Comments Add Comment

क्रिकेटको ‘महाभिडन्त’: डेढ अर्ब मानिसको नजर भारत र पाकिस्तानमाथि

३ असार, काठमाडौं । जब पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्यो, धेरैले कामना गरे, भारत पनि पुगोस् ।

बंगलादेशलाई पन्छाउँदै भारत पनि फाइनलमा पुगेको छ । र, विश्वका लाखौं क्रिकेट सर्मथकले हेर्न चाहेको भारत र पाकिस्तानको फाइनल भिडन्त भोलि हुनेछ ।

च्याम्पियन्स ट्रफीको इतिहासमा दुई चिरप्रतिद्वन्द्वी टिम फाइनलमा भिड्न लागेको यो पहिलो पटक हो ।

कुनै पनि प्रतियोगितामा भने दोस्रो पटक हो । २००७ मा भारत र पाकिस्तान आईसीसी टी-२० विश्वकपको फाइनलमा भिडेका थिए । त्यो खेल भारतले जितेको थियो ।

तर, २००७-०८ पछि भारतले पाकिस्तानसँग टेष्ट सिरिज खेलेको छैन । २०१२-१३ मा एकदिवसीय सिरिज खेलेका थिए । यस बाहेक आईसीसीको प्रतियोगितामा एकअर्काविरुद्ध खेलेका छन् । २०१४ मा हुने भनिएको सिरिज तय भएको थियो तर, पछि स्थगित भएको थियो ।

भारत र पाकिस्तान इतिहास, राजनीति, हिंसा सबै कुरालाई लिएर चिरप्रतिद्वन्द्वी हुन् । यो सबै मिसिएपछि झन क्रिकेट त चिरप्रतिद्वन्द्वी हुने नै भयो । यो दुई देशको खेलमा दुई देशका क्रिकेट समर्थकको मात्र होइन, धेरैको ध्यान तान्छ ।

पछिल्लो पटक २०११ को विश्वकप सेमिफाइनलमा भिड्दा ९९८ मिलियन मानिसले यो खेल हेरेका थिए । ६ वर्षपछि भोलि हुने खेलमा यो संख्या बढ्नेछ । दुर्इ देशको जनसंख्यामात्र झण्डै डेढ अर्ब  हुनेछ ।

सन् १९५२ मा पहिलो पटक भिडेदेखि अहिलेसम्म भएका खेल मध्ये ७२ मा पाकिस्तान विजयी भएको छ । ५२ खेल भारतले जितेको छ भने चार बराबरीमा रोकिएको छ ।

तर, आईसीसीको प्रतियोगिताको अवस्था फरक छ । अहिलेसम्म ६ पटक विश्वकप र ४ पटक टी-२० विश्वकपमा भिडेका छन् र सबै भिडन्तमा भारतले पाकिस्तानलाई हराएको छ ।

यो प्रतियोगिताको समूह चरणमा भएको भेटमा पनि भारतले पाकिस्तानलाई १२४ रनले हराएको थियो । तर, दक्षिण अफि्रका, श्रीलंका र इंग्ल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा स्थान बनाउन सफल भएको छ ।

भारत भने श्रीलंकासँग स्तभ्ध भयो । दक्षिण अफ्रिका र बंगलादेशलाई हराउँदै फाइनलमा पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment