Comments Add Comment

रोल्पामा ३ उदेक ! ‘वर्ग दुस्मन’सँग विप्लवको तालमेल

केन्द्रीय सदस्य गाउँमा बागी ! एमाले-कांग्रेसवीच अंकमाल


४ असार, रोल्पा । युद्ध र प्रेममा मात्र होइन, राजनीतिमा पनि सबैथोक सम्भव हुँदोरहेछ ! कपिलवस्तुमा बम विस्फोट गराएको आरोप खेपिरहेको विप्लव समूहले आइतबार रोल्पाको थवाङमा उम्मेदवारी दर्ता गरायो, त्यो पनि आफैंले ‘वर्गदुश्मन’ मान्दै आएको नेपाली कांग्रेससँग तालमेल गरेर ।

रोल्पामै आइतबार दोस्रो रोचक दृश्य देख्न पाइयो । माओवादी केन्द्रका केन्द्रीय सदस्य भइसकेका व्यक्तिले गाउँपालिका अध्यक्षमा उम्मदेवारी दिए, त्यो पनि पार्टीको आधिकारिक नभएर बागी उम्मेदवारका रुपबाट । तर, स्वतन्त्र हैन, नेकपा मालेसँग चुनावचिन्ह सापटी मागेर ।

रोल्पामा तेस्रो रोचक घटना चाँहि जिल्लाको माडी गाउँपालिकामा देखियो, जहाँ कांग्रेस र एमालेले चुनावी तालमेल गरे ।

थवाङमा विप्लव समूह र कांग्रेसवीच तालमेल

यसलाई रोचक प्रशंग नै मान्नुपर्ने हुन्छ कि देशभर स्थानीय चुनाव बहिस्कार गरेको विप्लव समूहले रोल्पाको थवाङमा भने कांग्रेससँग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको छ ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अमित घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । अमित नेकपाको युवा संगठन जनस्वंसेवक ब्यूरोको थवाङ प्रमुख हुन् । तर, विप्लवको पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले घर्तीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेसले अध्यक्ष पदमा विप्लव समूहका अमितलाई समर्थन गर्दै उपाध्यक्षमा श्रीकुमारी रोकालाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेस रोल्पा जिल्ला सभापति एवम् सांसद अमर पुनले अनलाइनखबरसँग भने, ‘विप्लव समूहसँग तालमेल गरेकाले हामीले उपप्रमुखमा मात्रै उम्मेदवारी दिएका हौं ।’

पुनले भने-‘विप्लव समूहलाई पनि चुनावमा ल्याउने धेरै पहिलेदेखिको मेरो कोसिस सफल भयो ।’

थवाङमा एमालेका हितबहादुर रोका अध्यक्ष र धनकुमारी बुढामगर उपाध्यक्षको उम्मेदवार छन् । त्यसैगरी माओवादी केन्द्रबाट वीरबहादुर घर्तीमगर ‘वियोग’ले अध्यक्षमा र रामकिरणी रोकामगरले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

तर, विप्लवकै बागी !

रोल्पाको राजनीतिमा देखिएको अर्को रोचक घटना के छ भने रोल्पाको माडी गाउँपालिकामा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ

देशभरिमा एक ठाउँ उम्मेदवारी दिएको विप्लव समूहमै बागी आइलागेका छन् । त्यहाँ भक्तबहादुर घर्तीले पनि स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी अमितका बागी हुन् ।

स्वतन्त्र उम्मेदवार बनेका घर्ती साहस उपनामबाट चिनिने विप्लव समूहका स्थानीय नेताका छोरा हुन् ।

यद्यपि विप्लव समूहको आधिकारिक उम्मेदवार भने अमित नै हुन् ।

तर, भक्तबहादुरले माओवादी केन्द्रको उक्साहटमा उम्मेदवारी दिएकाले उनको उम्मेदवारी फिर्ता गराउने विप्लव समूहका स्थानीय नेताले बताएका छन् ।

थवाङ माओवादीको उदगम थलो हो । रोल्पाको ऐतिहासिक थवाङ गाउँपालिकामा मिरुल, उवा र थवाङ गाविस समेटिएका छन् । गाउँपालिकाको केन्द्र थवाङ नै तोकिएको छ ।

कांग्रेस र एमालेबीच अंकमाल

रोल्पाको राजनीतिमा देखिएको अर्को रोचक घटना के छ भने रोल्पाको माडी गाउँपालिकामा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ ।

माडी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गोपाल घर्ती र उपाध्यक्षमा एमालेका प्रेम घर्ती उम्मेदवार बनेको कांग्रेस रोल्पाका जिल्ला सभापति अमर पुनले जानकारी दिए । सो गाउँपालिकाका ६ मध्ये ३ वडामा कांग्रेस र एमालेबीच तालमेल भएको छ ।

गोपाल कांग्रेस रोल्पाका क्षेत्रीय अध्यक्ष हुन् भने प्रेम बहादुर एमाले जिल्ला सदस्य हुन् । यी दुबैले अध्यक्ष पदमा दाबी गर्दै आएका थिए ।

माओवादीको प्रभाव क्षेत्र मानिने रोल्पामा माओवादी पार्टीलाई पहिलो बन्न नदिने रणनीति अनुसार कांग्रेस र एमालेले तालमेल गरेका हुन् ।

केन्द्रीय राजनीतिमा मुख्य प्रतिस्पर्धी रहेका कांग्रेस एमाले जिल्लामा यसरी मिल्नु अन्य जिल्लामा अनौठो भए पनि जिल्लामा सामान्य घटना नै भएको माओवादीका एक नेताले बताए ।

तेस्रो रोचक घटनाः केन्द्रीय नेता गाउँपालिकामा बागी

जिल्लामा भएको तेस्रो अनौठो घटना त्रिवेणी गाउँपालिकामा भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिकामा भने माओवादी केन्द्र परित्याग गरेका कुलानन्द गिरी नेकपा मालेको चुनाव चिन्ह लिएर अध्यक्षमा उम्मेदवार बनेका छन् । त्रिवेणीमा मालेले उपाध्यक्ष पदमा खिउ कुमारी घर्तीलाई उम्मेदवार बनाएको छ ।

त्रिवेणी गाउँपालिकामा कांग्रेसले कमल बुढामगरलाई अध्यक्ष र राधिका हमाललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

यसैगरी एमालेले शान्तकुमार वलीलाई अध्यक्ष र सावित्रा बुढालाई उपाध्यक्ष तथा माओवादीले गंगाप्रसाद घर्ती ‘सूर्य’लाई अध्यक्ष र लालसरी घर्तीमगरलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment