Comments Add Comment

अब उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स, यसै साताबाट पोखरामा


४ असार, काठमाडौं । सरकारले यसै सातादेखि उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागले उपत्यकाबाहिर पहिलोपटक पोखरामा यसै साताबाट स्मार्ट लाइसेन्सका लागि आवेदन लिन सुरु गर्ने जनाएको छ ।

यसै महिनाभित्र अन्य १२ वटै अञ्चल यातायात ब्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स वितरणको लागि तयारी सक्ने विभागका महानिर्देशक रुप नारायण भट्टराईले जानकारी दिए ।

विभागले २०७२ को गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । दोस्रो चरणमा अब अञ्चल यातायात कार्यालय पोखराबाट उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने तयारी गरिरहेको महानिर्देशक भट्टराईले बताए ।

‘असारको अन्तिमसम्ममा सबै स्थानबाट स्मार्ट लाइसेन्स वितरण गर्ने योजना अनुरुप हामी प्राविधिक तयारीमा जुटेका छौं,’ श्रेष्ठले भने, ‘योजना अनुरुप समयमै तयारी सकियो भने चाँडै मोफसलका धेरै स्थानमा स्मार्ट लाइसेन्स बाँड्छौं ।’

विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु जडान गरिसकेको छ । सोमबार स्मार्ट लाइसेन्सको सफ्टेवर जडानका लागि मद्रसास सेक्युरेटी पि्रन्टर्सको टोली पोखरा जाँदैछ । मंगलबारबाट स्मार्ट लाइसेन्स वितरण्का लागि प्रक्रिया थाल्ने गरी काम गरिने भट्टराईले बताए ।

‘पोखरापछि यो सेवा अन्य क्षेत्रमा सुरु गर्ने तयारीमा छौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘अब स्मार्ट लाइसेन्स उपत्यकाबाहिर जानैपर्छ । ढिला गर्ने पक्षमा हामी छैनौं ।’

उपत्यकाबाहिर पनि नयाँ लाइसेन्स लिने, वर्ग थप्ने, नवीककरण गर्ने र प्रतिलिपि बनाउनेले मात्रै स्मार्ट लाइसेन्स पाउनेछन् । उपत्यकाबाहिर सेवा विस्तारका विषयमा तयारी गर्न स्मार्ट लाइसेन्सको ठेक्का पाएको मद्रास पि्रन्टर्सका प्रतिनिधि नेपालमा छन् ।

उनीहरु आएर पोखरामा लाइसेन्सको सर्भर व्यवस्थापन गर्नेछन् भने अन्य प्राविधिक परामर्श पनि दिनेछन् । विभागले अहिले एकैपटक ७ लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने गरी ग्लोबल टेण्डर आहृवान गरेको छ ।

स्मार्ट लाइसेन्स अभावले उपत्यकाबाहिर पुरानै लाइसेन्स बाँडिरहनुपर्ने अवस्था अन्त्य गर्न यातायात ब्यवस्था विभागले एकैकपटक ७ लाख ५० हजार लाइसेन्स आपूर्तिका लागि टेण्डर आह्वान गरेको जनाएको छ ।

यसमा अन्तर्राष्ट्रिय सेक्युरेटी पि्रन्टर्सहरुले दरखास्त हाल्न सक्नेछन् । विभागका महामनिर्देशक भट्टराईले सबै प्रक्रिया सरल रुपमा सकिए आगामी कात्तिकसम्म यो टेण्डरमार्फत स्मार्ट लाइसेन्सको आपूर्ति भइसक्ने बताए ।

अहिले विभागले एडीबीको सहयोगमा सीधै मद्रास प्रिन्टर्ससँग कार्ड ल्याएर वितरण गरिरहेको छ । सुरुमा छापिएका १ लाख ६० हजार कार्ड सकिएपछि विभागले ४५ हजार कार्ड ल्याएको थियो ।

त्यो पनि वितरण भएर सकिएपछि पुनः ८० हजार स्मार्ट लाइसेन्स ल्याउन लागिएको छ । त्यसमध्ये १० हजार कार्ड आइसेकको छ भने ७० हजार केही दिनमै आइपुग्ने भट्टराईले बताए ।

उपत्यकामा झण्डै २ लाख बाँडियो

यातायात व्यवस्था विभागले बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयबाट झण्ड २ लाख लाइसेन्स वितरण गरिसकेको छ । पुरानो कागजी लाइसेन्स विस्थापित गरेर स्मार्ट लिन चहानेलाई भने अझै पनि विभागले वितरण गर्न सकेको छैन ।

विभागसँग अहिले स्मार्टकार्ड पि्रन्ट गर्न ३ वटा मात्रै मेसिन छ । यसमा २ वटा मेसिन बिग्रएको छ । पुरानो प्रविधिको सवारी चालक अनुमतिपत्र विस्थापन गर्न आधुनिक विद्युतीय प्रविधिको स्मार्ट कार्डमा रुपान्तरण गर्न स्मार्ट प्रविधि सुरु गरिएको हो ।

५ वर्षभित्र सबै सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने यातायात व्यवस्था विभागको लक्ष्य छ ।

के हो स्मार्ट लाइसेन्स ?

स्मार्ट लाइसेन्स क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो । पोलिकार्बोनेटबाट बनेको हुनाले आगो र पानीले यसलाई कुनै हानि पुर्‍याउन सक्दैन । यो टिकाउ, मजबुत र बोक्न सजिलो पनि छ ।

यसमा देखिनेगरी चालकसँग सम्बन्धित फोटोसहितका विवरणहरु राखिएका हुन्छन् । यसबाहेक यसमा सिमकार्डमा जस्तै धातुको चीप जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिन्छ । त्यहाँका डाटालाई विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सक्छन् ।

धातुको चिपमा भएका डाटालाई लिंकेज र डाटा रिडर मेसिनमा राखेर हेर्न सकिन्छ । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेपछि त्यसैमा रकेर्ड राखिन्छ ।

यसमा विभिन्न सेक्युरेटी फिचरहरु पनि हुन्छन् । जसमार्फत विभाग र ट्राफिक प्रहरीले चालक र उसले चलाउने सवारीसम्मका विस्तृत विवरणहरु चाहेको बेला राख्न, झिक्न र हेर्न सक्छ ।

स्मार्ट लाइसेन्सको चिपमा रहने डाटामा चालकको औंठाछाप र बायोमेटि्रक क्याप्चरसहित वास्तविक विवरणहरु पनि राखिन्छ । त्यसैकारण कसैले चोरी भएका वा भेटाएका लाइसेन्स प्रयोग गर्न नसक्ने यातायात व्यवस्था विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment