Comments Add Comment

ट्राफिक जाम हटाउन ताते गृहमन्त्री, सरोकारवाला डाकेर भने-३ दिनभित्रै योजना चाहियो


२ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ट्राफिक ब्यवस्थापन चुस्त बनाउन  काठमाडौं उपत्यकाका करिब दुई सय स्थानमा यातायात संकेत बत्ति (ट्राफिक लाइट) राख्न निर्देशन दिएका छन् ।

शुक्रबार ट्राफिक ब्यवस्थापनसँग सम्वन्धित सरकारी निकायहरुसँग छलफल गर्दै गृहमन्त्री शर्माले छोटो बिधिबाट उपत्यकामा यातायात संकेत बत्ति राख्न निर्देशन दिँदै भने, ‘छोटो बिधिबाट काठमाडौंका दुई सय चोकमा संकेत बत्ति जडान गरौं, त्यसका लागि कति खर्च लाग्छ ?’

ट्राफिक संकेत बत्ति तथा सड्क बत्ति बाल्न पनि एडिबीको मुख ताक्न नहुने उल्लेख गर्दै उनले भने, ‘एडिबीले सात वर्ष लगाउँछ, हामी आफैंले सडकमा बत्ति बाल्न नसक्ने हो भने के सरकार चलाउने ?’

सडक विभाग, यातायात ब्यवस्थापन विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, विद्युत प्राधिकरण, काठमाडौं महानगरपालिका, लगायतका सरकारी निकायका प्रमुखहरुलाई मन्त्री शर्माले तीन दिनभित्र ट्राफिक ब्यवस्थापनको योजना पेश गर्न निर्देशन दिएका छन् ।

‘कलंकीको जस्तो आकाशे पुल नबनाउनुस्, ठेकेदारलाई मात्र फाईदा हुन्छ, अब काम थाल्नुस छोटो बिधिबाट बन्ने आकाशे पुलहरु टेण्डर गरिहाल्नुस्, के दुई-चारओटा पुल बनाउने पैसा पनि छैन सड्क विभागसँग ?’ मन्त्री शर्माले प्रश्न गर्दै भने, ‘छैन भने पैसाको ब्यवस्थापन म गरिदिन्छु ।’

सडक विभागका महानिर्देशक गोपाल सिग्देललाई मन्त्री शर्माले उपत्यकाका ८ सय स्थानका जेब्रा क्रसिङको रेखाङ्कन कम्तिमा १५ दिनभित्र सिध्याउन निर्देशन दिए ।

उपत्यकाको अस्तब्यस्त ट्राफिक ब्यवस्थापन सुधार्न पहिले ठूला बस हालेर सानालाई बिस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘सडकसँगै जोडिएका पेट्रोल पम्प विस्थापनका लागि सुचना निकालौं, सार्क सम्मेलन हुँदा निलो जस्ताले बेरेर फोहोर छेक्ने जस्तो प्रवृत्तिको अन्त्य गर्न हामी लागौं ।’

सरोकारवाला निकायहरुको छलफलका क्रममा मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वर पौडेलको संयोजकत्वमा कमिटी बनाएर उपत्यकाको ट्राफिक ब्यवस्थापनमा लाग्न निर्देशन दिएका छन् ।

‘पे-पार्किङमा गुण्डाराज सुरु हुन्छ’

गृहमन्त्रालयमा आयोजित ट्राफिक ब्यवस्थापनबारे छलफलका क्रममा प्रहरी प्रमुख प्रकाश अर्यालले अब्यवस्थित पार्किङ हटाउनुपर्ने तर टेण्डर गर्न नहुने बताए ।

‘पे-पार्किङमा गुण्डाराज भयो, ईलेक्ट्रोनिक मिटर पार्किङ गरौं’ उनले भने, ‘पार्किङको टेण्डर नगरौं, काठमाडौंमा गुण्डाराज सुरु हुन्छ !’

काठमाडौंमा सबैलाई आफ्नै सवारी चाहिएकाले ट्राफिक ब्यवस्थापन चुस्त हुन नसकेको तर्क गर्दै प्रहरी प्रमुख अर्यालले सिन्डिकेट पनि ट्राफिक ब्यवस्थापनको मुख्य समस्या रहेको बताए ।

जेब्रा क्रसिङ सुरक्षित बनाउनुपर्ने र मुख्य चोकमा आकाशे पुल बनाएर ट्राफिक ब्यवस्थापन सुधार्न सकिने उनले बताए ।

कुलमानले दिए अाइिडया

विद्युत्त प्राधिकरणका निर्देशक कुलमान घिसीङले ट्राफिक ब्यवस्थापन पिक मेनेजमेन्ट भएको उल्लेख गर्दै भेहिकल फ्लो पिक टाईममा पब्लिक गाडीबाहेक अन्यलाई कम गरेर पनि ब्यवस्थापन गर्न सकिने सुझाए ।

‘हाम्रोमा स्पिड मेन्टेन छैन, गाडी कत्ति समय रोकिने भन्ने पनि छैन’ उनले प्रश्न गरे, ‘सडक बत्ति ब्यवस्थापन कसले गर्ने हो, किनकी सडक पनि उज्यालो हुनुपर्छ ।’

सडक विभागका महानिर्देशक गोपाल सिग्देलले आगामी आर्थिक वर्षभित्र काठमाडौंका ३५ स्थानमा ट्राफिक संकेत बत्ति जडान गर्ने प्रतिवद्धता जनाए ।

‘अहिले १८ स्थानमा ओभरहेड ब्रिज छ’ सिग्देलले भने, ‘चक्रपथको हरेक ९ किलोमिटर दुरीमा ओभरहेड ब्रीज बनाउँदै छौं, त्रिपुेश्वर र माइतिघरमा पनी ओभरहेड बि्रज बनाउने बारे अध्ययन गरिरहेका छौं ।’

थरी-थरी सुझाव

काठमाडौं उपत्यका नगर विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीले उपत्यकामा पार्किङको समस्या ठूलो रहेको उल्लेख गर्दै त्यसलाई म्यानेज गर्न सकेमा ट्राफिक समस्या धेरै हदसम्म समाधान हुने दाबी गरे ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामाले १ वर्षमा ६ लाख सवारीलाई कारवाही गर्दा पनि ट्राफिक सुधारको संकेत देखा नपरेको बताए ।

उनले भने, ‘उपत्यकाका १८ स्थानमा ओभरहेड ब्रिज बनाउनुपर्छ, पुल बनाउन जत्ति ढिला हुन्छ सड्क जाम उत्तिनै बढ्दै जान्छ ।’

ठूला बस र ट्रकलाई चक्रपथ बाहिर पार्किङको ब्यवस्थापन गरेर संकेत बत्ति हाल्न सकेमा ट्राफिक ब्यवस्थापन सुधार्न सकिने डिआइजी लामाले बताए । त्यस्तै लाईसेन्स वितरण प्रणालिमा पनि अझै सुधार गर्नुपर्ने उनको भनाइ छ ।

यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईले ओभरलोड जाँच्ने मेसिन विभागसँग नभएको र आवश्यक स्रोत नहुँदा सडकमा सिसीटिभी समेत राख्न नसकेको बताए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यो वा त्यो नभनीकन फुटपाथको ब्यापार हटाउने बताए । उनले भने, ‘फुटपाथका ब्यापारीसँग हाम्रो मिलेमतो पो छ की भनेर जनताले प्रश्न उठाएका छन्, बस स्टप हैन स्टेशन बनाऔं, चढाउन र ओराल्ने बाहेक एक मिनेट पनि गाडी रोक्न नदिने पद्धती विकास गरौं ।’

त्यस्तै लामो समय एकै ठाउँमा राखेर मोवाइल शौचालय दिएका गाडीहरु हटाउन आफूले आदेश गरिसकेको शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment