Comments Add Comment

उपमहानगर बन्न नसकेको बिर्तामोडः के भन्छन् मेयरका दाबेदार

कांग्रेस, एमाले, माओवादी र राप्रपावीच प्रतिस्पर्धा हुँदै

१ असार, झापा । मेची अञ्चलका प्रमुख व्यापारिक केन्द्रहरु मध्ये बिर्तामोड महत्वपूर्ण शहर हो । पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङसँग जोड्ने यो सहर पूर्वकै महत्वपूर्ण वाणिज्य केन्द्र पनि हो ।

साविक अनारमनी, चारपाने र गरामनी गाविस गाभिएर ०७१ जेठ ४ गते बिर्तामोड नगरपालिका घोषणा भएको हो । पर्याप्त शिक्षालय, अस्पताल, बैङ्क तथा वित्तीय संस्था, उद्योग र सुविधा भएकाले बिर्तामोडलाई उपमहानगरपालिका बनाउनका लागि स्थानीयले कसरत गरेका थिए । तर, विभिन्न प्राविधिक कारणले उपमहानगर हुन सकेन ।

यद्यपि, राजनीतिक दलले बिर्तामोडलाई उपमहानगर बनाउने एजेण्डा छाडेका छैनन् ।

पछिल्लो जनगणनाअनुसार ६० हजार एक सय ७४ जनसंख्या रहेको बिर्तामोडको मतदाता संख्या ४० हजार २५ छ ।

यी हुन् बिर्तामोडका समस्या
राजनीतिको केन्द्रभाग भए पनि यहाँको समस्याको कुरा गर्दा ठूलै चाङ लाग्छ । जिल्लाको मुटुको भनिने व्यापारिक सहर बिर्तामोडमा सार्वजनिक शौचालय छैन ।

शौचालयको अभावमा दैनिक सयौं सर्वसाधारण सास्ती भोग्न बाध्य छन् । गाउँगाउँमा शौचालय बनाउने लहर चले पनि वाणिज्य केन्द्र बिर्तामोडमा एउटा पनि सार्वजनिक शौचालय नहुनु लज्जाको विषय भएको स्थानीय बताउँछन् ।

अव्यवस्थित सहर यहाँको अर्को प्रमुख समस्या हो । अव्यवस्थित प्लटिङको समस्या पनि उस्तै छ । पूर्व-पश्चिम राजमार्ग हुँदै बग्ने अदुवा खोला आसपास अव्यवस्थित वसोवास छ ।

खोला किनारमा वस्ती छ । बर्खामा खोला बस्तीमा पर्छ । यो समस्याबाट छुटकारा चाहेका छन्, बिर्तामोडवासीले ।

सुकुम्बासी समस्या, सडक र फाहोर व्यवस्थापन, ढल निकास, पार्किङ स्थल अभाव लगायत यहाँका प्रमुख समस्या हुन् । समस्यै समस्याले भरिएको हुँदा बिर्तामोड नगरमा भावी मेयरको कार्यकाल चुनौतिपूर्ण हुने निश्चित देखिन्छ ।

चारपक्षीय प्रतिस्पर्धा

झण्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन नजिकिँदै गर्दा बिर्तामोडमा चुनावी सरगर्मी बढेको छ । राजनीतिको केन्द्रभाग बिर्तामोडको नतिजा सबैका लागि चासोको विषय बन्छ ।

आसन्न निर्वाचनमा यहाँ चार पक्षीय प्रतिष्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा नेपालबीच कडा प्रतिष्पर्धा हुने स्थानीयको अनुमान छ । कांग्रेसबाट जलकुमार गुरुङ, एमालेबाट ध्रुव शिवाकोटी, माओवादीबाट सीपी कडरिया र राप्रपाबाट भक्ति सिटौला मेयर पदका लागि चुनावी मैदानमा छन् ।

गुरुङ कांग्रेसका जिल्ला समिति सदस्य हुन् भने उनी बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष र मेची आँखा अस्पतालका उपाध्यक्ष छन् ।

जिल्ला फुटबल संघ झापा र झापा-११ फुटबल क्लबका अध्यक्षसँगै एन्फाका समेत केन्द्रीय सदस्य रहेका गुरुङ सामाजिक कार्यमा सक्रिय छन् ।

एमालेबाट उम्मेदवार बनेका शिवाकोटी अनारमनी गाविसका पूर्वअध्यक्ष हुन् । सामाजिक व्यक्तित्वको छवि बनाएका उनी माछापालन व्यवसायमा पनि संलग्न छन् ।

उनले माछापालन व्यवसायमार्फत नगरलाई नै विषादिमुक्त बनाउने अभियान चलाउँदै आएका थिए ।

माओवादीले मेयरको उम्मेदवार बनाएको कडरिया माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला समितिको विकास निर्माण विभागका संयोजक समेत हुन् ।

राप्रपाबाट उम्मेदवार बनेका सिटौला व्यवस्थापिका संसदको निर्वाचनमा क्षेत्र नंं. २ बाट उठेका थिए । लामो समयसम्म नेविसंघमा रहेर विद्यार्थी राजनीतिमा सक्रिय उनी पछि कांग्रेसको मूल प्रवाहको राजनीतिमा आएका थिए ।

तर, उनका आफन्त नेता कृष्णप्रसाद सिटौलासँगको आन्तरिक मतभेदका कारण सिटौला कांग्रेस छाडेर राप्रपा प्रवेश गरेका थिए ।

यसैगरी, बिर्तामोडको मेयर पदका लागि मोहन वैद्य निकट माओवादी क्रान्तिकारीका बालकृष्ण बुढाथोकीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

केही साझा एजेण्डा

बिर्तामोडको मेयर पदमा उठेका उम्मेदवारहरुका केही एजेण्डा एउटै प्रकृतिका छन् । फोहोर र सडक व्यवस्थापनका लागि सबै उम्मेदवारका आ-आफ्नै योजना छन् ।

सडक र बजार व्यवस्थापन, नदी नियन्त्रण, सार्वजनिक शौचालय, खानेपानी, ढल निकास, विद्युत् लगायतका विषय सबैका साझा एजेण्डा हुन् ।

बिर्तामोडमा हुने सवारी चापलाई व्यवस्थापन गर्न अकाशे पुलको अवधारणा पनि प्रायः उम्मेदवारले अघि सारे । बिर्तामोडमा रिङ रोड बनाउने पनि उनीहरुको योजना छ ।

बेरोजगार युवालाई रोजगारी दिएर उनीहरुलाई विदेशिनबाट रोक्ने विषयमा पनि उनीहरु एकमत देखिए ।

कांग्रेसको योजनाः फ्री वाइफाइदेखि व्यवस्थित पार्कसम्म

नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका जलकुमार गुरुङ आफ्नो पहिलो प्राथमिकता भनेको सामाजिक सुरक्षा, न्याय र विकास भएको बताउँछन् ।

सुरक्षाको दृष्टिले पनि संवेदनशिल बिर्तामोडमा स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन विशेष योजना ल्याउने उनले सुनाए । प्रशासनलाई भ्रष्टचारमुक्त बनाइ सेवाग्राहीले चुस्त दुरुस्त सेवा पाउने अवस्था सिर्जना गर्ने योजना रहेको उनले बताए ।

बिर्तामोडमा कायम रहेको बेथिति र अस्तव्यस्ततालाई विशेष योजना, विज्ञहरुको सल्लाह र सबैको सहयोगबाट समाधान गर्दै लगिने उनले बताए ।

‘बिर्तामोड, बिर्ताबजार, चारपाने, गरामनीजस्ता बजारलाई फराकिलो बनाएर आधुनिक शैलीमा विकास गर्ने हाम्रो योजना छ’, गुरुङले भने, ‘नगरभित्रका सबै सडकलाई मापदण्ड पुर्‍याएर कालोपत्रे गर्ने पनि लक्ष्य छ ।’

नगर क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारको पहिचान गरेर परिचय पत्र वितरण गरी उनीहरुको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम र तालिम ल्याइने पनि उनले बताए ।

घरघरमा विद्युत् र सडकमा सौर्यबत्ती जडान गरी बिर्तामोडलाई उज्यालो नगरीका रुपमा विकसित गर्ने योजना उनले सुनाए ।

नगर क्षेत्रमा रहेका सार्वजनिक स्थलहरुमा फ्री वाइफाइ जोन राख्नेदेखि लिएर युवाका लागि पार्क बनाउनेसम्मको योजना उनले सुनाए ।

एमालेको योजनाः चन्दा आतंकको अन्त्य, विषादिरहित सहर

नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेका ध्रुव शिवाकोटीले समृद्ध, शान्त र व्यवस्थित बिर्तामोड बनाउने आफ्नो लक्ष्य रहेको सुनाए ।

विषादि र प्रदुषणमुक्त सहरको रुपमा बिर्तामोडलाई विकसित गर्ने उनको भनाइ थियो । पछिल्ला वर्षहरुमा बिर्तामोडका उद्योगी, व्यवसायी चन्दा आतंकबाट त्रसित हुने गरेको सुनाउँदै उनले यो समस्यालाई बन्द गर्ने बताए ।

आम नागरिकलाई मानवअधिकारको प्रत्याभूति दिलाउने योजना रहेको उनले बताए । साथै, सडक व्यवस्थापनका लागि पनि विशेष योजना रहेको उनको भनाइ थियो ।

बिर्तामोडको मुक्ति चोकमा आकाशे पुल राख्ने योजना पनि उनले अघि सारे । ढल निकास र अव्यवस्थित बाटोलाई पनि व्यवस्थित गर्नु पनि आफ्नो पहिलो काम हुने उनको भनाइ थियो ।

बिर्तामोड ‘क्रोनिक’ अवस्थाबाट गुजि्ररहेको भन्दै उनले नगरको विकासका लागि ‘समृद्धि, समानता र विकासमा जोड, सुन्दर, शान्त र सुरक्षित बिर्तामोड’ भन्ने नारालाई आत्मसात गर्दैे विकासका गतिविधिलाई अघि बढाउने योजना लिएको बताए ।

युवालाई विदेश पलायन हुनबाट रोक्न गाउँमै रोजगारीको अवसर र कृषिमा वैज्ञानिक प्रणालीको लागू गर्ने योजना रहेको उनले बताए ।

माओवादीको योजनाः औद्योगिक करिडोरदेखि डाइभर्सन रुटसम्म

माओवादी केन्द्रबाट बिर्तामोड नगरको मेयर पदको उम्मेदवार बनेका सीपी कडरियाले भौतिक पूर्वाधार र आर्थिक, सामाजिक विकास आफूहरुको प्रमुख एजेण्डा भएको बताए ।

भ्रष्टचारमुक्त, सबल र समृृद्ध बिर्तामोड निर्माण गर्ने आफूहरुको योजना रहेको उनी बताउँछन् । सुकुम्बासी समस्यालाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्नेदेखि लिएर बिर्तामोडमा रिङ रोड बनाउनेसम्मको योजना उनले सुनाए ।

‘बिर्तामोड, गरामनी र चारपानेलाई भेट्ने गरी रिङरोड बनाउने हाम्रो परिकल्पना हो’, उनले सुनाए, ‘साथै, यहाँको नदी नियन्त्रण गरी त्यसको प्रक्रियालाई पर्यावरण विकासको प्रक्रियासँग जोडेर अघि लाने लक्ष्य रहेको छ ।’

उनका अनुसार चारपाने क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने र नगरको पूर्वी र पश्चिमी क्षेत्रलाई कृषि करिडोरको रुपमा अघि बढाउने माओवादीको लक्ष्य रहेको छ ।

सवारी चापलाई मध्यनजर गरेर डाइभर्सन रुट र आकाशे पुलको निर्माण गर्ने पनि योजना रहेको छ । सामाजिक विकासको प्रक्रियालाई टेवा दिन सामाजिक सबलीकरणका कार्यक्रमलाई अघि सारिने उनले बताए ।

प्रतिभा पलायनको स्थितिलाई रोक्न स्वरोजगार बनाउने किसिमका कार्यक्रम ल्याउने पनि योजना रहेको उनले बताए ।

आफूहरुले अघि सारेको योजनालाई व्यवस्थित गर्नका लागि विज्ञको समूह बनाएर नीति नियम बनाउने तहका व्यक्तिलाई सल्लाह, सुझाव दिने व्यवस्था मिलाउने लक्ष्य रहेको उनले बताए ।

राप्रपाको योजनाः ट्रेड युनियनको व्यवस्थापन, नागरिक निगरानी

राप्रपा नेपालबाट मेयर पदका लागि भक्ति सिटौला चुनावी मैदानमा छन् । उनले आफूले नेतृत्व लिएको तीन महिनाभित्रमा बिर्तामोडमा कायापलट गर्ने दाबी गरे ।

बिर्तामोडमा रहेका अनगिन्ती समस्याहरुलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्दै समृद्ध बिर्तामोड बनाउने लक्ष्य रहेको उनले बताए ।

बिर्तामोडलाई ‘ट्रेडिङ सेन्टर’ को रुपमा विकास गर्न उद्योगीहरुले लगानी गर्नेर् वातावरण सिर्जना गरी उद्योग र कलकारखाना खोल्न प्रोत्साहन गर्ने योजना रहेको सिटौलाको भनाइ छ ।

उद्योग र कलकारखानामा मजदुरहरुको ट्रेड युनियनले दुःख दिएको भन्दै उनले त्यसलाई व्यवस्थित गरिने बताए ।

बिर्तामोडमा हुने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न नगर क्षेत्रभन्दा बाहिरबाट आएका नागरिकलाई निगरानी गरिने उनले बताए ।

भौतिक पूर्वाधारलाई अपाङ्गमैत्री बनाउँदै बालबालिकाका लागि खेलमैदान निर्माण गर्ने योजना समेत रहेको उनले बताए ।

के भन्छन् स्वतन्त्र उम्मेदवार ?

बिर्तामोड नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालकृष्ण बुढाथोकीले पनि विकासका लागि केही बुँदाहरु अघि सारेका छन् ।

सडक व्यवस्थापनका लागि मुक्ति चोकमा रहेको ट्राफिक प्रहरीको कार्यालय र देवी मन्दिरलाई अन्यत्र सार्नु पर्ने अवधारणा उनले अघि सारे ।

गरिब तथा विपन्न विद्यार्थीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने पनि उनले बताए ।

तीन वर्षभित्रमा बिर्तामोडलाई नेपालकै नमुना नगर बनाउने आफ्नो परिकल्पना रहेको उनले बताए ।

उम्मेदवारका ६ बुँदे प्रतिवद्धता

बिर्तामोड नगरपालिकाका सबै उम्मेदवारले निर्वाचनलाई द्वन्द्वरहित बनाउनेसहित अन्य ६ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार बिर्तामोडस्थित सम्वाद समूहको सचिवालयमा भएको एक कार्यक्रमका बीच उनीहरुले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।

अाफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने, निर्वाचन प्रचार-प्रसारलाई तडक-भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुको प्रतिवद्धता छ ।

त्यस्तै, सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले एकअर्काको सहअस्तित्व स्वीकार गरी आदर सम्मानपूर्वक व्यवहार गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रमको सहजीकरण सम्वाद समूहका सचिवालय सदस्य अधिवक्ता दीपेन्द्र भट्टराई, खगेन्द्र खरेल र पत्रकार एकराज गिरीले गरेका थिए ।

तस्बिर सौजन्यः विनोद पाण्डे 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

फेरिएकी बर्षा

Advertisment