Comments Add Comment

अवार्ड डायरीः ‘बोल्दा बोल्दै जब लक्ष्मी दिदीका गला अवरुद्ध भए…’

पाँच तारे होटल हायातको हलभित्र क्यामेराका लेन्सहरु पि्रयंका कार्कीका क्लिभेज र प्रेमीसँग चुम्बन गरिएका तस्बिर खिच्न मस्त छन् । भर्खरै दीपकराज गिरी र दीपाश्री निरौला  पाएको अवार्ड छाडेर हलबाट हिँडे ।

भेज सुप पिउँदै हामी केही पत्रकार साथीहरु अवार्डकै विषयमा गफिदै थियौ । रातको त्यस्तै ९ बजेको थियो होला ।

नेपाली चलचित्रकी पुरानी अभिनेत्री लक्ष्मी गिरी मेरो अगाडि आइपुग्नु भयो । उहाँ मनको कुरा स्पष्ट रुपमा भन्ने खुल्ला किताबजस्ती हुनुहुन्छ ।

तर, आज लक्ष्मी दिदीको मन गरुङ्गो थियो । सायद, मनमा केही पीडा थियो होला । मनका पीडा भित्रै गुम्साउँदा झन् असैह्य हुन्छ । कसैसँग पोखेपछि हलुका महशुश हुन्छ । यो मेरो आफ्नै अनुभव हो ।

लक्ष्मी दिदीले मलाई भन्नुभयो-‘मलाई तपाई कडा मान्छे लाग्छ ।’ मैले किन भनेर सोधिनँ ।

मलाई याद छ, केही समय अगाडि लक्ष्मी दिदीले ‘नेतालाई पेन्टी उपहार दिन मन छ’ भनेर मसँग भन्नु भएको थियो, जसलाई मैले समाचारको बनाएको थिएँ । सायद, यही भएर उहाँलाई म ‘कडा स्वभाव’को लागेको हुनसक्छ ।

लक्ष्मी दिदी बोल्न थाल्नुभयो । उहाँले भन्नुभयो-‘३० बर्षदेखि म यो क्षेत्रमा लागिपरेकी छु । सरकारी जागिर छाडेर मैले चलचित्रमा काम सुरु गरेकी हुँ । तर, यत्रो बर्ष यही क्षेत्रका लागि बिताउँदा पनि कसैले संझिदैनन् । कसैले मलाई सम्मानका लागि योग्य ठानेनन् । ३० बर्षदेखि निरन्तर चलचित्र खेल्ने कलाकार कोही छ त यहाँ ? तपाइले देख्नु भएको छ  ?’

दिदीका बोली केही चर्को भयो । ‘न चलचित्र विकास बोर्ड, न कुनै संघसंस्था न त अवार्ड आयोजक नै । म बोलाएको हरेक ठाउँमा पुग्छु । तर, कसैले पनि मलाई सम्मानको लायक संझिएका छैनन् ।’

मेरा मुखबाट ‘हजुर… हजुर…’ बाहेक केही पनि निस्किएको थिएन । लक्ष्मी दिदीले कलाकारिता सुरु गर्दा सायद म भर्खरै जन्मिएको थिएँ होला । मसँगै बसेर दिदीको कुरा सुनिरहेकी रंग पत्रकार बषर्ा बस्नेतको त त्यतिबेला पृथ्वीमा अत्तोपत्तो नै थिएन होला ।

दिदीको एकनाशले बोलिरहनुभएको थियो । उहाँले थप्नुभयो-‘मैले शम्भुजित बास्कोटालाई अघि मात्र भेटेको थिएँ । उनी विकास बोर्डमा हुँदा पनि मलाई कहिल्यै संझिएनन् ।’ लक्ष्मी दिदीका कुरा मेरो दिमाग र मुटुमा नै पसेको थियो । साँच्चै, ‘प्रेमगीत’की छुच्छी हजुरआमाको यस्तो भावुकता मैले यस अगाडि देखेको थिइनँ ।

‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का हरेक विधा एक कलाकारको नाममा राखिएको छ । ३० बर्षदेखि निरन्तर चलचित्रमा काम गर्दै आउनुभएकी लक्ष्मी दिदीलाई भने आयोजकले यसका निम्ति योग्य सम्भिmएन । लक्ष्मी दिदीले यही कुरा उप्काउन खोजिरहनु भएको थियो ।

बोलिरहँदा दिदीको आँखा रसाए । गला अवरुद्ध भयो । आँखाको डिलबाट आँशुका ढिक्का खस्न खोज्दै थिए । फेरि केही सम्हालिनुभयो ।

मलाई थाहा छ, नेपाली चलचित्रका हरेक कार्यक्रममा निम्तो आएसम्म ट्याक्सी चढेर वा सार्वजनिक बस चढेर पुग्ने केही थोरै कलाकारमा लक्ष्मी दिदी पनि पर्नुहुन्छ । पत्रकार साथी निमेष गौतम दुर्घटनामा परेर घाइते हुँदा १६ हजार रुपैयाँ सहयोग गर्दै लक्ष्मी दिदीले भन्नुभएको थियो-‘म अरु जस्तो माक्स लगाएर हिड्दिनँ । गाडी चढ्दिनँ । तर, कसैलाई पर्दा सहयोग गर्न पाइन भने मन पोल्छ ।’

०००

३ दशकदेखि चलचित्र नै कर्मक्षेत्र बनाएर दौडिएका कैयौ कलाकारका फुटेका कुरकुच्चाहरुको हामीलाई मतलब भएन, भर्खरै भर्खरै चलचित्रमा प्रवेश गरेका कलाकारको कारको मुल्य खोजी गर्न हामी आतुर छौ ।

कुनै कलाकारको निधनपछि मिडियाका पन्ना र फेसबुकका भित्तामा गुणगान गाउने हामी चलचित्रकर्मीले जिउँदा कलाकारको आँशुको मुल्य खोज्न छाडिसकेको धेरै भैसक्यो ।

रात छिप्पिदै थियो । अवार्डको समाचार र गसिप सबैभन्दा पहिला आफ्नो मिडियामा प्रकाशन गर्ने हतारो मलाई पनि थियो । लक्ष्मी दिदी भन्दै हुनुहुन्थ्यो-‘कहिलेकाही मन पोल्छ भाई । अनी बोल्न मन लाग्छ । घर राम्रोसँग जानुहोला ।’

यसपछि म दिदीको समिपबाट छुट्टएि । घर आइपुगेपछि मेरो मनमा यही कुरा खेलिरहेको थियो । साच्चै, सरकारी जागिर छाडेर ३० बर्षदेखि चलचित्र क्षेत्र नै भनेर दौडिएकी एउटी कलाकारको मन आखिर किन दुख्छ ? आँखाबाट आँशु किन र्झछ ?

‘लक्ष्मी दिदी’ जस्ता यहाँ कैयौ कलाकार छन्, जो आफ्नो काम र योगदानको अर्थ वुझिदिने मानिस खोजिरहेका छन् । साच्चै, अब ती कलाकारको आँशु पुछ्ने बेला आएन र ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment