Comments Add Comment

भरतपुर १९ का मतदाता भन्छन् : मतगणना या मतदान जे भएपनि बन्धक नबनाइयोस्

४ असार, चितवन । ‘बर्खा लाग्ने बेला भो । अब धमाधम किसानलाई चटारो हुन्छ, चुनाव के हुने हो थाहा छैन, मतदान या मतगणना जे होस् तर छिट्टै होस् । अब हामी १९ का मतदातालाई बन्धक नबनाइयोस् ।’ यो भनाइ हो भरतपुर-१९ शारदानगरका मतदाता बुद्धिमान तामाङको ।

शारदानगर टाउनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका झन्डा फुङ्ग उडेका छन्, धेरै झन्डा च्यातिएका छन् । कतिपय च्यातिने अवस्थाका छन् । नयाँ झन्डा कसैले राखेका छैनन् । गाउँ घुम्दा धेरैका घरमा काँग्रेसका झन्डा देखिन्छन् । सूर्य र हँसिया हथौडा फाट्टफुट्ट देखिन्छन् ।आज बिहान भरतपुर-१० को शारदानगर टाउनमा पुग्दा तामाङ तरकारीका लागि फर्सीको मुन्टा केलाउँदै थिए ।  सँगै तीन/चार जना मतदाता पनि थिए । जो पार्टीको प्रमुख आए पनि आफूहरुलाई केही फरक नपर्ने उनीहरुको भनाइ छ ।

झन्डा कुहिने बेला भइसक्दा पनि मतगणना या मतदान भन्ने विषय अनिर्णयको बन्दी हुँदा मतदातामा खासै उल्लास छैन । मतदाताको प्रतिक्रिया मिश्रित भए पनि अहिले पुनः मतदान हुनुपर्नेमा धेरैको मत देखिन्छ ।

एकाएक मतगणना रोकिएकामा अर्का मतदाता राजुभक्त लम्साल आक्रोशित भए । ‘केही न केही निकास निकालियोस्, हामीलाई बन्धक नबनाइयोस्’- लम्सालले भने । उनी मतगणना गरे राम्रो हुने प्रतिक्रिया दिए ।

जेठ १४ गते राति मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिको मतगणना रोकिएको छ । रोकिएको झन्डै एक महिना हुन लाग्यो । निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरे पनि सर्वाेच्च अदालतमा रिट दायर भएपछि अहिले तत्कालका लागि अघि नबढाउन अन्तरिम आदेश भएको छ ।

जेठ २८ र जेठ ३० गते हुने भनिएको सुनुवाइ रोकिएर असार ६ गतेका लागि सर्वाेच्चले सुनुवाइको समय तोकेको छ ।

निर्णय छिटो आउन नसकेकामा चिन्ता प्रकट गर्दै मतदाताले जनतालाई दुःख नदिन आग्रह गरेका छन् । भरतपुर-१९ को शारदानगरमा फेन्सी व्यवसाय चलाउँदै आएका कृष्ण खरेल भरतपुर-१९ मा स्वतन्त्र रुपमा मूल्याङ्कन गर्ने अवस्थै नभएको बताए ।

गणतन्त्र भन्ने महसुस नै नभएको उल्लेख गर्दै उनले भने , ‘अहिले वडामा विभिन्न बहानामा दबाब सिर्जना गरिएको छ, खुसी लागेको छैन ।’ पैंसट्ठी वर्षीय स्थानीय श्यामलाल महतो पटकपटक चुनावमा जाँदा आफूजस्ता बूढाबूढीलाई सकस हुने बताए । ‘बिरामी पनि छन्,खेतीपाती पनि छन्, यस्तो बेला गाह्रो हुन्छ, छिटो निर्णय आए राम्रो हुन्छ,’ उनले भने ।

अर्का मतदाता उदयराज पराजुली जनताको मताधिकार च्यातिएपछि मतगणना हुँदा अधिकार हनन हुने भन्दै पुनः मतदान नै उपयुक्त हुने दाबी गर्छन् । जे निर्णय भए पनि छिट्टै गर्नुपर्नेमा उनकाे जोड छ ।

सर्वाेच्चमा रिट दायर गर्ने एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक आफ्नो विद्युतीय सामान पसलमा काम गर्दैगर्दा भेटिए ।  मतदान कै निर्णय भए पनि छिटो गरे हुने उनको सुझाव छ ।

मतपत्र च्यात्ने बेलामा घटनास्थलमै रहेको बताउने विक देख्दादेख्दै दिउँसै रात पार्ने काम भएकामा चित्त दुखेको बताउँछन् । भरतपुर-१९ मा तीन वटा मतदान केन्द्र छ । किरणगञ्ज, गुञ्जानगर, शारदानगरलगायत क्षेत्र त्यहाँ समेटिन्छ । अहिले एमालेले छुट्टै चुनावी प्रचार अभियान चलाइरहेको छ भने काँग्रेस र माओवादी केन्द्रले संयुक्त चुनावी अभियान जारी राखेका छन् ।

काँग्रेस, माओवादी केन्द्र र एमालेका खाँटी कार्यकर्तासमेत जे हुने हो तत्कालै निर्णय आइदिए सजिलो हुने बताउँछन् । भरतपुर-१० रानीपोखरीकी इन्द्रकुमारी गुरुङ मतदाताले मान्छे हेरेर भोट दिने भनेको सुनेको बताउँछिन् ।

तर, जे निर्णय भए पनि छिट्टै भइदिए राम्रो हुने उनको भनाइ छ । उनलाई पुनःमतदान भए राम्रो लाग्छ । यता भोट पुनः गणना गरिदिए राम्रो हुने प्रतिक्रिया दिने स्थानीयवासी भीमबहादुर क्षेत्री अनिर्णयमा भने रहन नहुने तर्क गर्छन्र ।

एमाले भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार देवी ज्ञवाली जेठ १४ को घटनाक्रम बुझाउँदै अहिले मतदाताको घरदैलोमा लागेको बताउँछन् ।

यता काँग्रेस माओवादी केन्द्रको गठबन्धनकी उम्मेदवार रेणु दाहाल एक चरणको घरदैलो सकेर अर्काे चरणको अभियान सुरु गरेको र मतदातामा उत्साह थपिएको बताउँछिन् ।

दुवै समूह अहिले मतदाता प्रभावित पार्न मत माग्न मै व्यस्त देखिन्छन् । भरतपुर-१९ मा तीन हजार सात सय ९७ मतदाता छन् । भरतपुरमा वडा नम्बर १९ को मतगणनाका क्रममा ९० मत च्यातिएपछि मतगणना रोकिएको थियो । अब गन्न बाँकी वडा नम्बर २० को मात्रै छ ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment