Comments Add Comment

द्रुतमार्गको स्थलगत अध्ययन गर्दै सेना, ५ वटा बेस क्याम्प खडा हुने


३० जेठ, काठमाडाैं । नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्र्याकको निर्माण थाल्न पाँच स्थानमा सेनाका निर्माण बेस क्याम्प खडा गर्ने भएको छ । एकैपटक १० स्थानबाट निर्माण थाल्ने गरी सेनाको प्राविधिक टोलीले अहिले दु्रतमार्गको स्थलगत अध्ययन गरिरहेको छ ।

ट्र्याकको वर्तमान अवस्थाबारे ‘फिल्ड असिसमेन्ट’ भइरहेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले अनलाइनखबरलाई बताए । निर्माण थाल्ने गरी टोली कहिलेबाट फिल्डमा जान्छ भन्ने टुंगो भने अझै लागेको छैन ।

‘सेनाले ट्र्याक अहिले कुन अवस्थामा छ भन्ने अध्ययन गरिरहेको छ, बाटो कस्तो अवस्थामा छ, काम अघि बढाउन हुन सक्ने समस्या के-के छन् भन्ने लगायतका विषय यसबाट पत्ता लाग्नेछ’ कडायतले भने,’कसरी निर्माण अघि बढाउने भन्ने यही अध्ययनबाट टुंगो लाग्छ ।’

सेनाले सरकारलाई फास्ट ट्र्याक निर्माणको कार्यबिधि बनाएर सरकारलाई दिएको छ । अब यो स्वीकृत हुनासाथ सेनाले बेस क्याम्प खडा गरेर काम थालिहाल्ने जनाएको छ ।

‘कसरी काम अघि बढाउने भन्ने सबै विषय कार्यबिधिमा नै छन् । यो स्वीकति भएपछि हामी त्यसैका आधारका निर्माणलाई गति दिन्छौं’ कडायतले भने ।

जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्र्याक निर्माणका लागि केही समयभित्रै सेनाको निर्माण कार्यदल विभिन्न स्थानबाट खटिनेछ ।

सेनाले फास्ट ट्रयाकलाई १० सेक्टरमा विभाजन गरेर काम थाल्ने योजना बनाइसकेको छ । अब त्यसका लागि सेनाले ५ स्थानमा बेसहरु राख्नेछ । एकैपटक सबै स्थानबाट काम सुरु गरेर अबको ४ वर्षभित्र यसलाई टुंग्याउने योजना सेनाको छ ।

कसरी गरिनेछ काम ?

कार्यदलमार्फत फास्ट ट्र्याकमा गर्नुपर्ने कामका प्रकृतिअनुसार विभिन्न कामहरुको ‘आइटम’ छुट्याइनेछ । ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्ट लगायत निर्माणलाई छुट्टा-छुट्टै रुपमा कार्यविभाजन गरेर काम सुरु गर्ने सेनाले बताएको छ ।

सेनाले अहिले सुरु गर्न लागिएको कामलाई प्रारम्भिक निर्माण भनेको छ । सेनाले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्राप्त गर्ने गरी छलफल अघि बढेको जनाएको छ । यसअघि नै भारतीय कम्पनीले आयोजनाको डीपीआर तयार गरेको थियो ।

फास्ट ट्रयाक निर्माणका लागि उच्च स्तरको जनशक्ति पनि आवश्यक पर्ने भएकाले सेनाले राष्ट्रिय/अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्नेबारे आन्तरिक तयारी गरिरहेको छ ।


आयोजना अघि बढाउन सेनाले कार्य सम्पादन संयन्त्र र त्यसको कार्यबिधि पनि बनाइरहेको छ । आयोजना अघि बढाउन र यसमा आइपर्ने समस्या सुल्झाउन सेनाका बलाध्यक्ष रथी पूर्णचन्ऽ थापाको अध्यक्षतामा अधिकार सम्पन्न फास्ट ट्र्याक निर्माण निर्देशक समिति पनि बनाइएको छ ।

यसले आयोजनाका लागि आवश्यक पर्ने आवश्यक कानुनी र नीतिगत ब्यवस्थाका लागि छलफल अघि बढाएको छ ।
काठमाडौं-तराई फास्ट ट्र्याक ललितपुरको खेकनाबाट सुरु भएर काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली- इपा- गढी- छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएर निजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।

फास्ट ट्र्याकले ललितपुरमा किलोमिटर छुन्छ भने काठमाडौंको ४, मकवानपुरको ५६.७ र बारामा ७.६ किलोमिटर क्षेत्र दू्रत मार्गमा पर्छ ।

यस्तो बन्नेछ द्रुतमार्ग

यो मार्ग ४ लेनको आधुनिक तथा सुविधा सम्पन्न किसिमको हुनेछ । कुल ७६.२ किलोमिटरको यो ऽुत मार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइ ओगट्नेछ ।

प्रतिलेन चौंडाइ ३.७५ मिटरको हुने आयोजना प्रमुख खाँडले बताए । फास्ट ट्र्याकमा उच्च प्रविधिका सहित ९९ सय वटा पुल निर्माण हुनेछ ।


द्रुतमार्गमा डेढ किलोमिटर २ मुखे सुरुङ पनि निर्माण गरिनेछ । मकवानपुरको ठिंगनबाट रातोमाटेसम्म दुई मुख भएका सुरु निर्माण गरिनेछ । सुरुङमार्गको बीचमा बचाव सडक पनि खोलिनेछ ।

सुरुङमा आइपर्ने दुर्घटनालाई मध्यनजर गरेर यस्तो सडक पनि खोल्ने योजना छ । एउटा सुरुङमार्गको चौंडाइ ९.५ मिटरको हुनेछ । यसको उचाइ ५.५ मिटरको हुनेछ ।

द्रुतमार्गमा ६ वटा इन्टरचेञ्ज अर्थात प्रवेश मार्गहरु रहनेछ । यात्रु र गाडीको ३९ वटा भिन्न सतह क्रसिङ पनि यसमा राखिनेछन् ।

सडकमा बाटो काट्न ६ वटा आकाशेपुल पनि बन्नेछन् । आयोजनामा कुल १६० वटा कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । ६१ किलोमिटर क्षेत्रमा टेवा पर्खाल र ६२ किलोमिटरमा कटिङ क्षेत्र पर्खाल बनाइनेछ ।

यसैगरी द्रुतमार्गभरिमा २ वटा अर्धस्वचालित प्रविधिको ट्रल प्लाजा अर्थात राजश्व दस्तुर केन्ऽ राखिनेछ । सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्तो प्रविधि जडान गरिनेछ ।

यो मार्ग बनेपछि काठमाडौंबाट तराई पुग्न जम्मा १ घण्टा लाग्नेछ । न्युनतम् ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ ।

सडक तथा सवारी सुरक्षाका लागि सडका सुरक्षा र सूचना प्रणलीहरु पनि जोडिनेछ । विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक ब्यवस्थापक प्रणाली पनि ब्यवस्थित गर्ने योजना छ ।

सडकका प्रत्येक २ किलोमिटरमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको ब्यवस्था पनि गरिनेछ । मार्गको दयाँतर्फ खानेपानी, अप्टिकल, ग्यास, विद्युत प्रशारणलाइन लगायतका पूर्वाधार पनि राख्न मिल्ने गरी सडक तयार गरिने सेनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment