Comments Add Comment

एमालेभित्रै बसेर संविधान संशोधनका लागि संघर्ष गर्छु

राजपाका ठूला नेता चाँडै एमालेमा प्रवेश गर्दैछन्

५ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव बिथोल्न राष्ट्रिय जनता पार्टीका शीर्षनेताहरुले पत्रकार सम्मेलन गर्दै गर्दा सोही पार्टीकी केन्द्रीय कोषाध्यक्ष अनिता यादव भने एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा थिइन् ।

जतिबेला राजपाले उम्मेदवारी मनोनयन बिथोल्न भएभरको शक्ति लगाइरहेको थियो, त्यति नै बेला कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ एमाले प्रवेश गर्दै थिए ।

अनिता यादव केही महिनाअघि नवलपरासीमा सम्पन्न भएको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी ६ वटा मधेसवादी पार्टीको एकीकरणपछि राजपाको पनि कोषाध्यक्ष बनेकी थिइन् ।

अनिताका पति श्रीकृष्ण यादव एमालेबाट ०५६ सालमा धनुषा ५ मा चुनाव लडेका थिए । तर, उनी झिनो मतले कांग्रेसका रामवरण यादवसँग पराजित भए । मधेस आन्दोलनको भेलमा श्रीकृष्ण पनि एमालेबाट बाहिरिए । यादव तमलोपाको केन्द्रीय कोषाध्यक्ष रहेकै बेला मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा निधन भयो ।

अनिता २४ वर्षदेखि राजनीतिक गतिबिधिमा रहे पनि पति श्रीकृष्णको मृत्युपछि तमलोपाको केन्द्रीय राजनीतिमा सक्रिय भएकी थिइन् । उनले ०७० सालको संविधानसभा निर्वाचनमा तमलोपाबाट उम्मेदवार बन्दा धनुषा ५ मा ८ हजार ३६५ मत प्राप्त गरेकी थिइन् । त्यो क्षेत्रबाट तत्कालीन राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहेन यादव बिजयी भएका थिए ।

चुनावमा भाग लिने र एमालेलाई हेर्ने दृष्टिकोणमै कुरा नमिलेपछि आफूले राजपा परित्याग गरेको अनिताले बताइन् ।उनले एमालेभित्रै बसेर संविधान संशोधनका लागि संघर्ष गर्ने बताइन् ।

मधेस बिरोधी भनेर प्रचार भइरहेको एमालेमा प्रवेश गर्नुको कारण के हो ? अनिता यादवसँग यही प्रश्नबाट कुराकानी शुरु भयो ।

एमाले मधेस र मधेसीको प्रमुख दुश्मन भनेर प्रचार भइरहेका बेला तपाई एमालेमै प्रवेश गर्नुभयो किन हो ?

यही विषयमा पनि राजपाभित्र मेरो कुरा मिलेन । मधेसी मोर्चामा आवद्ध नेताहरुबीच को बढी क्रान्तिकारी, को बढी मधेसवादी देखिने होड चलिरहँदा एमालेलाई प्रमुख दुश्मन घोषणा गरियो । प्रधानमन्त्रीमा भोट कांग्रेस र माओवादीलाई हाल्ने अनि मधेसको अधिकार चाहिँ एमाले दिनुपर्ने भन्ने कुरामा मेरो लामो समयदेखि फरक मत थियो ।

ममात्र होइन, अहिले राजपाभित्र धेरै नेताहरुले एमाले बिना मधेसको अधिकार स्थापित हुँदैन, त्यसैले एमालेसँग मिल्नुपर्छ भनिरहनुभएको छ ।

तर, केही नेताहरु छन्, जो अन्यत्र कतैबाट निर्देशित भएर एमालेलाई मधेसमा निषेध गर्ने भनिरहेका छन् । उनीहरु निर्देशित अतिवादको शिकार भइरहेका छन् ।

वास्तवमा मधेसको अधिकार एमालेको सहमति र सहभागिता बिना सम्भव छैन भनेर हामीले छलफल चलायौं र पहिलो चरणमा हामी एमालेमा प्रवेश गरेका हौं ।

भनेपछि अधिकार लिनै बाँकी रहेछ, जुन कुरा एमालेले मानेकै छैन, एमालेबाट त्यो अधिकार लिन कसरी सम्भव होला ?

एमालेले मधेसीलाई अधिकार दिनुहुँदैन भनेर कहीँ कतै भनेको त छैन । तर आ आफ्नो स्वार्थ पूरा गर्न एमालेलाई जबर्जस्ती मधेस विरोधी देखाउन खोजियो । बिभिन्न भ्रम छर्दा एमालेले मधेसमा भावनात्मक क्षति व्यहोरेको छ । तर, सगठन र मतदातामा त त्यस्तो देखिएन । बरु उल्टै एमालेलाई बिच्क्याउने कामले गर्दा मधेसका जायज माग पनि पूरा भएनन् ।

त्यसैले अब मधेसको अधिकारका लागि एमाले जस्तो राष्ट्रिय पार्टीभित्रै बसेर काम गर्न सकिन्छ र यहीँभित्र संघर्ष गर्नुपर्छ भनेर पार्टी प्रवेश गरेका हौं ।

एमालेमै प्रवेश गर्दा तपाईप्रति मधेसमा कस्तो दृष्टिकोण बन्ला ?

म मधेसकै फिल्डमा काम गर्ने मान्छे हुँ । मधेसका जनताले चुनाव चाहेका थिए तर राजपा नेतृत्वले जनताको कार्यकर्ताको र हामी नेतृत्वमा रहेकाहरुको पनि कुरा सुन्न चाहेन ।

जहाँसम्म एमाले प्रवेशको कुरा छ, मलाई एमाले प्रवेश गर्नुपर्ने अर्को कारण चाहिँ एमालेसँग मेरो पारिवारिक र भावनात्मक सम्बन्ध छ । मेरा पति पनि एमालेमा लामो समय काम गर्नुभएको थियो । म पनि १४ वर्षसम्म एमालेमा काम गरेर मधेस आन्दोलनका बेला अलग्गै पार्टी गठन गरेर उता गएको हो ।

एमालेको नेतृत्व तह र कार्यकर्तासँग पनि चिनजान सम्बन्ध भएकाले काम गर्न सहज हुन्छ, आफ्ना कुरा राख्न र मधेसको पक्षका कुरा राख्न सजिलो हुन्छ भनेर एमाले नै रोजेको हो ।

राजपाले चुनाव बिथोल्न आन्दोलन गरिरहेका बेला तपाईले एमाले प्रवेश गर्नु संयोगमात्र हो कि ?

यो त संयोगमात्र हो । हामी चुनावको पक्षमा भएकाहरु केही एमाले प्रवेश गरेका छौं । कोही फोरम र अन्य पार्टीमा पनि प्रवेश गर्दैछन् । केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अरु कतिपय नेता कार्यकर्ता अन्तिम संघर्ष गर्ने र भएन भने राजपा छाड्ने तयारीमा हुनुहुन्छ ।

वास्तवमा चुनावमा भाग नलिने राजपाको ऐतिहासिक गल्ती र आत्मघाती कदम हो । यो कुरा हामीले धेरै पटक बुझाउन खोज्यौं ।

जनताले २० वर्षदेखि स्थानीय निकायमा जनप्रतिनिधि पाएका थिएनन् । जिल्लाका नेता कार्यकर्ताको व्यवस्थापन हुन सकेको थिएन । सांसदमा केही केन्द्रीय नेता लड्ने,अनि अरु कार्यकर्ता लड्ने त स्थानीय चुनावमा हो । यो अवसर नगुमाउँ भनेर धेरैपटक भनियो ।

एउटा पार्टी जबसम्म चुनावमा भाग लिँदैन,जनतामा जाँदैन भने त्यो पार्टीको के अर्थ हुन्छ ? यही भएर हामीले पार्टी छाडेका हौं ।

तपाई त नेतृत्व तहमा रहेको व्यक्ति,राजपाले चुनावमा भाग नलिनुको कारण मधेसको मुद्दामात्र हो कि अरु नै केही छ ?

मुख्य कुरा त अध्यक्ष मण्डलका अध्यक्षहरुमा चुनाव जितिन्छ भन्ने आत्मविश्वासनै रहेन । पार्टी एकीकरण भए पनि कमिटीहरु बनेका छैनन् । अहिलेसम्म पार्टी दर्ता भएको छैन । छाप पनि पाएको छैन । यस्ता कुरा पनि हुन्,तर त्यतिले चुनावमा जान रोकिने कुरा थिएन । उहाँहरु दिग्भ्रमित र दिशाहीन अवस्थामा हुनुहुन्छ । अरुले नै नचाइरहेको हो कि जस्तो लाग्छ ।

जहाँसम्म मधेसको मुद्दाको कुरा छ,मधेसको मुद्दा कुनै दलको पेवा त होइन । उपेन्द्र यादवजी पनि चुनावमै हुनुहुन्छ । अरु सबै दल चुनावमै छन् । संविधान संशोधन राजपाले चाहेर पारित हुने पनि होइन ।

एमालेलाई प्रमुख दुश्मन भनेर अनि त्यही एमालेले उहाँहरुका माग पूरा गरिदिनुपर्ने कुरा मिलेन । त्यही भएर म एमालेभित्रै रहेर जायज कुरामा संविधान संशोधन गराउन पार्टी नेतृत्वलाई सहमत गराउन सकिन्छ भनेर आएको हो । मैले संविधान संशोधनको मुद्दा छाडेर एमाले प्रवेश गरेको होइन ।

प्रदेश नम्बर २ मा चुनाव असोजमा सरेको छ, तपाईहरुको अहिले एमाले प्रवेशको अर्थ राजपा फेरि पनि चुनावमा जाँदैन भन्ने हो ?

राजपाको नेतृत्व संकटमा छ । उहाँहरु अध्यक्ष मण्डलकै कुरा मिलेको छैन । अब अहिलेकै अवस्थामा उहाँहरु असोजमा पनि चुनावमा भाग लिने सम्भावना मैले देखिरहेकी छैन । त्यही भएर हामीले पार्टी छाडेका हौं र तेस्रो चरणको चुनावसम्म अरु धेरै नेताले पार्टी छाड्छन् ।

चुनाव स्थगित भएकोमा मधेसमा विशेष गरी २ नम्बर प्रदशेमा जनता आक्रोशित छन् र निराश पनि छन् । कांग्रेस माओवादी र राजपाका नेता मिलेर मधेस भनेका ८ जिल्लामात्र होइन भन्ने पुष्टि गर्न खोजे । उनीहरुले देशमा विखण्डनको आधार तयार पारेको हो भन्छु म त । होइन भने २ नम्बर प्रदेशका जनतामाथि किन विभेद गरियो ? मतदानको अधिकारबाट किन बञ्चित गरियो ।

मधेसमा एमालेको अवस्था कस्तो होला ?

म त भर्खर एमाले प्रवेश गर्दैछु । तर, हामीले राजपामा वा मधेसी मोर्चामै हुँदा पनि देखेको कुरा के हो भने एमालेले मधेसमा भावनात्मक क्षति व्यहोरेको छ, तर सांगाठिक र जनमतको आधार भत्किएको छैन । अहिले त धेरैले विस्तारै बुझ्न थाले ।

एमाले विरुद्ध आन्दोलनका बेला नभएका कुरा पो आरोप लगाएका रहेछन् भनेर धेरै मान्छे एमाले प्रवेश गर्न थालेका छन् । केपी ओली सरकारको पालामा मधेसको पूर्वाधार र सामाजिक विकासमा लगाएको बजेटको बारेमा मधेसमा बल्ल छलफल शुरु भएको छ । मलाई लाग्छ २ नम्बर प्रदेशमा एमाले पहिलो हुनेछ ।

अहिले मधेसमा धेरै नेताहरु टिकट पाउने शर्तमा एमाले प्रवेश गरिरहेका छन, तपाई पनि अब असोजमा हुने चुनावमा उम्मेदवार बन्ने गरि एमाले प्रवेश गर्नुभएको हो ?

होइन बिल्कुल होइन । म स्थानीय चुनाव लड्ने होइन । अहिले तत्कालै केही चाहियो भनेर मागेर आएको पनि होइन । बिनाशर्त एमाले प्रवेश गरेकी हुँ ।

मधेसको अधिकार, मधेसी जनता र मधेसी महिलाको पक्षमा एमालेमा रहेर काम गर्नका लागि आएकी हुँ । अब चुनाव लड्दा सांसदकै लड्ने हो । पार्टीमा उपयुक्त जिम्मेवारी दिने भनेर अध्यक्ष केपी ओलीले नै भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment