Comments Add Comment

कथा: घाम ओर्लिएको छ सडकमा

‘छोरी अझै उठेकी छैन है !’ म नुहाएर निक्लँदै सोध्छु उनलाई ।

‘उठेकी छैन । भर्खर कोल्टे फेरेर सुतेकी छे । अझै एक घण्टा उठ्ली जस्तो छैन ।’

‘आज पनि मलाई ढिला गराउने भई !’ चिन्तित हुन्छु म ।

‘बदमास ! बिदाको दिन चाहिँ पाँचै बजे उठेर दौडिन थाल्छे, अहिले चाहिँ हेर न !’ उनी छोरीतिर मायालु दृष्टि दौडाउँछिन् ।

हामी खाजा खान थाल्छौं । हामीलाई लागेको मात्र त्यस्तो हो कि कुन्नि, बिदाको दिन छोरी चाँडै उठ्छे, अरु दिन ढिलोसम्म सुतिदिन्छे ।

‘उठाए हुन्छ नि अब, सात बजिसक्यो ।’

‘के उठाउनु, बच्चाको निद्रा, बिथोल्नु त्यति राम्रो नहोला ।’

यो हाम्रो लगभग दैनिक जस्तो सल्लाह हो ।

***

‘साढे सात भइसकेछ । मलाई ढिला हुन आँट्यो, केही गर्नु छ मैले ?’

तयार हुँदै छिन् उनी । एउटा कम्पनीमा इन्टर्नसिप गर्दै छिन् उनी र साढे आठ बजेसम्म पुगिसक्नुपर्छ । यो तीन महिना छोरीलाई बिहान तयार बनाएर होइकुएनसम्म लाने जिम्मा मेरो छ । बेलुका उनी लिएर आउँछिन् ।

‘होइकुएनमा लानुपर्ने सामान मिलाइदेऊ । अरु म गरौंला ।’

‘छोरीको बिछ्यौना यो ठूलो झोलामा छ । पाँच वटा ओमुचु र पोलिथिनको झोला छोरीकै पहेंलो ब्यागमा छ । टि-सर्ट एउटा र कट्टु एउटा हाल्न बाँकी छ, ड्रयरबाट झिके हुन्छ’, बोल्दाबोल्दै उनी ढोकासम्म पुगिसक्छिन् ।

म ढोका लगाएर आउँछु । पहिला उसको ज्वरो नाप्छु, अनि बेबीकेयरको नोटबुकमा तापक्रम चढाउँछु । ज्वरो त छैन । अनि अझै मस्त निद्रामै रहेकी छोरीलाई ओछ्यानबाट उठाएर काखमा लिन्छु ।

आफू एकदम निर्दयी भए जस्तो लाग्छ मलाई र पछुतोले भरिन्छु । तर, अरु केही उपाय छैन मसँग अब । एकदम ढिला भइसक्यो मलाई ।

‘छोरी ! नानू ! उठ त अब !’ म विस्तारै बोलाउँछु, ऊ अझै मस्त निद्रामा छे ।

एकछिनपछि ऊ चल्मलाउन र आँखा मिच्न थाल्छे, अनि गनगन गर्दै ब्युँझिन्छे ।

‘उठ छोरी अब ! पापालाई ढिला हुन्छ नि फेरि ।’

भर्खरै पिसाब गरेकी रहिछे । म ओमुचु निकालिदिन्छु र उसलाई एकछिन त्यत्तिकै छोडिदिन्छु । ऊ अझै गनगन गर्दै छे । आज अलि बढी नै झर्किरहेकी छे । सधैं यतिखेर उठाउँदा हाँस्दै उठ्थी ।

म उसको हात समातेर उसलाई वासबेसिनतिर लैजान्छु । हात-मुख धुवाएर ल्याएर पानी खुवाउँछु । उसलाई उसको सानो रङ्गीन कुर्सीमा राखेर, खाना खुवाउँदा लगाउने र्‍याले भिराइदिन्छु । अनि भान्छामा गएर हतार-हतार उसको खाजा तयार पार्न थाल्छु ।

हल्का तातेको पाउरोटीलाई मसिना-मसिना टुक्रा बनाउँछु, लिटोभन्दा यही चाँडो होला जस्तो लाग्छ । अनि पाउरोटी र मनतातो दूध लिएर उसको अगाडि हाजिर हुन्छु । सुरुमा दुई-चार टुक्रा सजिलै खान्छे, पछि टाउको घुमाउन र झर्किन थाल्छे । कहिले हल्का हप्काए जस्तो गरेर, कहिले गीत गाउँदै फकाएर, कहिले ठूलो-ठूलो स्वरमा हाँसेर उसलाई भुलाएर सबै खुवाइछाड्छु ।

त्यसपछि बोतलमा बाँकी रहेको दूध उसैलाई दिन्छु । ऊ बोतलबाट दूध पिउन थाल्छे । अनि हतार-हतार बेबीकेयरको नोटबुकमा हिजो बेलुकादेखि अहिलेसम्मको उसको स्वास्थ्य स्थिति, खाएको खाजा आदिका बारेमा भर्छु र आफू लुगा फेर्न थाल्छु ।

आफू तयार भएर उसलाई पनि तयार पार्दासम्म आठ बज्न पाँच मिनेट मात्रै बाँकी हुन्छ ।

‘समयमा त आज पनि नपुगिने भइयो’, मनमा यही मात्रै हुन्छ ।

‘तैपनि हतार-हतार जाँदा पुग्न पनि सकिन्छ । ८ मा हिँडे भने ८:२० सम्म त पुगिहाल्छु । अनि त्यहाँ ३ मिनेट अल्मलिएँ भने पनि दौडेर गएँ भने त साढे ८ को ट्रेन पक्कै भ्याउँछु ।’

बेबीकेयरबाट धेरै टाढा छैन ट्रेन स्टेशन । ‘भने जस्तो कहाँ हुन्छ र, भ्याइन्न होला !’

उसको र आफ्नो जुत्ता निकाल्दै हुन्छु म, केही गन्हाए जस्तो लाग्छ । दिक्क हुँदै उसलाई उचालेरै सुँघ्छु म । नभन्दै हो रहेछ, दिसा गरिछे । फेरि कोठातिरै फर्केर उसलाई कार्पेटमा सुताएर ओमुचु फेर्दिन्छु ।

‘बदमास ! अघि त्यतिञ्जेल नगर्नी, अहिले हिँड्ने बेला गर्नी !?” म भुत्भुताउँदै ओमुचु ‘गोमीहाको’ मा हाल्न बरण्डातिर निक्लन्छु ।

म फर्केर आउँदा छोरी कोठामा हुन्न । हिजो सुकाएर उठाएका लुगा सबै छरेर बास्केटलाई उल्टाएर हिँडिछे । ‘सुकेकै लुगा त हुन्, के होला र’ भनेर छोड्दिन्छु ।

तर, भान्छामा पुगेर छोरीले अर्को विध्वंश मच्चाइसकिछे, त्यहाँको ‘गोमीहाको’ लडाएर फोहोर सबै छरेर !

‘छोड् ! के गर्‍या यो ?’ साँच्चै झर्किँदै उसलाई पन्छाउँछु म । म झर्केको देखेर ऊ रुन थाल्छे । यो पनि यत्तिकै छोडेर हिँड्न आँटेको थिएँ, तर यो गर्मीमा भान्छाको फोहोरलाई यत्तिकै छोड्नु हुन्न भनेर सफा गर्न थाल्छु । फोहोर सबै उठाउँछु, भुइँमा लागेको दाग भने नपुछी छोड्दिन्छु ।

‘अब यो तालले त नौको ट्रेन पनि छुट्छ !’ म ट्याक्सी बोलाउँछु ।

अघि मेरो हप्काइले सुरु भएको छोरीको रुवाइ ट्याक्सी आइपुग्दासम्म बन्द भैसक्छ ।

‘खावाइने !’ ट्याक्सी ड्राइभर छोरीलाई हेरेर बोल्छन् । छोरीलाई काम पुग्छ, ऊ फेरि गनगन गर्दै पिरोल्ने पाराले रुन थाल्छे । सधैं त हाँस्थी कसैले बोलाउँदा, ‘आज देवी चढ्या छ यसलाई !’ म फुल्याउने कोसिस गर्छु ।

उसलाई फुल्याउँदै गर्दा मेरो मनमा धेरै कुरा चल्न थाल्छन् । धेरै दिन भइसक्यो यसरी ढिला-ढिला जान थालेको । अफिसमा कसैले ठाडै त केही पनि भनेको छैन अहिलेसम्म, तर खासखुस गर्न थालिसके । यसरी म लगातारजसो ढिला आउन थालेको हाकिमले पनि थाहा पाइसक्यो होला । कुन दिन ‘निक्ली’ भनेर कागज दिने हो !

यसरी सबैको नजरमा कामचोर देखिनुपरेकोमा आफैंलाई पनि आत्मग्लानि हुन थालेको छ, एक किसिमले नेपालकै छवि बिगार्ने बनेकोमा ।

‘छोरीलाई सँगै राखेर गाह्रो होला जस्तो छ, नेपाल पठाउनै पर्‍यो, नसकिने भइयो !’ दिक्क मान्दै सडकतिर हेर्छु म । अघि नै उदाएको भए पनि घाम अझै सडकसम्म आइसकेको छैन, अग्ला घरहरुले अझै छेकेका छन् ।

‘ऊ चरी हेर त छोरी, चरी आएछ नि !’ केही गरेर पनि नफुलिएपछि बाहिरतिर देखाउँछु म । चरी देखिने त कहाँ हो र कंक्रिटको जंगलमा !

‘देतेत, देतेत…’ उसको रुवाइ अचानक बन्द हुन्छ र ऊ ताली बजाएर गाउन थाल्छे । यो ‘देतेत, देतेत…’ केही पहिले एकदिन सुत्ने बेलामा मैले सुनाएको लोरीबाट टिपेकी हो उसले । वास्तवमा ‘ताराबाजी लैलै…‘ बाहेक मैले जानेको अर्को लोरी त्यति एउटा मात्रै हो त्यो पनि बिर्सेको थिएँ, सम्झेको धेरै भएको छैन । (उसकी आमाले दशौं लोरी जानेकी छिन्! )।

आइज चरी लैजा कान
हाम्री छोरीलाई गोसाइँथान
गोसाइँथानमा केके छ ?
चरीले लौरी टेकेछ…’

यो लोरी पनि मैले जानेको यति मात्रै हो । यसमै म जे पनि थप्दिन्छु, जस्तो ‘आर्याच्यानले देखेछ, मिकीच्यानले देखेछ, मामुले पनि देखेछ, पापाले पनि देखेछ, अंकलले पनि देखेछ, अण्टीले पनि देखेछ…’ आदि । अनि उसले ‘देतेत’ भन्न जानेकी छे । ‘चरी’ भन्ने शब्द सुनेपछि ऊ ‘देतेत, देतेत’ गर्न थालिहाल्छे ।

छोरी आफ्ना साना कोमल हातहरुले ताली बजाउँदै ‘देतेत, देतेत’ गर्दै छे, उसको अनुहार उज्यालिएको छ । बाहिर अग्ला घरहरु नाघेर घाम बल्ल सडकमा ओर्लिन थालेको छ । मेरो मन पनि उज्यालिन थाल्छ ।

‘किन नेपाल पठाउनु छोरीलाई ? बरु अलिक लचिलो कुनै काम खोज्छु र यो काम छोड्दिन्छु । केही लागेन भने ‘घण्टे’ * हुन तयार छु । छोरी त आफैंसँग राख्नुपर्छ…। यत्री त बनाइयो, अब झन् सजिलो होला हुर्काउन…!’

अनि म पनि हल्का ताली बजाउँदै छोरीसँगै गाउन र हाँस्न थाल्छु-

‘आइज चरी लैजा कान
हाम्री छोरीलाई गोसाइँथान
गोसाइँथानमा के के छ ?
चरीले लौरी टेकेछ…’

हामी बाउ-छोरी अचानक खुशीले गाउन थालेको देखेर चालक दङ्ग परेर ऐनाबाट हेर्दैछन् हामीलाई ।

घाम पूरै ओर्लिसकेको छ सडकमा र सडक पूरै उज्यालिएको छ ।

***

कथामा प्रयोग गरिएका जापानी शब्दहरु:

ओमुचु: डाइपर
होइकुएन: बेबीकेयर, किन्डरगार्टेन
गोमीहाको: फोहोर हाल्ने भाँडो
खावाइने: कस्ती मायालाग्दी, So lovely भन्ने अर्थमा
च्यान: बच्चीहरुलाई माया गरेर बोलाउँदा उनीहरुको नामको पछाडि च्यानजोडेर बोलान्छ । नेपालीको नानू‘ सँग नजिक छ

* अनि यो ‘घण्टे’ चाहिँ घण्टाको हिसाबले दाम पाइने ‘पार्ट टाइम’ कामलाई नौलो पाराले न्वारान गर्देको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment