Comments Add Comment

रेमिट्यान्समा बढी निर्भर हुने राष्ट्रमा नेपाल विश्वमै पहिलो

धेरै रेमिट्यान्स भित्र्याउने भारत


४ जेठ काठमाडौं । नेपालबाट दैनिक १५ सयको हाराहारीमा युवाहरु कामको खोजिमा बिशिन्छन् । ठूलो संख्यामा युवा शक्ति पलायन भइरहँदा देशके अर्थतन्त्र नै रेमिट्यान्समा भर पर्न थालेको छ ।

हालै मात्रै संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको एक रिपोर्टमा नेपाल रेमिट्यान्समा भर पर्ने राष्ट्रहरुको सूचीमा पहिलो स्थानमा देखिएको छ ।

संयुक्त राष्ट्रसंघको कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)का अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको झण्डै ३२ प्रतिशत बराबरको रकम रेमिट्यान्समार्फत स्वदेश भित्रने गरेको छ । नेपालमा वाषिर्क ६ खर्बभन्दा धेरै रकम रेमिट्यान्समा रुपमा भित्रिन्छ ।

त्यस्तै लिबेरीया रेमिट्यान्समा भरपर्ने राष्ट्रहरुको सूचीमा दोस्रो स्थानमा परेको छ । यसले कुल गाह्रस्थ उत्पादनको ३१ प्रतिशत बराबरको रकम रेमिट्यान्सबाट भित्र्याउँछ ।

त्यस्तै कुल गाह्रस्थ उत्पादनको ताजिकिस्तानले २९, किर्गिस्तानले २६ र हाइटिले २५ प्रतिशत बराबरको रकम रेमिट्यान्समार्फत भित्राउने गरेका छन् ।

विकसित राष्ट्रमा यसरी विदेशी कामदारको माग झनै बढ्दै जाने यो रिपोर्टका प्रमुख लेखक पिर्दाे दि भास्कोसेलोस् बताउँछन् । उनले भने ‘विदेशमा काम गर्न गएका कामदारको परिवारको भविश्य रेमिट्यान्सका कारण राम्रो हुने देखिन्छ । ‘

विदेशमा काम गर्न गएका लगभग प्रत्येक युवाहरुले स्वदेशमा पैसा पठाउँछन् । आखिर यसरी विश्वभर रहेका कामदारले स्वदेशमा कति रकम पठाउँछन् होला त ? आइएफएडीका अनुसार २०१६मा विश्वभरबाट रेमिट्यान्सको रुपमा स्वदेशमा पठाइएको रकम कुल ४ सय ४५ बिलियन (४ हजार ५ सय अर्ब रुपैयाँ) अमेरीकी डलर बराबर रहेको छ ।

एक दशकमा यसमा झण्डै ५१ प्रतिशले बृद्धि भएको छ । यो वर्ष झण्डै ५ बिलियन अमेरीकी डलर बराबरको रकम बढ्ने आइएफएडी ले जनाएको छ ।

अहिले २ सय मिलियन कामदारहरुले विदेशमा काम गरेर ८ सय मिलियन परिवार बराबर पालिरहेका छन् ।

आइएफएडीका अध्यक्ष गिलबर्ट हुङ्बोल भन्छन् ‘अमेरिकी डलर २ सय वा तिन सय रुपैया एक जना विदेशमा काम गर्ने कामदारले स्वदेशमा पठायो भने त्यसले परिवारको आम्दनीको झण्डै ६० प्रतिशत हिस्सा ओगट्छ, जसले उनिहरुको दैनिक जीवनयापानमा ब्यापक परिवर्तन ल्याइदिएको हुन्छ । ‘

सबैभन्दा धेरै रेमिट्यान्स भित्राउने राष्ट्रमा भारत पहिलो स्थानमा रहेको छ । यसले गत वर्ष सन् २०१६ मा ६३ बिलियन अमेरीकी डलर बराबरको रकम रेमिट्यान्स भित्र्याएको थियो । केहिवर्ष अघिसम्म चीन सबैभन्दा बढी रेमिट्यान्स भित्राउने राष्ट्रमा थियो ।

सन् २००७ मा चीनले ३८.५ बिलियन बराबरको रकम रेमिट्यान्समार्फत भित्र्याएको थियो भने भारतले ३७.२ बिलियन रकम भित्राएको थियो । तर अहिले भने भारत भन्दा चीनले झन्डै २ बिलियन कम रकम रेमिट्यासबाट भित्राएको छ ।

तर, भारतले यसरी रेमिट्यान्समार्फत भित्राएको रकम देशको अर्थतन्त्रमा सुधार गर्नलाई भने सानो मात्रै भूमिका खेल्छ । भारतको कुल गाह्रस्थ उत्पादनको झण्डै ३ प्रतिशत बराबरको रकम रेमिट्यान्स मार्फत भित्रन्छ ।

सन् २०१६ मा सबैभन्दा बढी रकम रेमिट्यान्स मार्फत भित्र्याउने देशमा चीन दोस्रो स्थानमा रहेको छ । जसले गत वर्ष ६१ बिलियन अमेरीकी डलर बराबरको रकम रेमिट्यान्सबाट भित्र्याएको थियो ।

रेमिट्यान्स भित्राउनेमा तेस्रो राष्ट्रमा भने फिलिपिन्स छ, जसले गत वर्ष २९.९ बिलियन अमेरीकी डलर भित्र्याएको छ । त्यस्तै चौंथो देशमा रहेको मेक्सिकोले २८.५ बिलियन र पाकिस्तानले १९.८ बिलियन अमेरकी डलर बराबरको रकम भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment