Comments Add Comment

त्रिपुरेश्वर-नागढुंगाका जनताको प्रश्न- हाम्रो फोक्सो के भयो होला ?

सडक बन्न नदिने- घरमालिकदेखि सर्बोच्च अदालतसम्म

२ असार, काठमाडौं । त्रिपुरेश्वर-नागढुंगा सडकखण्ड विस्तार गर्न खोजिएको लामो समय भयो । तर, विभिन्न अवरोधले ढिलाइ भइरहेको छ । ठाउँ-ठाउँमा विस्तार गरिएको भए पनि धेरै स्थानमा स्थानीय जनताले अवरोध पुर्‍याइरहेका छन् ।

सर्वाेच्च अदालतले घर नभत्काउन अन्तरिम आदेश दिएका कारणले पनि सडक विस्तार हुन सकेको छैन । यो सडकखण्डमा मात्रै सर्वाेच्च अदालतमा १८४ वटा निवेदन परेका छन् ।

मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म कैयन स्थानमा बाटो विस्तार यथास्थितिमै राख्न अदालतले भनेको छ ।

यही स्थितिवीचचमा प्रधानमन्त्री कार्यालयका सचिब चन्द्र घिमिरेको नेतृत्वमा सञ्चारकर्मीसहितको एक टोलीले शुक्रबार त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडक अवलोकन गर्‍यो । लामो समयसम्म निर्माण कार्य अघि नबढाउँदा धुलो उड्ने तथा सवारी आवागमनमा बाधा पुगेको जनगुनासो आएपछि घिमिरेले तत्परता लिएका हुन् ।

सरकारी भवन नै बाधक

अनुगमनका क्रममा त्रिपुरेश्वरमा रहेको उद्योग विभागको भवन नै त्रिपुरेश्वरदेखि नागढुंगा सडकखण्डको पहिलो बाधक देखियो । यो भवन लामो समयदेखि उद्योग विभागले नभत्काइकन राखेेको छ । अगाडिको केही भागमा उपत्यका विकास प्राधिकरणले डोजरले हिर्काएको भए पनि अन्य स्थानमा विभागले चासो दिएको छैन ।

उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीका अनुसार विभागले सो भवन भत्काउन र निर्माण गर्नका लागि आफूसँग तत्काल बजेट अभाव रहेको गुनासो गरेको छ । त्रिपुरेश्वरमा यो सरकारी घरदेखि बाहेक अन्यत्र स्थानमा विस्तार भइसकेको छ । तर, बिजुलीका पोल भने हटेका छैनन् ।

अवलोकनमा हिँडेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब यो ठाउँमा तत्काल पोल हटाइन्छ एकैपटक १ हजार पोल गाड्ने गरी टेन्डर खोल्ने तयारी गर्दैछु ।’

शुक्रराजलाई फाँसी दिइएको रुख जोगाइने

टेकुमा शहिद शुक्रराज शास्त्रीलाई राणा शासकहरुले फाँसी दिएको रुख अगाडिकै घरधनीले पनि लामो समयदेखि घर भत्काउन मानेका छैनन् । जसका कारण विद्युत प्राधिकरणले पनि आफूले राखेको ट्रान्समिटर सार्न सकेेको छैन । फाँसी दिइएको रुखलाई उपत्यका विकास प्राधिकरण नभत्काउने सोचमा छ ।

टेकुमा ८ घरधनी बाधक

टेकुमा ६ जना घरधनीले पनि घर भत्काउन मानिरहेका छैनन् । कलंकीचोकदेखि सोल्टीमोड चोकमा रहेका अधिकांश घरमा त सर्वाेच्च अदालतले नै नभत्काउन अन्तरिम आदेश दिएको छ । सोल्टीमोडमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयुकेल) को ट्याङकी तत्काल केयुकेएलले नसार्दा सवारी आवागमनमा बाधा पुगेको देखिन्छ ।

तीनथानामा दुईवटा घर भत्काइएका छैनन् । यसले ढल र बिजुलीको कामसँगै सडक विस्तारको काम पनि रोकिएको छ ।

सचिवलाई स्थानीयवासीको प्रश्न- हाम्रो फोक्सो के भयो होला ?

सडक विस्तार हुन नसक्दा सडक विभागले कलंकीदेखि नागढुंगा सडकखण्डको मर्मत गर्न सकेको छैन । बाटोमा केही स्थानमा विस्तार भएको छ, तर पीच हुन सकेको छैन, जसका कारण धुलो उडेको छ ।

स्थानीय जनता धुलोबाट आजित छन् । थानकोटमा सञ्चालित महाशक्ति पेट्रोलपम्पका सञ्चालक श्रीहरी बास्कोटाले प्रधानमन्त्री कार्यालयका सचिवलाई सोधे, ‘सर, आनन्दले सास फेर्न कहिले पाइएला ? एक वर्ष भयो, धुलो खेेपेको, बाहिरी कपडाको धुलो त धोएर गयो होला त भित्रको फोक्सोको के हाल होला ?’

स्थानीयको गुनासो र सडकको अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै सचिव घिमिरेले भने, ‘विभिन्न निकायवीच समन्वय गर्नपर्ने देखियो, त्यसैले यसका निम्ति अब एक संयन्त्र गठन गरिनेछ ।’

अहिले कलंकी नागढुंगा सडकखण्डमा सडक बिभागले धुलो उड्यो भन्दै ट्याङ्करबाट पानी पनि हाल्ने गरेको छ । तर, पानी हालेको १ घन्टा बित्न नपाउँदै सडकमा धुलो उड्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment