Comments Add Comment

कथा: प्रेमको परीक्षा

आजकाल प्रेमीहरु अनेक परीक्षा लिइदिन्छन्,  प्रेमिकाहरुले माया गर्छन् कि गर्दैनन् भनेर । त्यसो त प्रेमिकाहरु पनि परीक्षा लिने मामिलामा कम हुँदैनन् । आजकाल मात्रै पनि के भन्नु ? भगवान् शिवले पनि विभिन्न रुप धारण गरी प्रेमको परीक्षा लिएकै हुन् क्यारे ।

शिवजीको पालामा भन्दा अहिले परीक्षाको शैली फेरिएको छ । आजकाल फेसबुकको पासवर्ड साटासाट गर्नेदेखि फेसबुक अकाउन्ट आफ्नो नियन्त्रणमा लिँदै प्रेमीहरु मायाको जाँच लिइराखेकै हुन्छन् । फेसबुके फेसन भनेको यही हो कि !

युनिभर्सिटीको जाँचभन्दा कठिन प्रेमको जाँच, जहाँ अलिकति मात्रै पनि दायाँ-बायाँ वा अघि-पछि भयो भने सम्बन्ध चैट् हुन्छ, कहिल्यै मौका परीक्षामा भाग लिन नपाउने गरी ।

***

ऊ मेरो साथी मात्रै थिई या अरु नै कोही थिई, अझै मनले ठम्याउन सकेको थिइनँ । हरेक दिन फेसबुकमा बोल्ने बानीले मन र मस्तिष्क दुवै आफ्नो नियन्त्रणभन्दा बाहिर पुगेको भान भएको थियो ।

मलाई ऊ कृष्णसँग बोलेको फिटिक्कै मन पर्दैन । म चाहन्छु, ऊ मसँगै मात्र बोलोस्, मसँग मात्र मिठाई जस्ता कुरा गरोस् । अँ साँच्ची, कुरा पनि मिठाई जस्तो हुन्छ र ? धत्, बकवास प्रश्न ! आफैंलाई गाली गर्छु ।

‘कृष्णले दुई दिन भयो, न फोन उठाउँछ न फेसबुकमा अन छ ? कस्तो चिन्ता लागेको छ’ भनेर फेसबुकमा उसले रिप्लाई गर्दा मन चसक्क गरी बिझ्यो । उसले जानीजानी चिढ्याउँदै थिई या के गर्न खोजेकी हो, तर एक्कासी रिस उठ्यो । मेरो रिस केका लागि ? थाहा छैन ।

‘कृष्ण गोपिनी ले’र टाप कस्यो होला, तिमी चाहिँ कृष्ण-कृष्ण भन्दै बस’, उसको निराशामा खिन्न मन पार्दै रिप्लाई गर्छु ।

‘तिम्लाई केही कुरो थाहा छैन, त्यही भएर त्यस्तो नबोल’, उसले अलि रिसाएको शैलीमा रिप्लाई गरी ।

‘यस्तो कुरो थाहा पाइराख्नु पर्दैन, आफैं बुझ्नुपर्ने हुन्छ’, म शंका भरिएको सन्देश पठाउँछु ।

लगत्तै भगवानलाई धन्यवाद दिँदै भनी, ‘बल्ल ऊ अनलाइन  आयो, म खुसी भएँ ।’

खै किन हो, उसले खुसीले भरिएको मेसेज पठाउँदा म दु:खी भएँ । प्रेमको नियम प्रेममा लागू हुन्छ । ऊ खुसी हुँदा म दु:खी हुनु नियम विपरीत भयो ? प्रेमी भइनसकेको भएर यस्तो भएको हो कि ? आफैंलाई प्रश्न गर्छु ।

‘कवावमा हड्डी के बन्नु, ल म गएँ बाई ! तिम्रै कृष्णसँग बोलेर बस’, ऊ कृण्णसँग बोलोस  भन्दा पनि म उसको सम्बन्धको बारेमा जान्न खोज्छु र अझ उसलाई चिढ्याउँछु ।

‘के बुझ्यौ तिमीले ? ऊ मेरो आन्टीको छोरा हो’, उसले फेरि रिसाएको शैलीमा रिप्लाई गरी । उसले यत्ति भन्दा मन बुत्रुक् बुत्रुक् नाचिरहेको थियो । मन नाच्नुको कारण ? सायद म मायामा परिसकेको थिएँ कि ? के यो जाँचमा ऊ पास भई त ? प्रश्न गर्दै आफैं हाँस्छु ।

‘मैले’नि आन्टीकै छोरा भन्ठानेको’, हाँसेको इमोजी टाँस्दै पठाउँछु ।

‘खुब दिमाग लाउँछौ है !’ रिप्लाई गर्छे ।
‘मुख लाउनलाई म तिमी जस्तो व्यापारी हैन क्यारे !’ म फेरि उसलाई चिढ्याउँछु ।

‘म तिमीसँग बोलेर सक्दिनँ पागल’, नखरा मिसाउँदै रिप्लाई गर्छे ।
मायाले पागल भनेकी हो कि मेरो कुराले पागल भनेकी हो, पत्ता लगाउन जरुरी ठानिनँ । मायाले भनेकी हो भने त पागलै सही हुन्छु होला है !

‘दिमाग चलाउनेहरु पागल नै हुन्छन् । तिमी मुख चलाउने चैं के हौ नि ? मुखै चलाए पनि तिमी पागलभन्दा कम चै छैनौ है’, हाँस्दा-हाँस्दै आँसु झारेको चार/पाँच वटा इमोजी राखेर रिप्लाई गर्छु।

‘मुख चलाउनेहरु बाठा हुन्छन्, दिमाग चलाउने तिमी जस्तै पागल हीहीही…’ ऊ मलाई जिस्क्याए झैं गर्छे ।

उसको कुरामा न सही थाप्छु, न गलत भनेर प्रतिवाद नै गर्छु । म चुपचाप बस्दा रिसायो भनेर अड्कल काटी कि ?

दस मिनेटपछि ऊ फेरि आफैं बोल्छे, ‘कति बिजी हौ के ! कि म पागल्नीले भनेको कुरादेखि रिसा’को ?’

उसले कति बिजी भन्ने प्रश्न सोधेर जाँच लिए जस्तो लाग्दै थियो । उसले म अरु केटीसँग बोलेको शंका गर्दै छे कि ?  यो प्रेमको जाँच कतिखेर हुन्छ भन्ने कुरा पनि आफैं थाहा पाउनुपर्ने है ! थाहा भएन भने ?  खै !

‘अक्सर पागलहरु कहिल्यै अरुसँग व्यस्त हुँदैनन्, अनि रिसाउँदैनन् पनि’, फिल्मी शैली मिलाउँदै म जवाफ फर्काउँछु ।
‘होला खूबै !’ ऊ लाडिन्छे ।

आफूले लामो मेसेज पठाउनु अनि त्यसको जवाफमा अरुले छोटो पठाउँदा कति मन  दुख्छ है ? आफैंलाई प्रश्न सोध्दै फिस्स हाँस्छु ।

हरेक दिन फेसबुकमा बोल्नेहरुसँग पनि कति गाढा सम्बन्ध बसेको ! हरेक कुरा सुनाउने बानीले ऊ प्रेमिका नै जस्तो लाग्ने । यो बानी कति नराम्रो ? बानी कि सोच नराम्रो हो ? तर, उसले कहिल्यै पराइ जस्तो पनि त सोचिन । आफ्नै सम्झेर बोलिरही निरन्तर । कारण यही हुन सक्छ, आफ्नै ठान्छे कि ? टोलाउँछु म ।

ऊ फेरि लेख्छे ‘मलाई सारै टेन्स भा’को छ ।’
शब्द छोटो बनाएर बिगारेको फिटिक्कै मन पर्दैन थियो । तनावमा भएको मान्छेलाई शब्द सच्याऊ भन्ने आँट गरिनँ ।

‘के भयो र ?’ प्रश्न गर्छु ।

‘मेरो बिहे गर्दिने रे । आज केटा हेर्न आउँछ र’, खरर्र तुरुन्तै लेखी ।

भित्रभित्रै बनाएको ऊ सँगको भविष्य अचानक वर्तमानमै तहसनहस भयो, एकैछिनको भूकम्पले लडाएको घर जस्तै । म मौन बस्छु । मोबाइलको स्क्रिन फेरि कोट्याउँदै रिफ्रेस गर्छु ।

‘मलाई त्यो केटा मनै पर्दैन के, कस्तो पागल जस्तो लाग्छ !’  मेसेज पठाउन भ्याईसकेकी रै’छे ।

मभित्र रिस कि डाह भरिएको थियो, पत्तो पाइनँ । तर, उसको मनभित्रको कुरा थाहा पाउन सोध्छु, ‘मभन्दा पनि पागल हो ?’

‘हजुर त कति राम्रो-राम्रो नि । त्यो त देख्दै रिस उठ्छ’, रिप्लाई गर्छे ।

फेसबुकमा सुरुको दिन बोल्दा उसले मलाई ‘हजुर’ भनेकी थिई, त्यसपछि तिमी नै भन्दा हुन्छ भनेर म जान्ने पल्टेको थिएँ । त्यसपछि आज उसले ‘हजुर’ भन्दा मुटुको धड्कन जोडजोडले धड्कियो । किन यस्तो ? थाहा छैन ।

‘त्यो मन पर्दैन भने म नै माग्न आऊँ कि क्या हो !’ म उत्ताउलो बनेर पोखिएँ ।

‘मलाई पाल्न सक्नुहुन्छ ?’ सोध्छे ।

तिमीबाट ऊ एकैछिनमा तपाईं र हजुरमा आई । किन ? थाहा छैन ।

‘अरे ! महिलाहरु आफैं सक्षम भइसके । बूढालाई नै पाल्ने आँट गर्छन् आजकाल । तिमी चैं यस्तो !’ म ऊभित्रको नारी शक्तिलाई ब्युँताउन खोज्छु ।

‘म चैं सक्दिनँ । पालिने नै ठाँउमा जाने हो म त’, ऊ नब्युँतिएर परम्परागत नारी नै बनिरहने छाँटकाँट देखाउँछे ।

दिमागमा शब्दहरु छल्किन्छ्न् । तर, फेसबुकमा पोखिने आँट गर्दैनन् ।

फेरि ऊ रिप्लाई गर्छे ‘अब तयार हुने बेला भयो । म गएँ । मलाई त्यो मनै पर्दैन । ऊसँग खुसी पनि हुन्नँ होला, के गरुँ ?”

उसको लागि केही सल्लाह दिने आँट आएन । सल्लाहभन्दा पनि हल्ला गरेर भन्न मन थियो ‘म खुसी पार्छु’ भनेर । पहिले पनि भनेकै हो ‘माया गर्छु’ भनेर । त्यसबेला उसैले ‘भाग्यको खेल हो, पछि के हुन्छ-हुन्छ’ भन्दै मलाई टारेकी थिई ।

म पनि भाग्यकै आसमा बसेको थिएँ, छोरो परदेशबाट फर्किने आस गरेकी बूढी आमा जस्तै ।

मन परेको मान्छे अरुसँग बोल्दा त रिस उठ्छ, अझ अरुकै हुँदा कस्तो हुन्छ होला ?

फेसबुक सुनसान छ, तर दिमाग उम्लिरहेको छ, पृथ्वीको गर्भबाट निस्कन खोज्ने लाभा जस्तै । ऊ गइसकेको चार मिनेट देखाउँछ ।

***

नारायणगोपालको गीत ल्यापटपमा घन्किरहन्छ । मन पनि गीतसँगै बगिरहन्छ । फेसबुक खोल्न फिटिक्कै मन लाग्दैन । त्यही पनि चञ्चल मन मान्दैन । फेसबुक खोल्न पुग्छु । मेसेज बक्स टिलिक्कै टल्केको छ, पहेँलो सुन जस्तै ।

‘Finally I got ingaged’ फोटो राखेर मेसेज पठाएकी रै’छे ।

म छक्क पर्दै नियालिरहेँ । गीत बज्दै थियो- ‘पर्खी बसे आँउला भनी… ।’
गीतका शब्द र आफ्नो परिस्थिति मिल्दा मुटुमै घन हाने जस्तो लाग्छ, त्यस्तै भयो ।

म उदासी झल्काउने इमोजी पठाउँछु र मौन बस्छु । किनभने मैले बुझेको छु, मौन बस्नु संसारको सबैभन्दा ठूलो साहस हो ।  यसरी उसका हरेक प्रश्नको उत्तर दिँदादिँदै आफैं थाकेँ । मलाई  प्रेमको परीक्षामा पास हुने आशा मरेर आयो । त्यसपछि प्रश्नको उत्तर फर्काउन जरुरी ठानिनँ ।

सतिदेवी नभएका शिवजी यो जमानामा भएका भए कसरी छट्पटाउँदा हुन् ?  आफैंलाई सोध्छु । सायद उनी भट्टीतिर छिरेर लठ्ठ हुँदा हुन् है !
म पनि आफूलाई सतिदेवी बिनाको शिवजी ठान्छु र भट्टीतिर लाग्छु ।

भट्टीमा अर्को मान्छे आफ्नो प्रेमको कहानी सुनाउँछन् लठ्ठ हुँदै । उसको कुरा सुनेर म उसैको कथा सुटुक्क लेखिदिन्छु अनि म तपाईं जस्ता पाठकलाई झुक्याउन खोज्छु, आफ्नै कथा जस्तो बनाएर ।

झुक्याएर मैले गल्ती गरेँ ?  यदि त्यस्तो लाग्छ भने मैले अब माफी माग्नैपर्छ है ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment