Comments Add Comment

पाँच सय ७४ वर्ष पुरानो पर्यटकीयस्थल ज्यामरुककोट ओझेलमा


५ असार, बेनी (म्याग्दी),बेनी (म्याग्दी) । पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विकस्थल सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण ओझेलमा परेको छ ।

सदरमुकाम बेनीबजारदेखि करिब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १५ वटाभन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

ज्यामरुककोटको इतिहास १५ औँ शताब्दीको विरासतसँग जोडिएको छ । १५औँ शताब्दीको प्रारम्भसँगै थापाले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोटमा रहेको (खड्गभवानी कोत)का दुर्लभ हातहतियार र अभिलेखको यसको ऐतिहासिक महत्वलाई स्पष्टसँग बुझाएका छन् ।

ज्यामरुककोटमा विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका र विसं १५४५ को भदौ महिनामा थापाको पुख्यौली थलो मानिएको ताकम डिम्वमल्लले कब्जा गरेपछि ज्यामरुककोट, पुलाचौर, कुहु र राखुका थापाराजाले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको इतिहासमा उल्लेख भएको बेनी नगरपालिका–२ ज्यामरुककोटका नवनिर्वाचित वडाअध्यक्ष हीराबहादुर थापाले बताए ।

स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधिविहीन रहेकाले सम्भावना हुँदाहुँदै पनि विकास हुन नसकेको बताउँदै बेनी नगरपालिका–२ ज्यामरुककोटका नवनिर्वाचित वडा अध्यक्ष थापाले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीयस्थलको विकास गर्ने रहेको बताए । “खबराको लम्बीहिललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने मेरो पहिलो प्राथमिकता हो,” थापाले भने “त्योसँगै ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको खड्ग भवानी कोतमा पनि पूर्वाधार विकास गरी पर्यटकीय क्षेत्र बनाउने पहल हुने छ ।”

करिब पाँच रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाको ताम्रपत्रमा अङ्कित इतिहास, तोप, खुँडा, तरबारलगायतका हातहतियार, प्राचीन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा रहेका छन् ।

कोटडाँडोसम्म मोटर बाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्नसक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवी एवम् खड्ग भवानी कोत संरक्षण एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए । त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ ।

“आग्र्यानिक खेती, ठूलाखोलाबाट ल्याइएको चिसो पानी, विभिन्न पक्षी, मह, भटमास, कालोदाल, स्थानीय जातका खसी, कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, वनढुकुर र वन कुखुरो, तरुल, भ्याकुर र सखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् । विभिन्न जातजातिले आफ्नो जातीय पहिचानका झलक देखाउने, नृत्य प्रस्तुत गर्ने र सामाजिक सद्भावलाई कायम गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने गरेको राधाकृष्ण युवा क्लबका सल्लाहाकार कृष्णबहादुर कार्कीले बताए ।

ज्यामरुककोटको खड्ग भवानी कोतमा रहेका पुराना हातहतियारको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी, भाला, तरबार, ढाललगायतका औजारमा खिया लागेको छ भने कोट परिसर युवायुवतीको क्रिडास्थल र केही टाठाबाठाको व्यक्तिगत सम्पत्तिजस्तै बनेको स्थानीय बासिन्दा यामबहादुर कार्कीले बताए।

जिल्ला सदरमुकाम बेनीबजारदेखि चार किमीको दूरीमा रहेको भए पनि कसैले ध्यान दिन नसक्दा पश्चिम नेपालकै एक ऐतिहासिक स्थल गुमनाम रहेको अर्जन मावि भकुण्डेका प्रधानाध्यापक शिवकुमार खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment