Comments Add Comment

बिराटनगरमा एमाले र उपेन्द्र यादवको तालमेल सम्भव होला ?

राजपा फकाउँदै गच्छदार, कांग्रेस माओवादी तालमेल अनिश्चित

२ असार, बिराटनगर । केही साता अगाडिसम्म एउटै आन्दोलनका सहयात्री राजपा कार्यकर्ताले कालो झण्डा देखाइरहँदासंघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बिराटनगरमा मुकाम बनाएरै बसिरहेका थिए । पछिल्लो समय मोरङलाई बढी महत्व दिइरहेका यादवले बिराटनगर महानगरपालिकामा तालमेलको रणनीति बनाएको चर्चा चले पनि मेयर र उपमेयर दुवैमा उम्मेदवार घोषणा गरेर उनी बिहीबार काठमाडौं फर्किएका छन् ।

यादवले बिराटनगरमा चुनावी तालमेलका लागि एमालेसँग समेत सहयोगको हात बढाएको चर्चा तत्काल पत्याउन गाह्रो भए पनि असम्भव नहुन सक्छ । संयोग नै मान्नुपर्छ कि एमालेले अहिलेसम्म मेयरमा विनोद ढकालको प्रचार अभियान अघि बढाए पनि उपमेयर उम्मेदवार घोषणा गरेको छैन ।

राष्ट्रिय जनता पार्टी चुनाव बहिस्कारमा लागेका बेला मोरङमा राम्रो जनाधार भएका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कुनै ठूलो दलसँग तालमेल गरेर भए पनि महानगरमा जित्ने रणनीतिमा केन्द्रित छन् ।

फरक के देखिन्छ भने सधैं मधेस आन्दोलन बाहिर रहेका गच्छदार राजपाप्रति नरम रणनीति अपनाएर उनीहरुको पक्षका मत तान्ने योजनामा देखिन्छन् । ठीक विपरीत उपेन्द्र यादव भने राजपाप्रति आक्रामक अभियानमा छन् । राजपा कार्यकर्ताले यादवलाई कालो झण्डा देखाउनेदेखि पुत्ला दहनसम्मका बिरोध कार्यक्रम गरिसकेका छन् ।

मधेसका ‘हेबी वेट’ नेता यादवले राजपाको आन्दोलन प्रतिगामीलाई सघाउने उद्देश्यले भइरहेको भन्दै २ नम्बर प्रदेशमा चुनाव रोकिएकोमा आपत्ति जनाइसकेका छन् । उनले सत्तापक्ष र राजपा मिलेर मधेस भनेको २ नम्बर प्रदेशका ८ जिल्लामात्र हुन् भन्ने सिद्ध गर्न खोजेको आरोप पनि लगाएका छन् । यसले गर्दा यादव र राजपाको दूरी बढ्ने देखिन्छ ।

चुनाव सारिएको र राजपा आन्दोलनलाई हेर्ने सन्दर्भमा यादवको दृष्टिकोण एमालेसँग मिलेको आरोप बहिस्बार पक्षधरहरुले लगाएका छन् । राजेन्द्र महतोले त उपेन्द्र यादवलाई केपी ओलीसँग तुलना गर्न थालिसकेका छन् ।

ठीक विपरीत विजय गच्छदार राजपाप्रति नरम भाषण गर्दै हिँडेका छन् । गच्छदार राजपासँग नजिक हुनुको अर्थ राजपा चुनावमा नगएको खण्डमा पनि राजपाको भोट आफनो पक्षमा पर्ने आशा हो । गच्छदारले दुई दिनअघि मात्रै बिराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग मिति सारेर भए पनि स्थानीय तहको निर्वाचनमा राजपालाई ल्याउन आवश्य रहेको बताएका थिए ।

५ नम्बर प्रदेशका जिल्लामा राजपाको आन्दोलनमा फोरम लोकतान्त्रिकका स्थानीय नेताले समर्थन गर्नुलाई पनि राजपासँगको सम्वन्धलाई उसले जोगाउँदै समर्थकको भोट आफ्नो पक्षमा पार्ने रणनीतिका रुपमा हेरिएको छ ।

बिराटनगर महानगरपालिकाको सन्दर्भमा कुरा गर्नुपर्दा यहाँको निर्वाचनमा मधेसवादी दलहरु महत्वपूर्ण शक्ति हुन् । विराटनगरको दक्षिण क्षेत्रमा उनीहरुको राम्रो प्रभाव छ । संघीय समाजवादी फोरम पनि बिराटनगरमा बलियो शक्तिका रुपमा देखिन्छ ।

बिराटनगरमा विजय गच्छदारको पार्टी फोरम लोकतान्त्रिकको पनि राम्रो प्रभाव छ । दुवैको राम्रो अवस्था रहेपनि अन्य दलसँग तालमेल नगरी महानगरपालिकामा जित्ने अवस्थामा उनीहरु छैनन् । सबै मधेसवादी दल मिलेर चुनाव लडे भने ठूला पार्टीलाई बिराटनगरमा कडा चुनौती दिनेछन् । तर, यो सम्भावना कमै देखिएको छ ।

एक्लै जित्ने स्थिति नभएपछि मधेसवादी दलहरु नै ठूला पार्टीसँग तालमेलको रणनीतिमा लागेका देखिन्छन् । विशेष गरी एमालेले उपमेयर उम्मेदवार नउठाएको सन्दर्भमा उपेन्द्र यादव र बिजय गच्छदार दुवैले एमालेसँग तालमेलको चाहना राखेको बुझ्न सकिन्छ । यद्यपि एमालेले तालमेल बारे केही भनेको छैन । उपमेयर टुंगो लगाउने जिम्मा एमालेले प्रदेश संयोजक भीम आचार्यलाई दिएको छ ।

विराटनगरमा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् । पछिल्लो समय फोरमका पूर्वसभासद मोतिलाल दुगड एमाले प्रवेश गरेपछि यहाँको व्यापारिक समुदाय विशेष गरी मारवाडी समुदायमा एमालेका उम्मेदवार बिनोद ढकालको प्रभाव बढेको छ । एमालेकै सांसद राज्यलक्ष्मी गोल्छा ढकालको चुनावी अभियानमा लाग्दैछिन् । विनोद ढकाल उसै पनि व्यापारीसँग नजिक मानिन्छन् ।

बिराटनगरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेलको चर्चा एकाएक चले पनि कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले तालमेल नभएको बताए । यद्यपि केन्द्रबाट तालमेलका लागि दबाब दिइएको स्रोतको दाबी छ ।

बिराटनगरको गणित

बिराटनर उपमहानगरपालिकामा जातीय जनसंख्याका आधारमा विश्लेषण गर्दा बिराटनगरमा पहाडे क्षेत्री बाहुनहरु करिब ५० हजारको हाराहारीमा छन् । अहिलेसम्म बिराटनगरको मेयर पहाडे बाहुनले नै जित्दै आएको अवस्था छ ।

यी सबै तथ्यांकका आधारमा बिराटनगरको राजनीतिमा अझै पनि पहाडे बाहुन क्षेत्रीय समुदायकै क्लष्टर निकै बलियो मानिँदै आएको छ । पहाडे क्षेत्री बाहुनको संख्या बिराटनगरमा करिब ५० हजार छ भने बाहुन एक्लैको संख्या ३९ हजार भन्दा बढी छ । बिराटनगरमा पहाडे जनजातिहरु, लिम्बु, गुरुङ, तामाङ, राई लगायतको बसोबास निकै थोरै छ । उनीहरु सबैको संख्या जोड्दा लगभग ७ र ८ हजारको हाराहारीमा पुग्छ ।

पछिल्लो जनगणनाको तथ्यांकलाई आधार मान्दा बिराटनगरमा मुस्लिम समुदाय १७ हजार छन् । यो समुदायले आगामी चुनावमा निकै ठूलो भूमिका खेल्न सक्छ । त्यस्तै ९ हजार हाराहारीमा रहेका यादवहरुको संख्यामा मधेसी समुदायका तेली, धानुक, केवट, मल्लाह लगायतको संख्या थप्दा करिब ३१ हजारभन्दा बढी हुन आउँछन् । यो संख्या बिराटनगरका रहेका पहाडे बाहुनहरुको संख्याको लगभग करिब रहेको मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment