Comments Add Comment

राजपा नेतालाई उपेन्द्र यादवको प्रश्न- चुनाव नलड्ने भए सशस्त्र संघर्ष गर्ने ?

'राजपाकै सहमतिमा सरकारले मधेसको चुनाव सारेको हो'

३ असार, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेस विरोधी भनेर आरोप लगाउनेहरु नै मधेस विरोधी भएको बताएका छन् । देउवा सरकारले राजपा नेताहरुकै सहमतिमा मधेसको चुनाव सारेको यादवले ठोकुवा गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै नेता यादवले भने- ‘म कसरी मधेसविरोधी हुन सक्छु ? म मधेस, हिमाल पहाड कसैको पनि विरोधी होइन, निर्वाचनलाई उपयोग गर्नु मधेसविरोधी हुनु होइन, बरु चुनाव बहिस्कार गर्नेहरुले मधेस आन्दोलनलाई कमजोर पारिरहेका छन् ।’

‘विकृत मानसिकता बोकेका जनविरोधी’

आफूलाई मधेस विरोधी आरोप लगाउनेहरु विकृत मानसिकता बोकेका र कतिपय त जनविरोधी अपराधीसमेत भएको यादवले अनलाइनखबरलाई बताए ।

खराब मानसिकता बोकेका, विगतमा राजाको शासनकालमा मन्त्री बनेका र मल्लिक आयोग एवं रायमाझी आयोगले ‘जनता मार्ने अपराधी’ घोषित गरेका व्यक्तिहरुले समेत आफूलाई ‘मधेस विरोधी’को आरोप लगाउनु हास्यास्पद भएको यादवको प्रतिक्रिया छ ।

स्थानीय चुनावमा भाग लिने निर्णय गरेर चुनावी अभियानमा सक्रिय बनिरहेका यादवलाई राजपाका नेता र कार्यकर्ताले ‘मधेसविरोधी’ भन्दै विरोध गर्ने र कार्यक्रमहरुमा कालो झण्डा देखाउने लगायतका काम गरिरहेका छन् ।

तर, निर्वाचनमा भाग नलिई बहिस्कार गर्नु भनेको मधेस आन्दोलनलाई कमजोर पार्नु हो भन्दै यादवले राजपाका नेताहरुले मधेस आन्दोलनलाई कमजोर पारिसकेको बताए ।

अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै यादव भने- ‘राजपाका नेताहरुले मधेस आन्दोलनलाई कमजोर पारिसके । २ नम्बर प्रदेशको चुनाव सारेर मधेसलाई अलग्गै देखाउने सरकारको निर्णयमा सहमति जनाएर राजपा नेताहरुले गम्भीर गल्ती गरेका छन् ।’

राजपा नेताहरुसँग जनताका वीचमा जाने कुनै पनि ईस्यु नभएका कारण उनीहरु व्यक्तिको चरित्र हत्या गर्ने, घृणा फैलाउने र गाली गलौचको घृणित राजनीतितर्फ लागिरहेको यादवको गुनासो छ ।

यादवले भने- ‘उनीहरुसँग केही योजना छैन, आफ्नो अर्कमण्यतालाई ढाकछोप गर्नका लागि गालीगलौजको राजनीतिमा उत्रिएका छन्, यसले मधेस आन्दोलनलाई कमजोर पारेको छ ।’

‘राजपाकै सहमतिमा चुनाव सारिएको हो’

सरकारले चुनाव सार्ने निर्णय गरेकोमा राजपाका नेताहरुले आफ्नो सहमति नरहेको बताइरहेका बेला यादवले भने- ‘राजपाका नेताहरुसँग जेन्टलमेन एगि्रमेन्ट भए पनि नै चुनाव सारिएको हो । यसमा राजपा नेताहरुले सहमति दिएकै हुन् । र, यो गम्भीर गल्ती हो ।’

सरकारले मधेसको चुनाव असोजमा सार्ने गरी गरेको निर्णयले मुलुकमा ‘दुई राष्ट्रवाद’लाई बढावा दिएको यादवले बताए । यादवले भने- ‘नेपाल बहुजातीय राष्ट्र हो, तर मधेसलाई छुट्याउने यो निर्णयले नेपालमा दुई राष्ट्रवाद छ भन्ने विचारलाई बढावा दिएको छ, यसमा सरकार नै मुख्य दोषी छ, तर सरकारलाई यसो गर्न सहमति दिने राजपा नेता पनि दोषी छन् ।’

‘एमालेसँग तालमेल कहाँ भयो ?’

उपेन्द्र यादव केपी ओलीसँग नजिक भए भन्ने राजपा नेताहरुले आरोप लगाइरहेका छन् र संघीय समाजवादी फोरमले एमालेसँग चुनावी तालमेल गर्ने सम्भावना बढेको चर्चा चलिरहेको छ । हामीले यसबारे सोधेको प्रश्नमा यादवले एमालेसँग कहीँ पनि चुनावी तालमेल नभएको बताए ।

‘कहाँ भयो एमालेसँग चुनावी तालमेल ?’ यादवले प्रतिप्रश्न गरे,’ तपाईले देखाउन सक्नुहुन्छ ?’

अन्य कतिपय राजनीतिक पार्टीहरुसँग स्थानीय स्तरमा स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल हुन सक्ने यादवले बताए ।

यादवले निर्वाचनलाई संघर्षकै रुपमा प्रयोग गर्दै जनताको अधिकारका लागि संसद, सडक र चुनावी मैदान सबै मोर्चालाई उपयोग गरेर अघि बढ्ने आफ्नो पार्टीको नीति रहेको बताए । लोकतन्त्रमा चुनावको विरोध गर्न नमिल्ने उनले बताए ।

फोरम नेता यादवले अनलाइनखबरसँग भने- ‘हामीले चुनावलाई पनि संघर्षकै रुपमा उपयोग गरिरहेका छौं, लोकतन्त्रमा चुनाव उपयोग गर्दिनँ भन्न मिल्दैन, स्थानीय चुनाव त झन् जनताको चुनाव हो । लोकतन्त्रमा चुनाव उपयोग नगर्ने हो भने के गर्ने ? सशस्त्र संघर्ष गर्ने ?’

कुराकानीको अन्त्यमा अनलाइनखबरले नेता यादवसँग प्रश्न सोध्यो-‘डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग तपाईहरुको एकताको चर्चा कहाँ पुग्यो ?’

जवाफमा यादवले भने- ‘यसबारेमा स्थानीय निर्वाचन सकिएपछि छलफल गरौंला भनेका छौं, तर सरकार र राजपाका नेताले चुनावै सारेर असोजमा पुर्‍याइदिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment