Comments Add Comment

तिङ्लाबासीको ‘नो भोट’ आन्दोलनमा बलवहादुरले बल प्रयोग गरेपछि…..

अपहरित भनिएका व्यक्ति कांग्रेसको उम्मेदवार बनेपछि २ जना स्वतन्त्र उम्मेदवार खडा

५ असार, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकास्थित तिङ्लाबासीले स्थानीय चुनावमा ‘नो भोट’को सामूहिक निर्णय गरेका छन् ।

तर, नेपाली कांग्रेस नेता बलवहादुर केसीले गाउँकै कांग्रेस कार्यकर्ता टंकवहादुर कार्कीको अपहरणको नाटक रचेर गाउँलेलाई पक्राउ गराएको भन्दै स्थानीयले आन्दोलन थालेका छन् ।

कांग्रेस कार्यकर्ता टंकवहादुर कार्कीको अपहरण गरेको आरोपमा प्रहरीले स्थानीय ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाका रिहाई र कथित अपहरणको यथार्थ सार्वजनिक गर्न माग गर्दै तिङ्लाबासीले सोमबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले भने अपहरणको आरोपमा नभई अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बताएको छ । अपहरणमा परेको भनिएका टंकवहादुर कार्की सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

सदरमुकाम नजिकै रहेर पनि तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा नराखी नेचासल्यानमा राखेको र गाउँपालिका केन्द्र पनि अपायक पारेको भन्दै तिङ्लाबासीले संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका थिए । संघर्ष समितिमा सबै दलका स्थानीय कार्यकर्ता रहेका छन् । उनीहरुले सामुहिक रुपमै नो भोट मार्फत अशन्तुष्टि जनाउने निर्णय गरेका थिए ।
तर, आइतवार कांग्रेस नेता बलवहादुर केसी सुटुक्क गाउँ पसे र तिङ्लाका टंकवहादुर कार्कीलाई कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनाउन लगेपछि विवाद भएको थियो ।

नेचा सल्यानको वडा नम्बर ६ मा पर्ने तिङ्लामा उम्मेदवार दर्ता गर्न जाने क्रममा संघर्ष समितिका व्यक्तिहरुले केसीलाई घेरा हालेका थिए । केसीले भने आफूमाथि हातपात गरेर टंकवहादुरलाई एमाले र माओवादीका कार्यकर्ताले अपहरण गरेको आरोप लगाए ।
उनले अनलाइनखबरसँग भने-तिङ्लामा संघर्ष समिति बनेको भन्ने मलाई थाहा छैन । टंकवहादुरलाई थुतेर लगेका हुन् । मलाई पनि हातपात गरे । टंकबहादुरले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।’

संघर्ष समितिका सदस्य मानवहादुर कटुवालले भने टंकवहादुर कार्कीलाई बलवहादुर केसीले नै लुकाएर राखेको दाबी गरे । उनले उम्मेदवारी मनोनयन फिर्ता लिने म्याद नसकिएसम्म केसीले टंकवहादुरलाई लुकाएर आफूहरुमाथि अपहरणको आरोप लगाएको बताए ।

यता कांग्रेसले टंकवहादुरलाई संघर्ष समितिबाट चोरेर उम्मेदवार खडा गरेपछि तिङ्लाबाट ज्ञानवहादुर राई र हर्कवहादुर विकले पनि स्वतन्त्र वडाध्यक्षको उम्मेदवारी दिएका छन् ।

उनीहरु कुनै पार्टीमा आबद्ध छैनन् । कांग्रेसले गाउँलेलाई फुटाएर निर्विरोध वडाध्यक्ष हुन खोजेपछि उनीहरुले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । संघर्ष समितिले भने तीनैजनाको उम्मेदवारी फिर्ताको दबाव दिएको छ ।

के हो तिङ्लाको विवाद ?

तिङला पहिले सिंगै गाविस थियो । अहिले नेचासल्यान गाउँपालिकाको वडा नम्बर ६ बनेको छ । स्थानीय तहको सीमांकनलाई लिएर तिङला असन्तुष्ट छ । स्थानीय तह पुनर्संरचनाका क्रममा नेपाली कांग्रेस बाहेकका दलले तिङलालाई सदरमुकाम रहेको सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने मत राखेका थिए । र, त्यही सिफारिस भएको थियो ।

तर, कांग्रेसले त्यसमा सहमति जनाएन । आयोगले पनि कांग्रेसको माग अनुसार नेचासल्यानतिरै राख्यो । यसको विरोधमा स्थानीयबासीले संघर्ष समिति बनाएर ५/६ महिनादेखि आन्दोलन पनि गर्दै आएका थिए ।

तिङला गाउँबाट सदरमुकाम झण्डै आधा घन्टाको दुरीमा छ । तर, नेचासल्यान गाउँपालिकाको कार्यालय डेढ/दुई घन्टाको दुरीमा छ । त्यसैले यो मागमा गाउँबासीहरु सबै एक छन् । साथै स्थानीय चुनावमा त्यहाँ ‘नो भोट’ अभियान समेत चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment