Comments Add Comment

सोलुखुम्बुको तिङला गाउँ चुनाव बहिस्कारको पक्षमा

गाउँबासीको गुनासो- पुनसंरचना गर्दा अन्यायमा परियो

४ असार, सोलुखुम्बु । सधैं विद्रोहीको पहिचान बनाएको रोल्पाको विद्रोही गाउँ थवाङ योपटक चुनावमा होमिएको छ । यतिसम्म कि चुनाव बहिस्कार गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि थवाङमा स्वतन्त्र उम्मेदवार खडा गरेको छ ।

तर, सोलुखुम्बुको तिङला गाउँ यसपटक ‘थवाङ पथ’ मा लागेको छ । यो गाउँ सोलुको नेचासल्यान गाउँपालिकामा पर्छ । तिङला पहिले सिंगै गाविस थियो । अहिले नेचासल्यान गाउँपालिकाको वडा नम्बर ६ बनेको छ । तर, यो सिंगै गाउँ चुनाव बहिस्कारको पक्षमा उभिएको छ ।

स्थानीय तहको सीमांकनलाई लिएर तिङला असन्तुष्ट छ । स्थानीय तह पुनर्संरचनाका क्रममा नेपाली कांग्रेस बाहेकका दलले तिङलालाई सदरमुकाम रहेको सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने मत राखेका थिए । र, त्यही सिफारिस भएको थियो ।

तर, कांग्रेसले त्यसमा सहमति जनाएन । आयोगले पनि कांग्रेसको माग अनुसार नेचासल्यानतिरै राख्यो ।

यसको विरोधमा स्थानीयबासीले संघर्ष समिति बनाएर ५/६ महिनादेखि आन्दोलन पनि गर्दै आएका थिए ।

तिङला गाउँबाट सदरमुकाम झण्डै आधा घन्टाको दुरीमा छ । तर, नेचासल्यान गाउँपालिकाको कार्यालय डेढ/दुई घन्टाको दुरीमा छ । त्यसैले यो मागमा गाउँबासीहरु सबै एक छन् ।

माग सम्बोधन नभई चुनाव हुन लागेपछि त्यहाँ ‘नो भोट’ अभियान समेत चलाइएको छ ।

जब बलबहादुर केसी सुटुक्क तिङला पुगे

गाउँबासीहरु असन्तुष्ट भइरहेका बेला चुनावको तयारीका क्रममा नेपाली कांग्रेस सांसद बलबहादुर केसी सुटुक्क तिङला पुगे । केसीले प्रहरी र स्थानीय प्रशासनलाई समेत जानकारी गराएका थिएनन् ।
उनले टंकबहादुर कार्कीलाई वडा नम्बर १ को वडाध्यक्षको उम्मेदवार बन्न राजी गराए । केसीको दाउ थियो, उम्मेदवारी दर्ता गराउन पाए कार्की निर्विरोध वडाध्यक्ष हुनेछन् ।

तर, उम्मेदवारी दर्ताका लागि जाने क्रममा संघर्ष समितिका कार्यकर्ताले कार्कीलाई गाउँमै रोकेका छन् ।

कांग्रेस सांसद केसीले कार्कीलाई अपहरण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा खबर गरेका छन् । त्यहाँबाट इन्स्पेक्टरको नेतृत्वमा तिङलामा टोली गएको छ । ‘प्रहरी टोली गइसकेको छ’ प्रहरी जिल्ला अधिकारी उमेश पाण्डेले अनलाइनखबरसँग भने ।

तिङलाबासीले पहिलो प्रयास बहिस्कारको हुने बताएका छन् । यदि कांग्रेसले उम्मेदवारी दिएमा संघर्ष समितिको तर्फबाट स्वतन्त्र उम्मेदवार बनाउने सम्भावना रहेको एक स्थानीयले बताए ।

तिङलामा मात्र झण्डै ३ हजार मतदाता छन् र त्यहाँ ५ मतदान केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment