Comments Add Comment

भरतपुरकै मोडेलमा बिराटनगरमा चुनावी तालमेलः फोरमले बोक्यो एमाले

चौथो शक्तिलाई मेयर, दोस्रो शक्तिलाई उपमेयर

३ असार, बिराटनगर । भरतपुर महानगरपालिकामा जुन मोडलमा कांग्रेस र माओवादीवीच चुनावी तालमेल भएको थियो, अहिले बिराटनगरमा ठ्याक्कै सोही मोडेल अपनाउँदै एमाले र लोकतान्त्रिक फोरमवीच चुनाबी तालमेल भएको छ । यद्यपि यो तालमेलले नेपाली कांग्रेसलाई ठूलै धक्का दिने सम्भावना छ ।
तर, भरतपुरमा जसरी कमजोर माओवादीले मेयर लिएर बलियो कांग्रेसले उपमेयरमा तालमेल गरेको थियो, अहिले बिरानगरमा चौथो दल एमालेले मेयर र दोस्रो दल लोकतान्त्रिक फोरमले उपमेयर लिएर चुनाबी तालमेल गरेका छन् ।गत संविधानसभा चुनावको तथ्यांकका आधारमा विश्लेषण गर्ने हो बिराटनगरमा एमाले चौथो शक्ति हो । गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक दोस्रो शक्ति हो ।

एमालेका तर्फबाट मेयरमा विनोद ढकाल र लोकतान्त्रिक फोरमका तर्फबाट उपमयेरमा सुची चौधरीले साझा उम्मदेवारी दिने दुई दलले औपचारिक सहमति गरेका छन् ।

कसको शक्ति कति ?

बिराटनगर महानगरपालिकाभित्र पर्ने निर्वाचन क्षेत्र नम्बर ६ र ७ मा अघिल्लो संविधानसभामा फोरम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग थोरै मतले पराजित भएको निकटतम प्रतिद्वन्द्वी हो । यस आधारमा लोकतान्त्रिक फोरम नेपाली कांग्रेसपछिको दोस्रो शक्ति हो बिराटनगरमा ।

तर, एमाले नेताहरु यो तथ्य मान्न तयार छैनन् । एमाले नेताहरुको दाबीअनुसार बिराटनगरभित्र फोरम लोकतान्त्रिकको ७ हजारदेखि १० हजारको हाराहारीमा मत छ । एमालेसँग भने १८ हजारदेखि २५ हजारको हाराहारीमा मत रहेको सो पार्टीका नेताहरुको दाबी छ ।

यो अवस्थालाई हेर्दा फोरम लोकतान्त्रिक र एमालेको समीकरणले उनीहरुको विजयको यात्रा सहज हुने अनुमान सत्यको धेरै टाढा छैन ।

तर, १ लाख १४ हजार मतदाता रहेको बिराटनगरमा एमाले र लोकतान्त्रिक फोरमले ३५ हजार मत मात्रै पाएको अवस्थामा जित सुनिश्चित भइहाल्छ भन्न सकिँदैन । जितका लागि ४० हजारको हाराहारीमा मत आवश्यक पर्न सक्छ ।

कांग्रेसभित्रको अन्तरघातका ०५६ सालमा एमाले विजयी भएको थियो । तर, ०५४ यता एमालेको अवस्था बिराटनगरमा खस्कँदै गएको छ । यही खस्किएकै कारणले उसले तालमेलको हात बढाउनुपरेको हो ।

बिराटनगरसँग जोडिएका मोरङका तीनवटा चुनाव क्षेत्र ५, ६ र ७ मा ०६४ सालको संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमले र ०७० सालको संविधानसभामा नेपाली कांग्रेसले जीत निकालेको थियो । यी दुबै चुनावमा बिराटनगरमा एमालेको हालत निकै खराब रह्यो ।

गत संविधानसभामा नगरसँग जोडिएका ३ क्षेत्रमध्ये दुईवटामा एमाले चौथो स्थानमा थियो । ती क्षेत्रमा एमाले भन्दा माओवादीको पोजिसन माथि थियो । तीन मध्ये एउटा चुनाव क्षेत्रमा एमाले तेस्रो स्थान आएको थियो । प्रत्यक्षतर्फको निर्वाचनमा पहिलो स्थानमा कांग्रेस, दोस्रोमा फोरम, तेस्रोमा माओवादी र चौथो स्थानमा एमाले रहेको थियो । एमाले क्षेत्र नम्बर ६ मा मात्रै तेस्रो बनेको थियो ।

त्यसैगरी ०७० को संविधानसभा निर्वाचनको समानुपातिक मत परिणाममा कांग्रेस पहिलो, राप्रपा दोस्रो, फोरम नेपाल तेस्रो, फोरम लोकतान्त्रिक चौथो, माओवादी पाँचौं र एमाले छैठौं स्थानमा थियो ।

दोस्रो संविधानसभामा कांग्रेसले २९ हजार, राप्रपाले २३ हजार, फोरम नेपालले १८ हजार, फोरम लोकतान्त्रिकले १५ हजार, माओवादीले १२ हजार र एमालेले ११ हजार मत पाएका थिए ।

विगतको स्थितिमा गुणात्मक फेरबदल आएन भने यसपालि मधेसी मतदाताको भूमिका बिराटनगरमा निर्णायक हुने अनुमान गरिएको छ ।

यद्यपि कांग्रेसमा उम्मेद्वार छनोटको किचलो, संघीय फोरमबाट उम्मेद्वारी दिएका उमेश यादवको छवि कमजोर हुनु र माओवादीका उम्मेद्वार कम स्थापित रहनुजस्ता कारणलाई देखाउँदै एमालेले आफूलाई बलियो प्रतिस्पर्धी रहेको बताउँदै आएको छ ।

कांग्रेसमा दबाव

एमाले चौथो शक्ति नै भए पनि उसलाई दोस्रो शक्तिले सघाउने भइसकेपछि यसको ‘प्रेसर’ नेपाली कांग्रेसमाथि परेको छ । कांग्रेसभित्र आपसी एकता नहुनु र उसले कसैसँग तालमेल नगरेको अवस्थासमेतले गर्दा नेपाली कांग्रेसमाथि निकै ठूलो दबाव पर्ने विश्लेषण गर्न थालिएको छ ।

बिराटनगर महानगरपालिकामा फोरम लोकतान्त्रिकसँगको तालमेलले कांग्रेसलाई संकटमा पार्ने धेरैको विश्लेषण छ ।

नेपाली कांग्रेस र माओवादीका वीचमा तालमेलको चर्चा चले पनि अहिलेसम्म हुन सकेन । त्यसैगरी माओवादी र संघीय समाजवादी फोरमका वीचमा पनि तालमेलको चर्चा चलेको छ ।

कथंकाल नेपाली कांग्रेस एक्लै लड्यो भन्ने बिराटनगरमा लोकतान्त्रिक फोरम र एमाले गठबन्धनको पल्ला निकै भारी हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

तथापि यो तालमेलले भरतपुरमा जस्तै एउटा प्रश्न भने उठाउन सक्छ । जसरी भरतपुरमा कांग्रेस कार्यकर्ताले माओवादीलाई मत देलान् कि नदेलान् भन्ने प्रश्न उठेको थियो, त्यसैगरी ‘मधेस विरोधी’ भनिँदै आएको एमालेलाई, मधेसी समुदायका मतदाताले इमान्दारितापूर्वक मत देलान् ? कुनै मधेसी नेतातिर क्रस भोटिङ गर्लान् ? करिब ३१ हजार मधेसी समुदायको बसोबास रहेको बिराटनगरमा ९ हजार यादवहरु छन् । र, पछिल्लो समयमा सप्तरी र सिराहाबाट बसाई सरेर बिराटनगरमा आउने मतदाताहरुको संख्या बढेको छ ।

तथापि एमालेको आश गर्ने ठाउँ कहानेर छ भने करिब ५० हजार पहाडे समुदायको बसोबास रहेको बिराटनगरमा अहिलेसम्म प्रायः पहाडे बाहुनले नै चुनाव जित्दै आएका छन् । र, केपी ओलीका कारण पछिल्लो समय पहाडे समुदायको विश्वास एमालेले आर्जन गरेको बताइने गरेको छ ।

यो पनि पढ्नुहोस्

बिराटनगरको चुनावमा मधेस ‘फ्याक्टर’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment