Comments Add Comment

नेप्से दोहोरो अंकले घट्यो, नयाँ बिमा कम्पनीले तान्यो लगानी


४ असार, काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १३.६१ अंकले घटेर १५७५.९८ विन्दुमा आइपुगेको छ ।
बजार सकारात्मक दिशामा अगाडी बढ्न सक्ने खबरहरु बजारमा प्रवाहित नभएकोले पनि बजार बढ्न नसकेको सरोकारवालाहरु बताउछन् ।
‘अहिले कम्पनीहरुको प्राथमिक तथा नयाँ सेयर निष्कासन (आइपीओ/एफपीओ) भइरहेको छ, नयाँ बिमा कम्पनीहरुमा पनि ठुला लगानीकर्ताहरुको रकम लगानी भएको छ, यिनै कारणले बजार बढ्न नसकेको हो,’ ब्रोकर अन्जनराज पौड्यालले भने ।
बजार लगभग तीन महिनादेखि १५ सय ७० देखि १६ सयभन्दा केही माथी रहेर तलमाथी गरिरहेको छ । बजारमा कम उतारचढाव हुँदा मूल्य परिवर्तनबाट समेत कम प्रतिफल आउने भएपछि लगानीकर्ता आइपी र एफपिओमा आकर्षित देखिएको पौड्यालले बताए ।
यता, धेरै संस्थाहरुबाट हकप्रद जारी भइरहेकोले पनि लगानीकर्ता त्यता मोडिएका छन् । नयाँ बिमा कम्पनीमा यसअघि लगानी प्रतिबद्धता गरेका व्यवसायीहरुले लगानी गर्नुपर्ने अवस्था रहेकोले पनि बजारमा ठुला खेलाडीहरुबाट पनि खासै लगानी बढ्न सकेको छैन् ।
बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर केही घटेको देखिएपनि अझै ब्याजदर ११ प्रतिशत हाराहारीमा नै रहनु, कर्जाको ब्याजदर घट्न नसक्दा पनि बजारले वृद्धिको बाटो समातन सकेको छैन् ।
सामान्यतया, आर्थिक वर्षको अन्तिम महिनाबाट बजार केही बढ्न थाल्ने देखिदै आएको छ । कम्पनीहरुबाट राम्रो प्रतिफलको आशमा लगानीकर्ताहरु यो समय लगानी बढाउने गर्छन् । हाल केही लगानीकर्ता भने यही अवसरको पर्खाइमा समेत रहेका देखिन्छन् ।
आइतबार कारोबार रकम बढ्न नसकेपनि करिब ६० करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसले लगानीकर्ताको बजारमा उपस्थिती अपेक्षित दरमा कायम नै रहेको ब्रोकरहरु बताउछन् । कारोबारको पहिलो सत्रमा बजार केही बढेको भएपनि ४० मिनेट नसकिदै बजार ओरालो लाग्ने क्रममा देखियो ।
यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक भने घटेको छ । यद्यपी उच्च हकप्रद र बोनस लाभांश घोषणा गरेको एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य भने सबैभन्दा धेरै ९.९८ प्रतिशत बढेको छ । चुक्ता पुँजी कम रहेका नेपाल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको पनि मूल्य बढेको छ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब र जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment