्ने सहमति भएकाले हामी यसमा एकतावद्ध भएका हौं ।

तपाईंहरुले लिम्बुवान आन्दोलन छाड्नुभएको हो कि हैन ?

पार्टीको नाम र झण्डा नभए पनि हामीले मुद्दा छाडेका छैनौं । कतिपय हामी लिम्बुवान हौं भन्ने मान्छेहरुले फेसबुकतिर कतै-कतै हामीलाई लिम्बुवान छोड्यो भनेर आरोप लगाएको बुझिन्छ । तर, उनीहरुले लिम्बुवानलाई बुझेका रहेनछन् । लिम्बुवान भनेको मुद्दा हो, नाम र झण्डामात्रै होइन ।

बरु लिम्बुवानका नाममा झण्डा बोकेर लिम्बुवानको मुद्दालाई बेचेर खाइरहेका छन् । योभन्दा माथि उठेर लिम्बुवान प्राप्तिका लाग्नेहरुको एउटा इमान्दार समूह हौं हामी । यसका लागि पहिचानवादीहरु एक हुनुपर्छ भनेर सुरुवात हामीले गरेका हौं । लिम्बुवान आन्दोलन हामी छाड्ने छैनौं, यसको प्राप्ति नभएसम्म हाम्रो अभियान जारी रहनेछ ।

तपाईहरुले संघीय समाजवादी पार्टीसँग एकता गरिसकेपछि लिम्बुवानका जिल्लाहरुको राजनीतिक स्थिति के छ ? पार्टी एकतापछि तपाईहरु के गर्दै हुनुहुन्छ ?

पार्टी एकतापछि हामी जिल्ला-जिल्लामा आन्तरिकरुपमा समायोजनका कामहरु गरिरहेका छौं । म भर्खरमात्रै पाँचथरबाट दमक झरेको छु । अहिले हामीमा एकदमै उत्साह छ । लिम्बुवानका सुभेच्छुकहरुमा एक खालको उत्साह मरिसकेको थियो ।

तपाईले अघि भन्नुभयो कि कुमार लिङदेनले लिम्बुवान आन्दोलनलाई ध्वस्त बनाउनुभयो, के आधारमा तपाईले लिङदेनमाथि यस्तो आरोप लगाउँदै हुनुहन्छ ?

कुमार लिङदेनजीले जुन भेडेटारको पार्टी एकतालाई तोडेर मञ्च बनाउनुभयो, अहिले उहाँले त्यसलाई पनि कायम राख्न सक्नुभएन । अहिले अन्तिममा आएर उहाँ राष्ट्रिय जनमुक्ति पार्टीको घर चिन्ह लिएर कार्यकर्तालाई चुनावमा होमिराख्नुभएको छ ।

तपाई कसरी यस्तो भन्न सक्नुहुन्छ ? कुमार लिङदेन त राजपासँग मिलेर चुनाव बहिस्कारको कार्यक्रममा पो हुनुहुन्छ हैन र ? लिम्बुवान बन्दको घोषणा समेत उहाँकै पहलमा भइसकेको छ…

कार्यकर्तालाई चुनावको तयारीमा उहाँले नै पठाउनुभएको हो । उहाँले जुन बाटो बिराउनुभयो, त्यसपछि उहाँ कुहिरोको कागजस्तै बन्नुभएको छ । उहाँले लिम्बुवान राजनीतिलाई धोका दिनुभएको छ ।

कसरी ?

घर उहाँको चुनाव चिन्ह नै होइन, त्यो जनमुक्ति पार्टीको चिन्ह हो । उहाँले पुरानो पार्टी ब्यूँताएको भन्नुभएको छ । तर, पुरानो पार्टीको चुनाव चिन्ह त दापसहितको खुकुरी हो । उहाँले त लिम्बुवानलाई पहिलेको जनमुक्ति पार्टीमा पो पुर्‍याइदिनुभयो ।

जस्तै-संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीवीच चुनाव चिन्हबारे सहमति भयो । हातले बोकेको मसालमा सहमति भयो र अहिले नयाँशक्ति पार्टीले यही चिन्ह प्रयोग गरिराखेको छ । कुमारजी र जनमुक्ति पार्टीवीच त यसरी सहमति गरिएको छैन । आम लिम्ुवानबासी जनतालाई भ्रममा पारिएको छ । लिम्बुवान भनेर राष्ट्रिय जनमुक्ति पार्टीको कार्यकर्ता बनाइएयो क्या ।

तर, कुमार लिङदेनजीले चुनाव बहिस्कार गर्नुभन्दा चुनावमा भाग लिनु राम्रै काम होइन र ? तपाईहरु पनि त चुनाव उपयोगकै नीतिमा हुनुहुन्छ….

उहाँले मुखले एकथोक भन्नुहुन्छ, काम अर्कैथोक गर्नुहुन्छ । आन्दोलन पनि भनिराख्नुभएको छ, अर्कोतिर आम कार्यकर्ताहरु चाहिँ घर चिन्ह लिएर चुनावमा गइराखेका छन् । परिणाम यही हो, लिम्बुवान आन्दोलन ध्वस्त पार्नुभयो । र, यसलाई बचाउनका लागि हामीले अहिले यो कदम चालेका हौं । तर, कुमार लिङदेन नै लिम्बुवानको सबै चिज हो भन्ने धेरैमा भ्रम छ ।

एकातिर भोट मागी हिँड्ने, अर्कोतिर राजपासँग मिलेर आन्दोलन पनि घोषणा गरी हिँड्ने ? जुन पार्टीले उम्मेदवारका लागि प्रचार प्रसार गर्दैछ, प्रतिवद्धतापत्रहरु सार्वजनिक गर्दैछ, पोेस्टर पम्प्लेट छापेर हिँडेको छ, उसैको कार्यक्रम के आउँछ भने मनोनयन गर्न नदिने, लिम्बुवान बन्द गर्ने, नेपाल बन्द गर्ने । यसरी आम जनतालाई गुमराहमा पार्न पाइँदैन ।

चुनाव बहिस्कारका लागि लिम्बुवान बन्द गर्ने कुमार लिङदेनका कार्यकर्ता यसरी भाेट मागिरहेका छन्- 

तपाईको विचारमा कुमारजीबाट किन यस्तो दोहोराे नीति लिने काम भइरहेको छ ?  यसमा उहाँको पनि त केही ‘लजिक’ होला नि ?

यसले के प्रष्ट पार्छ भने यसो गर्ने साथीहरु लिम्बुवानका लागि लडिराखेका छैनन्, लिम्बुवानलाई देखाएर आफ्नो जिउने साधन र स्रोत जुटाइरहेका छन् । मागीखाने भाँडोका रुपमा लिम्बुवानलाई दुरुपयोग गर्दैछन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले पहाडमा पनि संगठन बनाइरहेको छ । तर, मानिसहरु अझै पनि फोरमलाई मधेसी दल भन्ने गर्छन् । तपाईहरु पनि लिम्बुवान छाडेर मधेसी दलमा मिसिनुभयो भन्ने लिम्बुवानका कार्यकर्तालाई परेको छैन ?

कुमार लिङदेनजीहरुले संघीय समाजवादी पार्टीलाई मधेसीहरुको पार्टी भनेर भ्रम छरेको सुनियो । मधेसी पार्टीमा खगेन्द्र माखिम र उसको समूह प्रवेश भयो भने हल्ला फैलाइएको रहेछ । यो भ्रमबाट मुक्त हुन म सबैमा आग्रह गर्दछु ।

यो चाहिँ कस्तो हो भने दलितको श्रम चल्ने, यौन चल्ने तर पानी नचल्ने भनेजस्तो  कुमार लिङदेनले मधेसीहरुसँग गठबन्धन गर्न मिल्ने, मधेसीहरुको वीचमा जनकपुरमा गएर भाषण गर्न मिल्ने, मधेसी नेतालाई लिम्बुवानमा बोलाएर भाषण गर्न दिन मिल्ने । मधेसी दलसँग मिलेर चुनाव बहिस्कारका कार्यक्रम गर्न मिल्ने, अनि तिनै मधेसीहरुसँग पार्टी एकता गरेर आफ्नो लक्ष प्राप्तिका लागि अगाडि बढ्न किन नहुने ?

अबको विकल्प भनेको एकात्मकताको विरोधका संघीयता पक्षधर सबै साथीहरु एक भएर अघि बढ्नुपर्छ । त्यसैले म यसबारे सम्पूर्ण लिम्ुवानबासीहरुलाई एकपटक सोच्न आग्रह गर्न चाहन्छु । जनमुक्ति पार्टीको चुनाव चिन्हमा भोट मागेर कतिदिन लाजमर्दो काम गरेर भ्रममा रहने ?

लिम्बुवानभित्र अलमलमा परेका साथीहरुलाई म के भन्न चाहन्छु भने तमाम पहिचानवादी, परिवर्तनकारी शक्ति एकतावद्ध हुनुपर्छ । नयाँ शक्ति पार्टी लगायतका पहिचानवादीहरु एकै ठाउँमा गोलबद्ध होऔं । र, नेपालमा एउटा वैकल्पिक पार्टी निर्माण गरौं । यसले मात्रै हाम्रो पहिचानकेा मुद्दा सम्वोधन हुन्छ । लिम्बुवानको मुद्दा पनि सम्बोधन हुन्छ । यसका लागि भ्रममा परेर, अल्मलिएर बस्नुभएका लिम्बुवानका नेता-कार्यकर्ताहरुलाई म पहिचानवादी पार्टीमा एकतावद्ध हुन आग्रह गर्न चाहन्छ ।

पूर्वी पहाडमा संघीय फोरमको चुनावी तयारी कस्तो भइराखेको छ ?

चुनावको तयारी व्यापकरुपमा भइराखेको छ । धनकुटा लगायतका केही जिल्लामा अन्य पार्टीहरुसँग पनि हाम्रो चुनावी तालमेल भइरहेको छ । पहाडका साथै झापामा विभिन्न ठाउँमा संघीय समाजवादीले स्वतन्त्र रुपमा उम्मदेवारी दिएर चुनाव प्रचारमा लागिरहेको अवस्था छ ।
हामीले भनेका छौं, चुनाव सबै कुरा होइन, तर यसलाई उपयोग गरेर जाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment