Comments Add Comment

‘मालिनी’ सहित थिएटर भिलेजको युरोप यात्रा

यो यात्राबाट फर्केर नयाँ नाटकघर बनाउन जुट्ने

काठमाडौं । नाट्य संस्था थिएटर भिलेज ‘मालिनी: द प्रिन्सेस अभ गार्डेन’ नाटक लिएर २१ दिने युरोप यात्रामा निस्कने भएको छ ।

युरोपको अमेच्योर नाट्य संस्थाहरुको छाता संस्थाको निमन्त्रणामा असार ६ गते रङ्गकर्मीहरुको टोली त्यसतर्फ प्रस्थान गर्नेछ । बंगाली भाषाका प्रख्यात साहित्यकार रविन्द्रनाथ टेगोरको नाटक ‘मालिनी’ को नयाँ व्याख्याको  रुपमा तयार भएको नाटक जर्मनीका विभिन्न शहरका साथै र बेल्जियममा पनि मञ्चन हुनेछ ।

जिवेश रायमाझीले नेपालीमा अनुवाद गरेको मालिनी नाटकको निर्देशन विमल सुवेदीले गरेका हुन् ।  नाटकमा राजेन्द्र श्रेष्ठ, सुजन ओली, दिपेश राई, जेनी सुनुवार र नवराज पराजुलीको अभिनय छ । दिलिप रानाभाटको ध्वनि व्यवस्थापन रहेको नाटकमा विपुल पाण्डेले प्रकाश संयोजन गरेका छन् ।

लाजिम्पाटमा रहेको नाटकघर बन्द भएपछि थिएटर भिलेज पछिल्लो समय नेपाली नाटकलाई  अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन सक्रिय भइरहेको छ । यस क्रममा बेलायत, भारत, पाकिस्तानको यात्रा गरिसकेको टोली यसपाली युरोप यात्रामा निस्केको हो ।

मालिनी नाटक सन् २०१४ मा ‘नेसनल एकेडेमी अफ पर्फर्मेन्स आर्ट’ पाकिस्तानमा र २०१६ मा भारतको हरियाणा, राजस्थान र गोवामा त्यहाँको संस्कृति मन्त्रालयसँगको सहकार्यमा मञ्चन भएको थियो ।

२०१६ मा थिएटर भिलेजमा मञ्चन भएको यो नाटक अहिले युरोपमा मञ्चन हुन लागेको सन्दर्भमा  निर्देशक  सुवेदी निकै उत्साहित छन् । उनले विश्व रङ्गमञ्चमा नेपाली नाटक निकै माथि उठिसकेको छ भन्ने कुरा युरोपमा देखाउने यो अवसर र चुनौती दुवै मानेका छन् ।

सुवेदी भन्छन्, ‘युरोपेली देशहरुलाई नेपाली नाटकको आफ्नै रङमा घोलेर हाम्रो संस्कृति र राजनीतिको क्यानभास बनाउने प्रयास हो यो  ।’

निर्देशक सुवेदीले यस पटक लोकसंस्कृतिमाथि लामो समयदेखि काम गरिरकेका दिपेश राईसँगको सहकार्यमा यो नाटकमा नेपालका विभिन्न जातजातिका संस्कृति र हालको नेपालको राजनीतिक परिवेशबाट केही रङ टिपेका छन् ।

युरोप यात्राका क्रममा कलाकारहरु युरोपका केही प्रसिद्ध नाट्य संस्थाहरुको कार्यशाला तथा तालिममा सहभागी पनि हुनेछन् । यस्तै, निर्देशक सुवेदीले युरोपका नाट्य समूहहरुका लागि कार्यशाला चलाउने बताइएको छ ।

यो यात्रापछि नाटक मञ्चनबाट केही विश्राम लिँदै थिएटर भिलेज नयाँ नाटकघर निर्माणमा जुट्ने संस्थाका अध्यक्ष जिवेश रायमाझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment