Comments Add Comment

पाकिस्तानले रच्यो इतिहास, भारतलाई हराउँदै जित्यो च्याम्पियन्स ट्रफी

४ असार, काठमाडौं । चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो ।

ओभरमा टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय लियो, जुन गलत साबित भयो । अजहर अली र फखार जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गर्दै पाकिस्तानलाई निकै राम्रो सुरुवात दिलाए ।

अली ५९ रन बनाएर आउट भए । उनी रन आउट भए । तेस्रो नम्बरमा आएका बाबर अजमले पनि फखारलाई राम्रो साथ दिए । दुबैले ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रन पुर्‍याए । ११४ रन बनाएका फखार जमानलाई हार्दिक पाण्डेयले रविन्द्र जडेजाको हातबाट क्याच गराए ।

सोएब मल्लिक मात्र १२ रनमा आउट भए । बाबर अजम मात्र ४ रनले अर्धशतक बनाउन चुके । तर, मोहम्मद हाफिज र इमाद वासिमसँग मिलेर पाकिस्तानको स्कोर ३३८ रनमा पुर्‍याए ।

३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रहृयो । पाकिस्तानको बलरहरुसामू भारतीय टप अर्डरका ब्याट्सम्यानहरु निरिह बने । टिमले खाता नै खोल्न नपाउँदा तेस्रो बलमा रोहित शर्मा आउट भए । भारतको छ रन हुँदा विराट कोहली ५ रनमा आउट भए । यो भारतका लागि ठूलो झड्का थियो भने पाकिस्तानका लागि जितका लागि ठूलो खुडि्कलो पार ।

पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । शिखर धवन पनि २१ रनमै आउट भए ।  सुरुवाती तीनै विकेट हसन अलीले लिएका थिए ।

चौथो विकेटका रुपमा युवराज सिंह २२ रनमा आउट हुँदा महेन्द्र सिंह धोनी पनि टिक्न सकेनन् । उनी मात्र ४ रनमा आउट भए । छैटौं विकेटका रुपमा केदार जादव ९ रनमा आउट हुँदा भारतको स्कोर मात्र ७२ रन थियो । योसँगै भारतको हार लगभग तय भयो ।

सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे । यो भारतका लागि केही राहत थियो । तर, जितका लागि पर्याप्त थिएन । पाण्डेय रन आउट भएपछि भारत धरासायी भयो । उनी ७६ रनमा आउट हुँदा टिमको स्कोर १५२ रन थियो । थप चार रन जोड्दा भारत अलआउट भयो ।

भारतलाई मात्र ३०.३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३-३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment