Comments Add Comment

तीन चरणको चुनाव मधेसलाई घातकः उपेन्द्र यादव

१ असार, बिराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयले मधेसको अस्तित्वमा प्रहार भएको टिप्पणी गरेका छन् । मेचीदेखि महाकालीका बीस जिल्लाको तराई मधेसलाई २ नम्बर प्रदेशका आठ जिल्लामा सीमित पार्ने षडयन्त्र भएको उनको आरोप छ ।

गृहनगर विराटनगरस्थित आफ्नै निवासमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै फोरम नेपालका अध्यक्ष यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्र मिलेर षडयन्त्र गरेको र त्यो षडयन्त्र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले सफल भएको दाबी गरे ।

उनले भने, ‘कांग्रेस र माओवादीले पहिलेदेखि नै चाहन्थे कि दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा होस् । अन्य सबै ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि दुई नम्बरलाई घेराबन्दी गर्न सजिलो हुने योजनाले उनीहरुले यस्तो गरेका हुन् ।’

तीन चरणमा चुनाव गर्ने सरकारी निर्णय मधेसको लागि घातक भएको भन्दै अध्यक्ष यादवले आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिंगो मधेसको अस्तित्व माथि ठाडो प्रहार भएको बताए ।

‘आठ जिल्लाको भूभाग मात्रै मधेस हो भनेर मान्यता उनीहरुले स्थापित गर्न खोजेका छन्,’ यादवले भने ।

मधेसमा पराजय हुने डरले आठ जिल्लाको निर्वाचनलाई स्थगित गरिएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment