Comments Add Comment

धरान उपमहानगरमा रोचक प्रतिस्पर्धाः कसले जित्ला मेयर ?

माओवादी र फोरमवीच तालमेल, कांग्रेस र एमाले एक्लाएक्लै

४ असार, धरान । प्रदेश नम्बर १ को सांस्कृतिक सहर धरान उपमहानगरपालिकामा एमाले र कांग्रेस एक्लाएक्लै चुनाव लड्दैछन् । माओवादी र संघीय समाजवादी फोरमले आपसी तालमेल गरेका छन् । यहाँको चुनावमा मेयर पदका लागि त्रिपक्षीय भीडन्त हुने सम्भावना बढेको छ । कांग्रेस, एमाले र माओवादी तीनै दलले जित्ने दाबी गरिरहेका छन् ।
धरानको मेयरका लागि तारा, तिलक र अइन्द्रवीच तीब्र प्रतिस्पर्धा हुने परिस्थिति निर्माण भएको यहाँका विश्लेषकहरु बताउँछन् । सुरुमा एमाले र कांग्रेसलाई मात्रै प्रतिस्पर्धी ठानिएकोमा माओवादी, फोरम र नयाँशक्तिको मोर्चा बनेपछि गठबन्धनका उम्मदेवारको पक्षमा पनि माहौल देखा पर्न थालेको छ ।एमालेले मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई उठाएको छ । कांग्रेसले मेयरमा तिलक राई र उपमेयरमा श्यामा रेग्मीलाई उठाएको छ । माओवादीले मेयरमा अइन्द्र विक्रम बेघा र उपमेयरमा संघीय समाजवादी फोरमका प्रकाश काङमाङ राईलाई उठाएको छ । माओवादी केन्द्र र फोरमलाई नयाँशक्ति पार्टीले समेत सघाउने भएको छ ।

धरानमा पहिचान पक्षधर जनजातिको बाहुल्य रहेको र पहिचानवादीहरुले आपसी तचालमेल गरेकाले उनीहरुको दाबी बलियो बनेको स्थानीयबासी बताउँछन् ।

यसैवीच हामीले धरानका केही राजनीतिक विश्लेषक एवं टिप्पणीकारहरुसँग गरेको छलफलबाट यहाँको राजनीतिक शक्ति सन्तुलनको अवस्था यस्तो देखियोः

एमालेः अवस्था मजबुत, उम्मेदवार कमजोर

धरानमा नेकपा एमालेको अवस्था निकै राम्रो छ । यहाँ एमाले पहिलो पार्टी हो । विगतदेखि नै जित हात पार्दै आएको एमालेले ०७० को चुनावमा यहाँबाट सांसदमा जित हात पारेको थियो । र, अहिले पनि धरानमा एमालेको राम्रो पकड रहेको देखिन्छ ।

विगतमा एमालेबाट मनमोहन अधिकारीदेखि लिएर लीला श्रेष्ठ सुब्बा, कुन्ता शर्मा जस्ता सांसदहरुले जितेको यो ठाउँमा अहिले एमालेबाटै कृष्णकुमार राई सांसद छन् ।

धरानमा एमालेभित्र खासै आन्तरिक विवाद पनि देखिएको छैन । यो अवस्थामा एमालेले मेयरमा जित्ने सम्भावनालाई कसैले पनि अस्वीकार गर्न सक्दैन ।

यसमाथि एमालेले लिएको राष्ट्रवादी अडानको असर पनि धारनमा परेकै छ । विजयपुर र पानवारी लगायतका क्षेत्री बाहुनको उल्लेख्य बसोबास भएका ठाउँबाट एमालेले ‘सेन्टिमेन्टल’ मत थप्न सक्ने अनुमान गर्न सकिन्छ ।

तर, धरानमा पार्टीको अवस्था मजबुद हुँदाहुँदै एमालेलाई हारिएला कि भन्ने डर छ । किनभने एमालेले मेयरका लागि अघि सारेका उम्मदेवार तारा सुब्बाको ‘हाइट’ कम भएको बुद्धिजीवीहरुले गुनासो गरेका छन् । उनी वौद्धिक समुदायमा भन्दा बढी व्यापार मेला लगायतका कार्यहरुमा विगतमा संलग्न रहेको हुनाले वौद्धिक समुदायमा त्यस्तो पर्न गएको हो । तारा सुब्बाका यो कमजोरी एमालेका लागि ‘फियर फ्याक्टर’ हो । विगतमा कतिपय व्यक्तिहरुको रकम लिएर नतिरेको गुनासो पनि सुब्बामाथि धेरैले गर्ने गरेका छन् ।

अर्कोतर्फ धरानको खानेपानीको समस्या निरन्तरको चुनावी नारा बनिरहेको सन्दर्भमा एमाले उम्मेदवार सुब्बाको विगतको अडानले पनि एमालेलाई थप त्रास उत्पन्न गराएको छ । जलाधार क्षेत्रको संरक्षणमा भन्दा पनि बढी जग्गा दलाली गर्नेहरुको पक्षमा लागेको आरोप विपक्षीहरुले एमाले उम्मदेवार सुब्बामाथि लगाउने गरेका छन् ।

धरानजस्तो सांस्कृतिक एवं पहिचानको पक्षधर मानिसहरुको बसोबास भएको शहरमा एमालेले लिएको राष्ट्रिय राजनीतिको अडानले पनि एमाले उम्मेदवारलाई कम भोट जान सक्ने जोखिम पनि छ । यस्तो अवस्थामा एमालेप्रति जनजाति समुदायको विकर्षण भयो भने यो विषयले एमालेलाई चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ ।

जातीय आधारमा हेर्दाखेरि धरानमा पहिलो जाति राई हो भने दोस्रो आर्य -क्षेत्री-बाहुन), तेस्रो लिम्बु र चौथो नेवार हुन् । एमालेले मेयर र उपमेयरमा दिएको उम्मेदवारी पहिलो जातीय समूहबाट छैन । यो अवस्थामा राई र नेवार जातिको विश्वास आफूतिर खिच्नुपर्ने एमालेलाई अर्को चुनौती छ ।

कांगेसः उम्मेदवार ठिकै, पार्टी कमजोर
नेपाली कांग्रेसका मेयर उम्मेदवार तिलक राई स्थानीय तहमा भिजेका नेता हुन् । कतिपय वौद्धिक समुदायले उनलाई सकारात्मक रुपमा नहेरे पनि सामाजिक संघसंस्थाहरुका काममा उनको संक्रिय संलग्नता रहँदै आएको छ ।

किरात राई यायोक्खाको केन्द्रीय अध्यक्षसमेत रहेका तिलक राई धरानको पहिलो जातिको क्लष्टरबाट उम्मेदवार बनेका छन्, जुन उनको ‘प्लस पोइन्ट’ हो ।


तर, धरानमा नेपाली कांग्रेसको दुःख नै यही रहँदै आएको छ कि ‘खाने बेलामा अभागीलाई रीस उठ्छ’ भन्ने आहानजस्तै चुनावमा कांग्रेसभित्र सधैं विवाद र अन्तरघात हुने गरेको छ । ०७० को चुनावमा कांग्रेसमा अन्तरघात नभएको भए उसले एमालेलाई हराउने सम्भावना थियो, तर कांग्रेसभित्र अन्तरघात नै मुख्य समस्या रहने गरेको छ ।

यसपालिको चुनावमा पनि किशोर राई उम्मेदवार बन्ने कि तलक राई बन्ने भन्नेबारे कांग्रेस निकै लामो समयसम्म अलमलमा रह्यो । अहिले पनि किशोर राई पक्ष असन्तुष्ट रहँदै आएको छ । यो असन्तुष्टिलाई म्यानेज गरेन भने कांग्रेसले फेरि पनि धरानमा जित हात पार्ने स्थिति नआउन सक्छ ।

एकातर्फ एमालेभन्दा कांग्रेस केही कमजोरजस्तै देखिनु र अर्कातर्फ चुनावमा सधैं अन्तरघात हुनुले गर्दा धरानमा कांग्रेसले हार्दै आएको छ । यो चुनावमा पनि एमाले लगभग एक ढिक्का देखिएको छ भने कांग्रेसमा विवाद छ ।

तथापि धरानमा तेस्रो जनसंख्या रहेको नेवार समुदायले राईलाई इमान्दारितापूर्वक सघायो भने र, राईहरुको भोट एमालेमा जानबाट रोक्न सके भने कांग्रेसका तिलक राई पनि जितको सम्भावना बोकेकै उम्मेदवार हुन् ।

एमाले र कांग्रेस दुबैले उपमेयरमा बाहुन जातिका नेतृहरु रोजेका छन् । यसको अर्थ खसआर्य समुदायका मतदातालाई पनि आफूतिर तान्ने उनीहरुको सोचाइ हुन सक्छ ।
धरानमा क्षेत्रीहरु १४ हजार र बाहुनहरु ९ हजार भन्दा बढी छन् । दुबै समुदायलाई जोड्दा २३ हजारको हाराहारीमा पुग्छ, जुन राईहरुको जनसंख्या भन्दा ५ हजारले कम हो ।

माओवादी गठबन्धनः संगठन कमजोर, सेन्टिमेन्टको आश

धरानमा माओवादीले मेयरमा अइन्द्र विक्रम बेघा (लिम्बू) र उपमेयरमा संघीय समाजवादीले पारस काङमाङ राईलाई साझा उम्मदेवार बनाएका छन् । दुई पक्षको तालमेलले बेघा र राईलाई प्रतिस्पर्धीको तहमा त ल्याएको छ, तर जीत हात पार्नका लागि उनीहरुले संगठनमा भन्दा बढी ‘सेन्टिमेन्ट’मा भर पर्नुपर्ने अवस्था छ ।

संगठनको हिसाबले धरानमा माओवादी र फोरम कमजोर छन् । ०६४ को संविधानसभामा माओवादीका किरण राईले यहाँबाट सभासद जित्दा संगठनको बलले नभएर ‘सेन्टिमेन्ट’ ले काम गरेको थियो । तर, ०७० माओवादीसँग सेन्टिमेन्ट पनि भएन र संगठन पनि कमजोर भयो ।

यद्यपि माओवादीका मेयर उम्मदेवार समान्य जीजन शैलीका युवा भएकाले खासै दाग नलागेका उम्मदेवार मानिन्छन् । तथापि उनको सामान्य ‘हाइट’ लाई शहरको मध्यम वर्ग एवं वौद्धिक समुदायले खासै रुचाइहालेको देखिँदैन ।

धरानको चुनावमा सधैं निणर्ायक रहने गरेको सुकुम्वासी समुदायमा भने अरु भन्दा माओवादी उम्मदेवारको प्रभाव राम्रो रहेको दाबी गर्ने गरिएको छ । सुकुम्बासीको मतमा पहिचानवादीको मत तान्न सक्यो भने यो गठबन्धनले जित हात पार्न सक्ने कतिपयको विश्लेषण छ ।

तर, यो गठबन्धनसँग खस आर्य र महिला उम्मदेवार नभएकाले उनीहरुको विश्वास आर्जन गर्नु अर्को चुनौतीपूर्ण पाटो छ ।

आफ्नो पक्षमा सेन्टिमेन्ट ल्याउन सकेनन् भने गठबन्धनका उम्मेदवारहरु कांग्रेस एमालेभन्दा निकै पछाडि नै छुट्न सक्छन् । तर, सेन्टिमेन्ट आफ्नो पक्षमा पार्न सकेको अवस्था जितको नजिक नपुग्लान् भन्न सकिँदैन ।

धरान उपमहानगरपालिकाको विशिष्ठता के छ भने अन्यत्र निकै कमजोर बनेको अवस्थामा पनि गत संविधानसभा चुनावमा धरानमा माओवादी पार्टी कांग्रेस एमालेको हाराहारीमा थियो । संघीय फोरम र माओवादी मिल्दा कांग्रेसलाई लगभग पछि पार्न सक्ने अवस्था उनीहरुमा छ ।

धरान उपमहानगरपालिकामा कसले जित्ला ? अहिले नै भन्न सकिँदैन । तर, यतिचाहिँ अहिल्यै भन्न सकिन्छ कि यहाँको चुनावमा दुई दलीय हैन, तीन दलीय प्रतिस्पर्धा हुनेछ ।

चुनावी एजेण्डाः खानेपानी र विमानस्थलदेखि प्रदेशको राजधानीसम्म

धरान उपहानगरपालिकाको चुनावी एजेण्डाको कुरा गर्दा खानेपानीको समस्या समाधान गर्ने नारालाई सबै दलले मुख्य एवं साझा एजेण्डा बनाएका छन् । त्यसपछि अन्य भौतिक विकासका नारा सबै दलले अघि सारेका छन् ।

त्यसैगरी सुकुम्बासी समस्या समाधान पनि धरानको अर्को एजेण्डा हो ।

धरानमा विकानस्थल बनाउने नारालाई पनि यहाँका दलहरुले चिरस्थायी नारा बनाउने गरेका छन् ।

यसका साथै धरानलाई एक नम्बर प्रदेशको राजधानी बनाउने नारालाई पनि धराने उम्मेदवारहरुले चुनाबी एजेण्डा बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment