Comments Add Comment

उमेर नपुगेको भन्दै तीन विद्यार्थीको एसईई परीक्षा नतिजा रोकियो

माध्यमिक शिक्षा परीक्षाअर्थात् एसइईको नतिजा सार्वजनिक गरिँदै । तस्वीर: रमेश गिरी/रासस

२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिवर्तित रुप एसईई परीक्षामा सहभागी तीन परीक्षार्थीको नतिजा निकालेको छैन । उमेर नपुगेको भन्दै नियमित तर्फका दुई छात्रा र एक्जाम्टेड तर्फको एक छात्रको नतिजा प्रकाशित नगरेको हो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एसईई परीक्षामा सहभागी हुन चैत मसान्तभित्र १४ वर्ष उमेर पुगेको हुनुपर्नेमा त्यसो नभएकाले तीन जना परीक्षार्थीको नतिजा ननिकालिएको बताए ।

परीक्षा नियन्त्रक रेग्मीले भने, ‘चैत मसान्तभित्र १४ वर्ष पुगेको हुनुपर्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका थियौं । तर त्यसतर्फ ध्यान दिएको पाइएन ।’

उमेर पुगेको प्रमाण देखाउन आग्रह

परीक्षा दिनबाट बन्चित परीक्षार्थीको नामावली भने रेग्मीले खुलाउन चाहेनन् । रेग्मीले सम्बन्धित विद्यालयबाट उमेर पुगेको प्रमाण पुर्‍याए नतिजा सार्बजनिक गरिदिने पनि बताए ।

रेग्मीले अनलाइनखबरसँग भने, ‘विद्यालयले उमेर पुगेको छ भनेर कागजपत्र ल्यायो भने हामीले नतिजा दिन्छौं । तर हामीसँग अहिले प्राप्त कागजातमा उमेर पुगेको नदेखिएकाले रोकेका हौं ।’

रेग्मीका अनुसार परीक्षाको मर्यादा विपरित काम गरेको भन्दै २१९ जनाको परीक्षा रद्द पनि गरिएको छ ।

गत २०७३ चैत ३ गतेबाट एसईई परीक्षा सञ्चालन भएको थियो । नियमित तर्फ ४ लाख ४५ हजार ५६४ र एक्जाम्टेड तर्फ १६ हजार ५७२ गरी जम्मा ४ लाख ६२ हजार १३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

यो पनि पढ्नुहोस्
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

ग्रेड सिस्टमले एसईईको नतिजामा सुधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment