+
+

डोल्पाको लेकमा यार्सा टिप्ने लस्कर (फोटो फिचर)

भरतबन्धु थापा भरतबन्धु थापा
२०७४ असार ३ गते १४:३२

मनै लोभ्याउने सफा हिमालको काखमा विशाल फाँट छ । तर, त्यो सौन्दर्यको वास्तै नगरी मान्छेहरु बच्चा बामे सरे झैं हात–गोडा टेकेर जमिनमा केही खोजिरहेका छन् । बकुल्लाले माछा ढुके झैं खूब ध्याउन्न छ र भुइँ खोस्रिने गति तीव्र छ ।

यो दृश्य हो माथिल्लो डोल्पामा पर्ने थाङ्बोचे फाँटको । यार्सागुम्बा टिप्न यो सिजनमा यहाँ बर्सेनि मान्छेहरुको लस्कर देखिन्छ । वर्षभरिलाई पुग्ने आम्दानीको जोहो गर्न बहुमूल्य यार्साको खोजीमा तल्ला भेगका बासिन्दा यसैगरी उपल्लो भेगतिर उक्लिने गर्छन् । घरबाट रासनपानीको बन्दोबस्त गरी यार्सा टिप्नेहरु हप्तौंको लागि लेकतिर उक्लिँदा गाउँ नै रित्तिन्छ ।

यार्साको खोजीमा निस्किँदा कैयौं आमाहरुले काखे बच्चा च्याप्दै भारी कस्छन् भने स्कूले केटाकेटी समेत अभिभावकहरुको पछि लाग्दा कतिपय ठाउँमा विद्यालयहरु महिना दिनसम्म बन्द हुन्छन् । स्थानीयहरु यार्सा टिप्न गएपछि यतिबेला डोल्पाका साथै रुकुम, जाजरकोटका केही गाउँ सुनसान छन् ।

समुद्री सतहबाट ५ हजार २ सय मिटर उँचाइमा रहेको थाङ्बोचेमा अहिले यार्सा टिप्नेहरुको भिडले छपक्कै ढाकिएको छ । विगत वर्षहरुमा यस्तो भिड अझ बढी हुन्थ्यो । तर, यार्सा पाइने क्रम बर्सेनि घट्दै गएपछि मान्छेहरुको चाप घट्दै गएको छ । कतिपय त दिनभर खोज्दा पनि साँझ रित्तो हात हुने गरेका छन् ।

जेठ र असार यो दुई महिनो शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतका हिमाली फाँटमा यार्सा संकलनकर्ताहरुको मेला नै लाग्छ । यार्सा संकलनका लागि निकुञ्जले कतै जेठको पहिलो साता त कतै तेस्रो सातादेखि फाँटहरु खुला गरेको छ ।

यार्सा टिप्न निस्किएकाहरु एक महिनासम्म भुइँ खोस्रँदै यो हिमाली जडिबुटी बटुल्न व्यस्त हुनेछन् । यार्सा टिप्नका लागि अक्कर भिरमा ज्यानकै जोखिम मोल्नेहरुको कमी हुँदैन भने कतिपयलाई लेक लाग्ने गर्छ । यार्सा टिपिसकेपछि पनि राम्रो मूल्य नपाउने, चोरी तथा डकैती हुने समस्या पनि स्थानीयले खेप्ने गरेका छन् ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष फूर्वा लामाले यार्सा टिप्नका लागि मध्यवर्ती क्षेत्रका मानिससँग ५ सय, डोल्पा जिल्लावासीसँग २ हजार र अन्य जिल्लाकासँग ३ हजार रुपैयाँ शुल्क लिने गरेको बताए ।

थाङ्बोचे पुग्न डोल्पाको सदरमुकाम दुनैदेखि ५ दिनको पैदल यात्रा गर्नुपर्छ । नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती हो तराप बाट ५ घण्टा हिँडेपछि थाङबोचे आइपुग्छ ।

यस क्षेत्रको यार्सा अन्यत्रको भन्दा राम्रो हुने भएकाले मूल्य पनि बढी हुने गरेको छ । एउटा यार्साको मूल्य ५ सय रुपैयाँभन्दा बढी पर्ने संकलनकर्ताहरु बताउँछन् ।

गाउँ नै उल्टिएर जाने प्रवृत्तिले यार्सा पाइन छाड्यो
जितेन्द्र झाँक्री, यार्सा व्यापारी

विगत वर्षमा यार्सा संकलन गरेर मान्छेहरुले मनग्गे कमाइ गर्थे । पछिल्ला वर्षहरुमा भने धेरै जना ऋणमा डुब्ने गरेका छन् । यसो हुनुको कारण हो, पहिले जसरी यार्सा संकलन गर्न नसक्नु ।

तर, यसको अर्थ पहिले जस्तो आजकाल यार्सा पाइँदैन भन्ने होइन । पहिले यार्सा टिप्न थोरै मान्छे जान्थे । पछिल्ला वर्षमा भने गाउँ नै उल्टिएर जाने गरेको छ । यार्साभन्दा यार्सा टिप्नेहरु बढी ओइरिएपछि कसरी सबैले पाउनु ? विगतमा जस्तै यार्सा संकलन हुने आशले स्थानीयले अचेल ऋणपान गरेर भए पनि जाने गरेका छन् । तर, यार्सा नपाएपछि ऋणको भारी बोक्नुपर्ने अवस्था आउँछ ।

यार्सा संकलनमा जाने क्रममा सरकारले हामीसँग करवापत निश्चित शुल्क लिने गर्छ । तर, त्यो शुल्क उठाएर सरकारले केमा खर्च गर्ने गरेको छ, केही पत्तो छैन । संकलित रकम सदुपयोग भए जस्तो लाग्दैन ।

डोल्पाको यार्सा अन्य ठाउँको भन्दा राम्रो मानिन्छ । यहाँको यार्सा ठूलो र सुनौलो रङको हुने भएकाले बढी मूल्यमा बिक्री हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

महानगरपालिका मत परिणाम

छुटाउनुभयो कि ?