Comments Add Comment

कतारको समस्याले नेपालीलाई फरक पारेन, विदेशिने घटेनन्

एक हप्तामा ३८६९ नेपालीले लिए श्रम स्वीकृति


३१ जेठ, काठमाडौं । कतारमा उत्पन्न पछिल्लो परिस्थितिका कारण त्यहाँ जाने नेपालीहरुको संख्या घट्ने धेरैको अनुमान थियो । तर, कतार जानका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा कमी नआएको सरकारले बताएको छ ।

वैदेशिक रोजगार विभागले पछिल्लो एक हप्ताको विवरणको विश्लेषण गर्दै औसत रुपमा कतार जाने नेपालीको संख्यामा कमी आउने अवस्था नदेखिएको बताएको छ ।

जेठ २२ गते इजिप्ट, बहराइन, यमन, लिबिया, साउदी अरेबिया, दुबई र माल्दिभ्सले कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका थिए । त्यसपछि कतारको हवाई सेवामा पनि असर परेको थियो ।

तर, नेपालले इरानको हवाइ आकाश प्रयोग गर्ने सम्झौता भइसकेको छ ।

कतारमा उत्पन्न समस्याबारे अन्योल हुँदा जेठ २३ गते भने श्रम स्वीकृति लिनेहरुको संख्या निकै घटेको थियो । तर, कतारले यसखाले प्रतिवन्धले आफूलाई कुनै असर नपर्ने बताएपछि श्रम स्वीकृति लिनेको संख्यामा खासै कमी आएको देखिएको छैन ।

कतिले लिए श्रम स्वीकृति ?

वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार जेठ २१ देखि २८ गतेसम्म ३ हजार ८ सय ६९ जना कामदारले कतार जान अन्तिम श्रम स्वीकति लिएका छन् । उनका अनुसार एक सातामा २ हजार ८ सय ९३ जनाले संस्थागत रुपमा श्रम स्वीकृति पाएका छन् ।

त्यसैगरी ९ सय ७६ जनाले ब्यक्तिगतत रुपमा कतार जान अनुमति पाएका छन् ।


विभाग अनुसार संस्थागत तर्फ जेठ २१ गते ५४८ जनाले कतारका लागि श्रम स्वीकृति लिएका थिए । जेठ २२ गते ४९५ जना र २३ गते २३७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै जेठ २४ गते ५२३ जना, २५ गते ३६३ जना । २६ गते ३१७ जनाले कतारका लागि श्रम स्वीकृति लिएका छन् । जेठ २८ गते ४०१ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी ब्यक्तिगततर्फ २१ गते १६४ जनाले कतारका लागि श्रम स्वीकृति लिएका थिए भने २२ गते १५८ जना, २३ गते २५ जना र २४ गते २०३ जनाले स्वीकृति लिएका छन् । जेठ २५ गते १११ जना, २६ गते १९६ जना र २८ गते ११९ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् ।

यस्तो छ वैदेशिक रोजगार विभागको विश्लेषण

कतारबाट कुटनीतिक सम्बन्ध विच्छेदपछि नेपालीहरु समस्यामा परेको कुनै पनि किसिमको खबर नआएकाले पनि कामदारहरु आश्वस्त भएको अधिकारीको दाबी छ ।

सँगै सरकारले अप्ठेरो अवस्था आउन सक्ने भएकाले सतर्क रहन कतारस्थित दूतावासलाई भनेकाले पनि नेपालीहरु अहिले नै कतारमा समस्या नआउने बताउँदै श्रम स्वीकृति लिइरहेका छन् ।

समान्यतया विदेशिने नेपालीको संख्यामा महिनैपिच्छे उतार चढाव आउने गर्छ । यो महिनामा कतार जानेको संख्या थोरै घटे पनि त्यो अस्वाभाविक दरमा नरहने प्रक्षेपण वैदेशिक रोजगार विभागको छ ।

‘कतारमा उत्पन्न पछिल्लो अवस्थाले त्यहाँ जानेको संख्या के भयो भन्ने कुरा यति छिटै विश्लेषण गर्न गाह्रो हुन्छ’ अधिकारीले भने, ‘श्रम स्वीकृति लिने संख्यामा भने खासै परिवर्तन देखिएको छैन, साविककै दरमा कतारका लागि श्रम स्वीकृति माग्नेहरु आएका छन् ।’

अधिकारीले श्रम स्वीकृति लिएकामध्ये कतिजना कतारका लागि उडे भन्ने जानकारी विभागका नआउने भएकाले ठ्याक्कै भन्न नसकिने स्पष्ट गरे ।

‘त्यो विवरण अध्यागमनसँग हुन सक्छ, हामी कहाँ श्रम स्वीकृति लिने मात्रै भएकाले हामी कोही त्यही समस्याका कारण उडेनन् भने जानकारी आउँदैन’ प्रवक्ता अधिकारीले भने, ‘कतारमा अहिले नेपालीहरु कुनै पनि किसिमको संकटमा फसेका छैनन् । त्यहाँबाट सकारात्मक नै खबरहरु आएकाले पनि जानेहरुको संख्या घट्ला भन्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment