Comments Add Comment

बोइङ खरिदका लागि म्याद गुज्रेपछि आवेदन, फेरि टेन्डर खोलिने


५ असार , काठमाडौं । नेपाल बायु सेवा निगमको बि ७५७-२०० बोइङ लिलामीमा राखिएको लामो सयम बितेको छ । सो बोइङ खरिदका लागि गत जेठ ३० गते एक आवेदन पर्‍यो तर टेण्डरको म्याद नाघिसकेपछि ।

जेठ २९ गतेसम्म म्याद राखेर नेपाल बायु सेवा निगमले गत जेठ १५ गते सुचना निकालेको थियो । बोइङ लिलामीका लागि जारी गरेको यो दोस्रो सूचना थियो । पहिलो सुचनामा कुनै पनि आवेदन नपरेपछि दोस्रो पटक पुन टेण्डर खोलिएको थियो ।

नेपाल बायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले यो आबेदन म्याद नाघेर आएकाले प्रक्रिया अघि नबढाउने बताए ।

उनले भने, ‘म्याद नाघेर आएको आवदेन रहेछ, त्यसैले यसको प्रक्रिया अघि बढाउन मिल्दैन, अब के गर्ने भनेर सोच्दैछौं।’

निगम अब पुन टेण्डर आहृवान गर्ने सोचमा छ । चैत महिनामै पहिलोपटक यसको टेन्डर खोलिएको थियो । आवेदन नपरेपछि पुन टेण्डर आहृवान गरिएको थियो ।

बि ७५७-२०० बिमान नेपालमा ९ एन एसिएमा दर्ता भएको छ । यो बिमान सन् १९८७ को सेप्टेम्बरमा निर्माण भएको हो भने यसले अहिलेसम्म ८६ हजार ४ सय १० घन्टा उडान भरेेको छ ।

२०७२ सालको चैतदेखि यो बिमान ग्राउण्डेड भएर बसेको छ । १९८७ मा खरिद गरिएको यो बिमान धेरै खर्चिलो भएपछि यो नचलाई राख्ने र बेच्ने निर्णय गरिएको थियो ।

निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले भने, ‘मर्मत खर्च बढ्दै गयो, लागत अनुसारको नाफा हुन सकेन, त्यसैले बेच्न लागेका हौ ।’

निगमले बिमान खरिद गर्न चाहनेका लागि न्युनतम रकम भने तोकिदिएको छ । निगमका अनुसार खरिद गर्न चाहनेले १.७१ मिलियन अमेरीकी डलर अर्थात १७ लाख अमेरीकी डलर अर्थात १७ करोड रुपैयाँभन्दा माथिको प्रस्ताव हाल्नु पर्छ ।

जहाजलाई डेढ/डेढ वर्षमा नियमित हेभी मर्मत गराईन्छ । यसरी हेभि मर्मत गराउँदा जहाजमा बिग्रेका सबै पार्टपुर्जा मर्मतका साथै आवश्यकता अनुसार पार्टपुर्जा फेर्ने पनि गरिन्छ । यसरी हेभि मर्मत गर्दा यो जहाजले खर्च बढाउँदै लग्यो ।

मर्मत गरेको खर्च अनुसारको पनि नाफा नआउने देखेपछि अन्तत निगमले जहाज लिलामीमा राखेको हो ।
सन् २०१५ को सुरुवातसम्म नेपाल एयरलाइन्ससँग दुईवटा बोइङ थिए । सोही वर्षको फेब्रुअरी र अप्रिलमा दुईवटा ए ३२० एयरबस थप गरेपछि नेपाल एयरलाइन्ससँग ४ वटा विमान भए ।

नेपाल एयरलाइन्ससँग अहिले जहाज थोरै छन् । दुईवटा बोइङमध्ये एउटा लिलामी गरेर बेच्न लागिएको छ भने अर्काे मर्मतको लागि सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा पठाउन लागिएकेा छ । यसको हेभि मर्मत गर्न लागिएको छ ।

अहिले निगमले दुईवटा वाइडबडी एयरबस पनि खरिद गर्न लागेको छ । जुन सन् २०१८ को मे सम्ममा ल्याउने निगमको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment