बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

इशिका, बिहेको अनिवार्यता मलाई पनि स्वीकार छैन

राधा पोखरेल

प्रिय इशिका,

मैले तिम्रो इमेल पाएँ । दोहोर्‍याई-तेहेर्‍याई धेरैचोटि पढेँ । लागेको थियो- सात समुद्रपारि पक्कै पनि शान्तसँग बाँचेकी हौली । बोस्टनको व्यस्त शहरमा आ-आफ्नै लयमा ढकमक्क फुलिरहेका शिरीषका रङ्गीन फूलहरूसँग मन फुकाएर हाँसेकी हौली । तर, तिमी त मनमा समुद्रको अशान्त छाल बोकेर पो बाँचेकी रै’छौ !
इशिका ! तिम्रो सौन्दर्यमा भुनभुनाउने भँवराहरू कम भए होलान् भनेको त अझ झन् पो बढेछन् । तिम्रो सुशीलता पहिचान गरेका पारखीहरू तिमी फर्कने बाटोमा आँखा बिछ्याएर यता विक्षिप्त बनिरहेकै छन् । यता तिम्रो घरपरिवार, तिम्रो सौन्दर्य र सुशीलतामाथि जति गर्व गरिरहेका छन्, त्यो भन्दा बढी तिमीमाथि आशंका गरिरहेका छन् । उनीहरूलाई तिम्रो जीवन र भविष्यभन्दा आफ्नो इज्जत र प्रतिष्ठाको धेरै पीर छ ।प्रिय सखी ! तिम्रो इमेल पढेपछि मेरो मनको तलाउमा पनि ज्वारभाटा उठिरहेको छ । भावनाका उत्ताल छालहरू छचल्किरहेका छन् । शब्दमा भए पनि आज म तिमीसँग बेस्सरी पोखिन चाहन्छु । म चाहन्छु, मेरा शब्दहरूले तिमीलाई झन् सकस नथपोस् । तिम्रा लागि मेरा शब्दहरू आगोका झिल्का नबनून्, शीतका शीतल थोपा बनून् ।

साँच्चै इशिका ! हामी नारीका लागि सबभन्दा ठूलो शत्रु नै हाम्रो सुन्दरता रहेछ है ! राम्री हुनु तिम्रो अपराध हो र  ? यदि होइन भने तिमी किन करिब एक दशकदेखि दण्डित भइरहेकी छौ ? किन अत्यासलाग्दा एम्बुसहरूमा परिरहेकी छौ ? विकल्प खोज्ने क्रममा अनेक एम्बुसहरू छल्दै नेपालबाट अमेरिकासम्म पुग्यौ । तैपनि तिमीले पार पाएकी रैनछौ ।

तिमीले उमेरले डाँडा काट्दै गरेका बाबा र आमासँग पनि चित्त दु:खाएकी रै’छौ ।

हेर इशिका ! अभिभावकहरूमा आफू स्वर्गवास हुनुभन्दा अगाडि आफ्नो सन्तानको सुख हेर्ने चाहना हुनु स्वाभाविकै हो । तिमी घरकी कान्छी छोरी । अभावको ‘अ’ पनि आजसम्म नबेहोरेकी । अझ त्यसमाथि ओपन हार्ट सर्जरी गरेकी । तिम्रोबारेमा उहाँहरूलाई चिन्ता नबढे कसलाई बढ्छ त ? फेरि परम्परागत समाजमा सन्तानको बिहे गरिदिनु अभिभावकको दायित्वभित्रै त पर्छ । दायित्व पूरा गर्न खोज्नुभएकोमा सम्मान प्रकट गर उहाँहरूप्रति ।

इशिका, मेरो विचारमा प्रेम, विवाह र यौन व्यक्तिको निजी मामिला हो । समाजको चेतनासँगसँगै प्रेम, विवाह र यौनसम्बन्धी धारणामा पनि परिवर्तन आइरहेको छ । निजी सम्पत्तिको विकाससँगै जन्म भएको विवाह कर्म सायद निजी सम्पत्तिको अन्त्यसँगै अन्त्य हुन्छ होला । म मान्दछु- विवाह सामाजिक आवश्यकता हो । तर, सामाजिक आवश्यकताको वेदीमा व्यक्ति बलि चढ्नैपर्छ भन्ने अनिवार्यता केही छैन ।

लेखेकी रै’छौ- “म विवाह विरोधी होइन । तर, विवाहको अनिवार्यता पनि स्वीकार गर्दिनँ ।”

ठीक हो इशिका ! तिम्रो कुरासँग शत: प्रतिशत सहमत छु म । त्यसैले त मैले पनि भनिरहेकी छु- विवाह सामाजिक आवश्यकता हुँदाहुँदै पनि व्यक्तिको निजी मामिला हो र हुनुपर्छ ।

एक-अर्काप्रति प्रेमभाव पैदा हुनु र दुवैको मन मिल्छ भने विवाह गर्नु स्वाभाविक हो । तिमीलाई थाहा छँदै छ नि इशिका, हाम्रो आमा पुस्तामा विवाहपूर्व गरिने प्रेमलाई समाजले अपराध ठान्थ्यो । तर, अहिले समाज फेरिएको छ । विवाहपूर्व गरिने प्रेमलाई अपराध होइन, अधिकारको रूपमा समाजले नै स्वीकृति दिन थालेको छ । समयले आमा पुस्तालाई परिवर्तन गराइरहेको छ । होइन र ?

इमेलमा लेखेकी रै’छौ- “म पनि यही समाजमा जन्मी-हुर्की गरेकी एउटी सामान्य केटी हुँ । नेपाली समाजमा सामान्य केटीहरूमा जे सपना हुन्छ, मभित्र पनि त्यो सपना थियो । तर, अहिले मेरो सपना अलि फरक छ । मेरो शारीरिक कारणले गर्दा बिस्तारै म मानसिक रूपमा अर्कै ठाउँमा पुग्दै छु । ओपन हार्ट सर्जरी गरेको केटीलाई विवाह गर्न त्यति सजिलो रैनछ ।

मेरो जीवनमा दुई पटक यस्तो घटना घट्यो, जुन म सहजै बिर्सिन सक्दिनँ । ०६१ माघ ६ गते म मरेर बाँचेँ भने ०७३ माघ १ गते म बाँचेर मरेकी छु । अहिलेलाई बस् यति नै भनूँ ।

नढाँटी भन्नुपर्दा नाफामा प्राप्त यो जिन्दगीलाई स्वतन्त्रतापूर्वक भरपूर आनन्दी मनले समाजसेवा गर्न चाहन्छु । बन्धनयुक्त वैराग्यपूर्ण जिन्दगी स्वीकार्य छैन मलाई । यसको मतलब भिक्षुणी मेरो आदर्श पनि होइन । म स्वतन्त्रताको आकाशमा संघर्षको पखेटा फट्फटाएर निर्बन्ध कावा खान चाहन्छु । कसैको लागि म मेरो स्वतन्त्रता बन्धक राख्न सक्दिनँ ।

मलाई मेरा अभिभावकहरू जबर्जस्ती डोली चढाउन चाहन्छन् । तर, म विवाहको लागि तयार छैन । यसको अर्थ मैले आजीवन अविवाहित बस्ने कसम पनि खाएकी छैन ।

यस स्वार्थी संसारमा निस्स्वार्थ माया पाइएला-नपाइएला, मलाई थाहा छैन । तर, स्वार्थ घोलिएको माया म स्विकार्न सक्दिनँ । मेरो मान्यता छ- मायामा कुनै स्वार्थ र शर्त हुनुहुँदैन । मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको तहमा स्वीकार गर्नु हो । त्यसैले म शर्त र स्वार्थभन्दा माथि उठेको सच्चा माया चाहन्छु ।

माया यस्तो होस्- सम्झँदा मात्र पनि मन आह्लादित होस्, आनन्दित होस्,पल्लवित होस्, अनि जीवनलाई नै उत्प्रेरित र ऊर्जाशील गराउन सकोस् । मलाई लाग्छ- हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गतिको  नाम हो प्रेम ।”

वाह साथी वाह ! क्या बात !! तिमीले त मेरै मनको कुरा जस्ताको तस्तै भन्यौ । धन्यवाद तिमीलाई !

इशिका,
तिमी त दुई वर्षदेखि अमेरिका छौ । नारी-पुरूष समानता भएको खुला समाजलाई पनि नजिकबाट नियालिरहेकी छौ । के-के फरक रहेछ हाम्रो र उनीहरूको समाजमा ? तिम्रो भोगाइ अर्को इमेलमा लेख्न पक्कै बिर्सनेछैनौ ।

साथी, तिमीलाई थाहा छँदैछ हाम्रो यो समाजले नारी पनि एउटा स्वतन्त्र वृक्ष हो, जो अरूको सहयोगविना पनि एक्लै उभिन सक्छे भनेर अझैसम्म विश्वास गर्न सकेको छैन । नारी भनेको लहरा हो, जसको अस्तित्व रूखबिना सम्भव छैन भन्ने मानसिकता बाँकी नै छ ।

प्रिय पाठकहरू,
इमेलको अन्तमा मेरो प्रिय सखी इशिकाले लेखेकी छन्- “मेरा श्रद्धेय बाबा-आमा र आदरणीय आफन्तजनहरूसँग अनुरोध छ- मलाई जन्माउनु र हुर्काउनु त भयो, अब मलाई स्वतन्त्र जीवन पनि दिनुहोस् । अनि स्वतन्त्र जीवन संकटमा परेका हजारौं-लाखौं साथीलाई पनि मेरो अनुरोध छ- सुनकै भए पनि आखिर पिँजडा भनेको पिँजडा नै हो । सुनको पिँजडाभित्र स्वतन्त्रता बन्धक राखेर जिउनु अन्ततः मृत्यु स्वीकार गर्नु सरह हो । त्यसैले आउनुहोस् स्वतन्त्रताको लागि संघर्ष गरौं ।”

अन्तमा,
इशिका ! म त सहमत भएँ तिमीसँग । बरू चाँडै नेपाल फर्क । तिमी र म जस्तै भोगाइका समानता भएका लाखौं लाख साथीहरूसँग स्वतन्त्रताको नयाँ संघर्ष सुरू गरौं ।

उही तिम्री राधा ।

२०७४ असार ६ गते २:५० मा प्रकाशित (२०७४ असार ५ गते १८:५१मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • Ram Prasad Pant लेख्नुहुन्छ    |   २०७४ असार ६ गते १२:५४

    okay

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this