काठमाडौं । ७१ जना मुक्तककारको सिर्जना समेटिएको संयुक्त मुक्तक सङ्ग्रह ‘परिवर्तन’ सार्वजनिक भएको छ ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा गजलकार डा. घनश्याम परिश्रमी, थारु भाषाका सर्जक पुनाराम कर्यावरिका, सङ्ग्रहका सम्पादक तथा संयोजक गोविन्द लामिछाने लगायतले कृति सार्वजनिक गरे ।
मन्तव्यका क्रममा डा. परिश्रमीले गजलको पछि मुक्तक दगुरिरहेको अहिलेको समयमा यो संयुक्त सङ्ग्रहले नेपाली मुक्तकको विकासमा भूमिका खेल्ने दाबी गरे । उनले साहित्यका नवप्रवेशी युवाहरुमाथि गहन जिम्मेवारी रहेको पनि सम्झाए ।
‘युवा पुस्ताले पाका पुस्तासँग सिक्दै–सिकाउँदै पुराना पुस्तालाई उचाल्नुपर्छ । हामी माथि पुग्नका लागि तपाईं युवाहरूको महत्वपूर्ण भूमिका छ’, उनले भने ।
गौरी पब्लिक रिसेलन एन्ड पब्लिकेसनले प्रकाशन गरेको सङ्ग्रहको मूल्य एक सय २५ रुपैयाँ राखिएको छ ।