Comments Add Comment

दाङका १० स्थानीय तहमा माओवादीको चुनावी सभा

माओवादीका एजेण्डा माओवादीबाटै कार्यान्वयनः महरा

४ असार, दाङ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह राजनीतिक अधिकार र आर्थिक अधिकार सम्पन्न भएको बताएका छन् । नेकपा माओवादी केन्द्रले घोराहीको गुलरिया पार्कमा आइतबार आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

अब स्थानीय तह निकै शक्तिशाली हुने उल्लेख गर्दै महराले भने, ‘म अर्थमन्त्री भएको बेला स्थानीय तहलाई बजेटको ठूलो हिस्सा अनुदानको रुपमा पठाउने ब्यवस्था गरेको छु, अब स्रोत र शक्ति दुबैले स्थानीय तह अधिकार सम्पन्न भएका छन् ।’

सिंहदरवारको शक्ति जनताको हातमा आउनु सानो परिवर्तन नभएको उल्लेख गर्दै माओवादी नेतासमेत रहेका महराले आफ्नो एजेण्डाको कार्यान्वयन माओवादीले नै गर्ने भएकाले स्थानीय तह निर्वाचनमा माओवादीले जित्नुपर्ने बताए ।

पहिलो चरणको निर्वाचनमा प्राविधिकरुपमा माओवादीले थोरै स्थानमा जिते पनि राजनीतिकरुपमा जीत हात पारेको बताए । ‘पहिलो कुरा त आफ्नो एजेण्डा माओवादीले आफ्नै कार्यकालमा लागु गरेको छ,’ उनले भने, ‘प्राविधिकरुपमा हेर्दा पनि हामी ४६ ठाउँमा पहिलो र ५२ ठाउँमा दोस्रो भएका छौं, स्थानका हिसाबले कम जिते पनि हामीले मतसंख्याका हिसाबले अन्य दलकै हाराहारीमा जितेका छौं ।’ उनले दाङका धेरै स्थानीय तहमा माओवादी जित्ने दावी समेत गरे ।

कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक हेमराज शर्मा ‘डायमण्ड’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख पदका उम्मेदवार जीवन गौतम, उपप्रमुखका उम्मेदवार सिता चौधरीलगायतले बोलेका थिए । सभामा रक्तबीज सांस्कृतिक परिवार दाङले सांस्कृतिक कार्यक्रम देखाएको थियो । कार्यक्रममा मानबहादुर बस्नेतको नेतृत्वमा ६१ जना कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए ।

त्यस्तै माओवादी केन्द्रले राप्ती गाउँपालिकाले भालुवाङमा पनि जनसभा आयोजना गरेको छ । सभालाई सम्वोधन गर्दै केन्द्रीय कार्यालय सदस्य नारायणप्रसाद शर्मा पौडेलले सिंहदरवारको अधिकार जनताको घरआँगनमा आउनु ठूलो जीत भएको बताए । यसलाई जोगाउँदै जनताको वास्तविक सत्ता स्थापना गर्नतिर लाग्नुपर्नेमा उनले जोड दिए ।

चुनाव परिचालन समिति संयोजक लुमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य दामा शर्मा, नरेन्द्रमान केसी, अध्यक्षका उम्मेदवार श्यामेश चौधरी, उपाध्यक्षका उम्मेदवार भगवता अधिकारीलायतले बोलेका थिए । गाउँ पार्टी अध्यक्ष धर्मराज अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सञ्चालन नारायण शर्माले गरेका थिए ।

बबइ गाउँपालिकाले हंशपुरमा भएको चुनावीसभालाई पूर्वसामान्य प्रशासनमन्त्री एवम् माओवादी नेतृ रेखा शर्माले सम्बोधन गरेकी थिइन् । शर्माले अब स्थानीय सरकार महिला, दलित लगायत राज्यका मूलधारबाट वञ्चित गरिएका उपेक्षित वर्गले सञ्चालन गर्ने बताइन् । स्थानीय तहबाटै समावेशी अभ्यास शुरु भएको भन्दै उनले यसलाई लक्षित वर्गको हितमा केन्दि्रत गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा पोलिटब्यूरो सदस्य कुवेर ओली, निर्वाचन परिचालन संयोजक भीमबहादुर ओली, अध्यक्षका उम्मेदवार सुशील खड्का क्षेत्री, उपाध्यक्षका उम्मेदवार उर्मिला ओलीलगायतले बालेका थिए ।

पूर्वमन्त्री शर्माले शान्तिनगर गाउँपालिकाको चिराघाटमा आयोजित जनसभालाई पनि सम्वोधन गरेकी थिइन् । सो सभामा अध्यक्षका उम्मेदवार नेवबहादुर रोका र उपाध्यक्षका उम्मेदवार राधिका परियारले पनि सम्वोधन गरेका थिए । त्यस्तै पूर्वमन्त्री शर्मा र नेता ओलीले दंगीशरण गाउँपालिकाको हेकुलीमा आयोजित चुनावीसभालाई पनि सम्बोधन गरेका थिए ।

त्यस्तै माओवादी केन्द्र गढवाले गरेको चुनावीसभालाई पोलिटब्यूरो सदस्यद्वय निर्मल आचार्य र नारायण शर्मा, अध्यक्षका उम्मेदवार लुमाकान्त न्यौपाने ‘सागर’, उपाध्यक्षका उम्मेदवार रमाकुमारी चौधरीलगायतले सम्बोधन गरेका थिए ।

राजपुर गाउँपालिकाले गंगदीमा गरेको चुनावीसभालाई पनि पोलिटब्यूरो सदस्य निर्मल आचार्य, लीला शर्मा, अध्यक्षका उम्मेदवार श्यामबहादुर झाँक्री र उपाध्यक्षका उम्मेदवार पुष्पा यादवले सम्वोधन गरेका थिए ।

माओवादी केन्द्र लमहीले आइतबार वृहत चुनावी र्‍याली गरेको छ । र्‍यालीपछि आयोजित सभालाई पोलिटब्यूरो सदस्य इन्द्रजीत चौधरी, अध्यक्षका उम्मेदवार द्रौपदा पौडेल र उपाध्यक्षका उम्मेदार कालुराम चौधरीले सम्वोधन गरेका थिए ।

बंगलाचुलीमा पनि माओवादीले सभा गरेको छ । सभालाई केन्द्रीय सदस्य सुवास पुन, अध्यक्षका उम्मेदवार भक्तबहादुर ओली र उपाध्यक्षका उम्मेदवार यमुना घर्ती मगरले सम्वोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment