Comments Add Comment

नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी

यस्ता छन् प्रमुख दलका उम्मेदवार

 


५ असार, नेपालगञ्ज । पश्चिम नेपालको प्राचीन शहर नेपालगञ्ज उपमहानगरपालिका आजभन्दा २० वर्ष पहिले जो व्यक्ति मेयर थिए, उनै व्यक्ति अहिले फेरि मेयरमा उठेका छन् । २० वर्षअघि उपमेयर चलाएका व्यक्ति अहिले मेयरको दाबेदार बनेका छन् । साथै, दुई दशक पहिलेका ८ जना वडाअध्यक्षहरु अहिले फेरि वडाध्यक्षमा भिड्दै छन् ।
तत्कालीन नेपालगञ्ज नगरपालिकामा ०४९ मा कांग्रेसका बिजय गुप्ताले मेयरमा जितेका थिए । उनी अहिले राष्ट्रिय जनता पार्टी नेपालमा छन् ।नेपालगञ्जको रोचक पक्ष नै यही हो कि ०५४ सालमा मेयर र उपमेयरको कुर्सीमा बसेकाहरु अहिले फेरि पुरानो अनुभवका आधारमा उपमहानगरपालिका चलाउने दाउमा छन् ।

त्यस्तै, ०५४ मा एमालेका तर्फबाट धवल शमसेर मेयर र समसुद्धिन सिद्धिकीले उपमेयर जितेका थिए । अहिले धवलशमसेर राप्रपाबाट मेयरका उम्मेदवार छन् भने सिद्धिकी एमालेबाट मेयर उम्मेदवार छन् । ०५४ मा धवल शमसेरसँगै जितेका ८ जना वडाध्यक्षहरु अहिले एमालेबाट पुनः सोही पदका उम्मेदवार छन् ।

पञ्चकोणात्मक प्रतिस्पर्धा

अन्यत्रको चुनावमा भन्दा नेपालगञ्जमा भिन्न ढंगको प्रतिस्पर्धा छ । प्रायः ठाउँमा दुईपक्षीय वा त्रिपक्षीय प्रतिस्पर्धा भइरहँदा नेपालगञ्जमा भने पाँच पक्षीय प्रतिस्पर्धा देखिन्छ ।

माओवादीले पार्टी संगठनको बलमा भन्दा पनि मेयर उम्मेदवारको लोकप्रियताका कारण प्रतिस्पर्धामा आफ्नो उपस्थिति बलियो रहेको बताउँदैछ । राप्रपा र संघीय समाजवादी फोरम पनि कडा प्रतिस्पर्धामा देखिएका छन् । कांग्रेस र एमाले दुबै दलहरु त झनै मुख्य प्रतिस्पर्धी हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको संयोग यो पनि हो कि प्रायः सबै मेयरका उम्मेदवार धनाड्य व्यवसायी छन् ।

नेपाली कांग्रेसका मेयरका प्रत्यासी डा. सुरेशकुमार कनोडिया मेडिकल कलेज नेपालगञ्जका सञ्चालक तथा मेडिकल ईक्युपमेन्टका चर्चित व्यवसायी हुन् ।

एमालेका समशुद्दिन सिद्दिकी खेल क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । नेपालगञ्जका पूर्वउपमेयर समेत रहेका सिद्दिकी भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी हुन् ।

माओवादी केन्द्रका उम्मेदवार दामोदर आचार्य नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका डा. धवलशम्शेर राणाको होटल तथा विद्यालयमा लगानी रहेको छ । उनी ०५४ सालमा नेपालगञ्जको मेयरमा विजयी भएका थिए ।

संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेदवार कमरुद्दिन राईको अटो रिक्सा तथा भन्सार क्लियरिङ्ग व्यवसाय सञ्चालनमा छ ।

त्यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रितु शाही र नयाँ शक्तिबाट जगतकुमारी खड्काले उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।

नेपालगञ्जको चुनावी परिणाम सधैं एकनास हुने गरेको छैन । नगर क्षेत्र समेटिएको संसदीय क्षेत्रमा ०४८ मा कांग्रेसले संसदीय चुनाव जितेको थियो । ०५१ मा राप्रपाले जित्यो भने ०५४ मा नगर चुनाव एमालेले जित्यो ।

यहाँबाट फेरि ०५६ को संसदीय चुनावमा कांग्रेसकै सुशील कोइरालाले जितेका थिए भने ०६४ मा फोरमका सर्वदेव ओझाले जिते । ०७० सालको दोस्रो संविधानसभामा नगर क्षेत्र समेटिएको २ नम्बरमा एमालेका दिनेशचन्द्र यादव र ३ मा कांग्रेसका सुशील कोइराला बिजयी भएका थिए ।

जातीय र धार्मिक सन्तुलन

सबै दलका उपमेयर उम्मेदवार महिला छन् । कांग्रेसले पत्रकार उमा थापा मगरलाई उपमेयरमा उठाएको छ । एमालेले जिल्ला नेतृ शान्ति ढकाललाई खडा गरेको छ ।

राप्रपाले रमारानी वैश्य, माओवादीले कलामुन अन्सारी र संघीय फोरमले शोभा लखेरलाई उपमेयर उम्मेदवार बनाएको छ ।

मेयर र उपमेयमार सकेसम्म दलहरुले जातीय र धार्मिक सन्तुलन मिलाउन खोजेका छन् । कांग्रेसले मारवाडी समुदायबाट मेयर उठाएपछि उपमेयरमा आदिवासी जनजातिबाट उम्मेदवारी दिएको छ । एमालेले मुस्लिम समुदायबाट मेयरमा उम्मेदवार उठाएको छ भने उपमेयरमा पहाडे हिन्दू परिवारकी शान्ति ढकाललाई उपमेयरमा खडा गरेको छ ।

माओवादीले पनि मुस्लिमलाई उपमेयर दिएको छ ।

मुस्लिम भर्सेस वैश्य र गायत्री फ्याक्टर

नेपालगञ्जमा पार्टीगत रुपमा पाँचपक्षीय प्रतिस्पर्धा रहे पनि यहाँको हारजितमा केही धार्मिक र जातीय फ्याक्टरले पनि निणर्ायक भूमिका खेल्न सक्छन् । उम्मेदवारहरुको ध्यान पनि निर्णायक भोट बैंकतिरै केन्दि्रत छ ।

नेपालगञ्जमा मुस्लिम मत निर्णायक हुन सक्छ । एमाले र फोरमका उम्मेदवार मुस्लिम भएकाले मुस्लिम मत काटिने र प्रतिवद्ध मुस्लिम भोट पाएर जित्ने विश्वास कांग्रेसको छ ।

मुस्लिम समुदायका अगुवा र प्रभावशाली व्यक्तिहरु अहिले कतै पनि खुलेका छैनन् । कसलाई मत दिने भन्ने निर्णय मस्जिदका अगुवा र मौलानाहरुले गर्ने भएकाले उनीहरुको मत कसलाई जान्छ भन्ने अझै टुंगो छैन ।

त्यस्तै यहाँ ‘बनियाँ’ फ्याक्टर पनि छ । वैश्य समाजले बनियाँको भोटलाई प्रभावित पार्न सक्छ । वैश्य समाज पनि अहिलेसम्म कतै खुलेको छैन । हुन त वैश्य समाजबाटै राप्रपाले उपमेयर उम्मेदवार दिएको छ, तर राप्रपाको उपस्थिति यो समुदायमा कमजोर छ ।

एक हजार देखि १२ सय मत प्रभावित पार्ने गायत्री परिवार पनि नेपालगञ्ज उपमहानगरमा छन् । यो समुदायबाट फोरमले शोभादेवी लखेललाई उपमेयर बनाएको छ । यस्ता फ्याक्टरले नेपालगञ्जको चुनावलाई प्रभावित पार्न सक्छन् ।

फोरमका उम्मेदवार भन्दा एमालेका उम्मेदवार हेबिवेट र प्रतिस्पर्धामा जित्नेखालका रहेकाले मुस्लिम समुदायले अन्तिममा एकोहोरो मत खन्याउन सक्ने भय पनि विपक्षीलाई छ ।

मुस्लिम फ्याक्टरमा एमाले हाबी हुन खोजेकाले कांग्रेसले बनियाँ फ्याक्टरमा आफ्नो उपस्थिति बनाउन खोजेको छ । तर, कांग्रेसका सुरेन्द्र हमालले टिकट नपाएपछि बनियाँ फ्याक्टरमा माओवादीका दामोदर आचार्य हाबी हुन सक्छन् ।

दामोदर आचार्य व्यापारीबीच लोकप्रिय व्यक्ति हुन् । नेपालगञ्ज व्यापार संघमा उनले लामो समय नेतृत्व गरे र अहिले पनि उनले भनेका व्यक्ति नन्दलाल वैश्यले जितेका छन् ।

नन्दलाल कांग्रेस निकट भए पनि उनले दामोदरलाई टाढा राख्न सक्दैनन् । त्यसैले बैश्य अर्थात बनियाँ फ्याक्टर यसपटक बिभाजित भएर मतदानमा जान सक्छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा सबै उम्मेदवार ढुक्क छन् तर कोही पनि आफ्नो जितप्रति विश्वस्त पनि छैनन् । किनकि सबैका आ-आफ्नो सबल र दुर्वल पक्ष छन् ।

यद्यपि कांग्रेसका सुरेश कनोडिया र एमालेका समसुद्धिन सिद्धिकी सांगठानिक हिसाबमा कडा टक्करमा छन् । उनीहरुलाई राप्रपाका धवल शमसेर, माओवादीका दामोदर आचार्य र फोरमका कमरुद्धिन राईले चुनौती दिइरहेका छन् ।

प्रदेश नं. ६ र ७ को समेत प्रवेशद्वारको रुपमा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा ६२ हजार ५ सय ३० मतदाता छन् । जयसपुर, पिप्रहवा, भवानियापुर, कारकाँदो र हिरमिनियाको ७ नं. वडा क्षेत्र नं. २ बाट नगरमा गाभेर उप-महानगर बनाइएको हो ।

यो उपमहानगर बाँकेको मात्र नभएर केन्द्रीय राजनीतिको समेत चासो र प्रतिष्ठाको विषय बनेको छ । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र भएकाले पनि नेपाली कांग्रेसका लागि उच्च प्रतिष्ठाको विषय बनेको छ ।

यो क्षेत्रबाट एमालेका दिनेशचन्द्र यादवले ०७० को निर्वाचन जितेका थिए । त्यसैले एमालेका लागि पनि नेपालगञ्ज चासोको
स्थानीय तह हो ।

समग्रमा नेपालगञ्ज उप-महानगरमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरमबीच नै कडा प्रतिस्पर्दा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment