Comments Add Comment

आइतबारको सन्देशः राजपा र विप्लवको ‘बहिस्कार’ खारेज !

मनोनयन दर्ता शान्तिपूर्णरुपमा सफल भयोः निर्वाचन आयोग

४ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावका लागि मनोनयन दर्ता आइतबार ‘भव्यता’का साथ सम्पन्न भएको छ । मनोनयन दर्तामा देखिएको जनसहभागिताबाट राजपा र विप्लव समूहको कथित ‘चुनाव बहिस्कार’ खारेज भएको छ । ३५ जिल्लाका ३३४ स्थानीय तहमा राष्ट्रिय उत्सवकै रुपमा जनसहभागिता देखिएको छ ।

निर्वाचन आयोगले दोस्रो चरणको मनोनयन दर्ता उत्साहजनक एवं शान्तिपूर्ण रुपमा सफल भएको जनाएको छ । आइतबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मर्यादितरुपमा दलका प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रतिक्रिया दिए ।

असार १४ गते हुने दोस्रो चरणको चुनावका लागि प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।
दोस्रो चरणमा असार १४ गते १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा चुनाव हुँदैछ ।

कुल ३३४ स्थानीय तहमा हुने चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि छानिने छन् । यो चरणको चुनावमा कुल ६४ लाख ३२ हजार ७ सय ६५ मतदताले मतदान गर्न पाउने छन् ।

पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत बैशाख ३१ गते सम्पन्न भएको थियो । बाँकी २ नम्बर प्रदेशको स्थानीय चुनाव आगामी असोज २ गते गर्ने सरकारले घोषणा गरेको छ ।

राजपा र विप्लवको ‘बहिस्कार’ खारेज

नवलपरासी, कपिलवस्तु, रुपन्देही, मोरङ र सुनसरी लगायतका जिल्लामा राजपाका नेता कार्यकर्ताले मनोनयन दर्ता गर्न नदिने भन्दै आन्दोलनका कार्यक्रम जारी राखेको जनाएका थिए ।

तर, कहीँ पनि राजपा कार्यकर्ताले मनोनयन दर्तालाई बिथोल्न र अवरोध गर्न सकेनन् । बरु भैरहवामा राजपाका नेता आफैंले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।

कपिलवस्तुमा विप्लव समूहका कार्यकर्ताले निहत्था सर्वसाधारण उभिइरहेको ठाउँमा बम बिस्फोट गराउँदा एक दर्जन घाइते भएका छन् । निर्दोष जनतामाथि गरिएको यस्तो सांघातिक आक्रमणबाट विप्लव समूहको जनविरोधी चरित्र उदांगो भएको छ । उसले निर्वाचन बिथोल्न गरेको कुचेष्टालाई जनताले खारेज गरिदिएका छन् ।

कपिलवस्तुमा सर्वसाधारणमाथि आतंककारीकै शैलीमा बम विस्फोट गराउने विप्लव समूहले रोल्पाको थबाङमा भने कांग्रेससँग मिलेर स्वतन्त्र उम्मदेवारी दर्ता गराएको छ ।

बाजुरा घटनाः ठूला दललाई लोकतन्त्र कसले सिकाउने ?

आइतबार मनोनयन दर्ताका क्रममा कपिलवस्तुलाई अपवादका रुपमा छाडेर अन्यत्रको स्थिति सामान्य नै थियो । तर, बाजुरामा कांग्रेस र एमालेवीच भएको झडपका कारण एक जनाको ज्यानै जाने दुःखद घटना भयो ।

[sam_list] बाजुरामा विप्लव समूह वा राजपाको जोखिम थिएन । तर, आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेस र एमालेजस्ता ठूला दलकै कार्यकर्तावीच झडप भयो । यो झडपमा एकजनाको ज्यान जानुका साथै दर्जनौं घाइते भए ।

बाजुरामा भएको झडपमा हंस राउतले अनाहकमा ज्यान गुमाएको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

डोगटीमा भएको यस्तो अपि्रय घटनाले एमाले र कांग्रेसजस्ता पुराना एवं ठूला दलहरुलाई नै लोकतान्त्रिक संस्कार सिकाउन बाँकी रहेछ भन्ने सन्देश दिएको छ ।

विगतमा २० वर्ष अघिको स्थानीय चुनावमा पनि कांग्रेस र एमालेवीच यस्तै कुटाकुट र झडपहरु हुने गरेका थिए ।

एमाले र कांग्रेसमात्रै होइन, माओवादी पनि अलोकतान्त्रिक क्रियाकलाप गर्नमा कम देखिएको छैन । आइतबार दार्चुलाको मार्मा गाउँपालिकाको लटीनाथमा पनि एमाले र माओवादीका कार्यकर्तावीच मनोनयन दर्ताका क्रममा ढुंगा हाानाहान भयो । यसक्रममा आधा दर्जन घाइते भए ।

यद्यपि यस्तो केही अपि्रय घटनाहरुलाई छाडेर भन्नुपर्दा देशैभरि जनताले हर्षोल्लासका साथ लोकतान्त्रिक अभ्यास गरेका छन् । मनोनयन दर्ता गर्न समय तालिका मिलाएर दलका नेताहरु एकापसमा भनाभन नगरी सभ्य रुपमा प्रस्तुत भए । यही कारणले निर्वाचन आयोगले मर्यादित रुपमा दलका कार्यकर्ताले मनोनयन दर्ता गराएको निश्कर्ष निकालेको छ ।

मनोनयन दर्ता गरेसँगै अब दलहरु आफ्ना उम्मेदवारलाई जिताउन चुनाव-प्रचारमा लागेेका छन् ।

तालमेलको निरन्तरता

पहिलो चरणको चुनावमा तालमेलबाट खासै प्रगति नदेखिएको निश्कर्ष निकाले दलहरुले दोस्रो चरणमा पनि तालमेललाई निरन्तरता दिएको पाइएको छ ।

बिराटनगर महानगरपालिकामा विभिन्न पक्षको चुनावी तालमेलले रौनक थपेको छ । त्यहाँ एमाले र लोकतान्त्रिक फोरमवीच तालमेल भएको छ भने माओवादी र संघीय फोरमले पनि तालमेल गरेका छन् । कांग्रेसले एक्लै जित्ने रणनीति बनाएको छ ।

मोरङ जिल्लाका विभिन्न ठाउँमा संघीय फोरम र माओवादीवीच चुनावी तालमेल भएको छ । सुनसरीको धरानमा पनि माओवादी र संघीय समाजवादीले तालमेल गरेका छन् ।

धनकुटाका केही गाविसमा राप्रपा, माओवादी कांग्रेस र संघीय फोरमले एमालेविरुद्ध मोर्चाबन्दी गरेका छन् । उता रोल्पाको माडी गाउँपालिकामा माओवादीलाई हराउन कांग्रेस र एमालेले तालमेल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment