Comments Add Comment

बिराटनगरका मेयर उम्मेदवार उमेश यादवः मधेसको छोरो, पहाडको ज्वाइँ !

'एक्लै जितिन्थ्यो, मिलेपछि झन सजिलो भयो'

६ असार, बिराटनगर । संघीय समाजवादी फोरमबाट बिराटनगर महानगरपालिकामा मेयरका उम्मेदवार बनेका छन् ४३ वर्षीय उमेश यादव । उनी झण्डै २० वर्ष कांग्रेसको राजनीति गरेका नेता हुन् । अहिले महानगरमा कांग्रेससँगै भिड्दैछन् ।

गत संविधानसभा चुनावमा मोरङमा दोस्रो शक्तिका रुपमा स्थापित भएको थियो फोरम । त्यतिबेला कांग्रेसलाई कडा टक्कर दिएको यो पार्टीलाई स्थानीय चुनावमा पनि बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

माओवादी केन्द्रसँगको तालमेलले यादवको उम्मेदवारीलाई थप बलियो बनाएको छ । माओवादीले उपमेयर लिएर फोरमलाई मेयरमा सघाउने गरी तालमेल भएको छ ।

को हुन् उमेश यादव ?

यादवको जन्म तत्कालीन बिराटनगर नगरपालिका वडा नम्बर १८ स्थित जतुवा गाउँमा ०३१ सालमा भएको हो ।

उनको बाल्यकाल सामान्य रुपमा बित्यो । जग्गा-जमिन प्रशस्त भएकाले (अहिले पनि महानगरपालिकाभित्र उनको झण्डै ३० बिगाह जग्गा छ) खान-लाउन दुःख थिएन । पढाइमा तेज थिए । १० कक्षासम्म फर्स्ट वा सेकेन्ड हुन्थे ।

उमेशका बुबा कांग्रेसका स्थानीय नेता थिए । उनलाई सम्झना छ, ३६ सालको आन्दोलनका बेला बुवा राति-राति घर छोडेर कांग्रेसको प्रचारमा हिँड्ने गरेको । त्यही बेलादेखि उमेशमा कांग्रेस पार्टीको छाप परेको थियो, जुन मेटिन निकै लामो समय लाग्यो ।

यादवले एसएलसी दिएकै वर्ष ०४६ सालको आन्दोलन भयो । सो आन्दोलन उनको राजनीतिक जीवनको पहिलो खुड्किलो बन्यो । ०४६ को आन्दोलनमा आफू सक्रिय सहभागी बनेको यादव बताउँछन् । आन्दोलन सफल भएर प्रजातन्त्र आयो, सँगै उनले एसएलसी पास गरेर फलामे ढोका उघारे ।

सेकेन्ड डिभिजनमा एसएलसी पास गरेपछि उनी बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा आइकममा भर्ना भए । त्यतिबेला उनको उद्देश्य थियो, पढाइमा राम्रो नतिजा ल्याएर सरकारी जागिर खाने । विकल्पमा उनले बिजनेस म्यान बन्ने पनि सोचेका थिए । तर, अन्ततः यी उद्देश्य दुबै सोचाइ काम लागेनन् ।

आइकम पढ्ने क्रममा नै उनी नेविसंघको राजनीतिमा हेलिए । पढाइ र राजनीतिलाई एक साथ अगाडि बढाउन खोजे । तर, पढाइ कम, राजनीति बढी हुँदै गयो । आइकम र बिकम जेनतेन पास गरे, तर मास्टर्स गर्न सकेनन् ।

‘मास्टर्स सिध्याउने ठूलो इच्छा थियो, तर परिस्थितिले साथ दिएन,’ उनी उमेश भन्छन् ।

यादवका बुबा आफ्नो छोरो राजनीतिमा लागोस् भन्ने चाहँदैनथे । त्यसैले उनले आफू राजनीतिमा लागेको लामो समयसम्म बुवालाई खासै जानकारी दिएनन् ।

‘धेरैपटक पक्राउ पर्दै छुट्दै गर्थेँ,’ उनले भने, ‘परिवारलाई भने साथीकहाँ गएको भनेर ढाँट्थेँ ।’

आफू नेविसंघको जिल्लास्तरको नेता भएपछि मात्रै परिवारले थाहा पाएको उनी बताउँछन् ।

जन्मकैदबाट उम्किए

राजनीतिक यात्राका क्रममा यादव महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापति भए, ०५३ सालमा । सोही वर्ष नेविसंघ र अनेरास्ववियूको समुहबीच भएको झडपमा अखिलका एक कार्यकर्ताको मृत्यु भयो । यादवमाथि किटानी जाहेरी पर्‍यो र उनलाई जन्मकैदको सजायँ सुनाइयो ।

उनी एक वर्ष जेल बसे । एमालेको सरकार ढलेर कांग्रेस सरकार आएपछि उनको मुद्दा फिर्ता भयो ।

‘त्यो हत्यामा मेरो संलग्नता थिएन, मलाई फसाइएको थियो,’ उनी भन्छन्,- ‘आफ्नो पार्टीको सरकार आएपछि बल्ल न्याय पाएँ ।’

जेलबाट निस्केपछि यादव नेविसंघको उपाध्यक्षसम्म भए । अनि, विद्यार्थी राजनीति त्यागेर पार्टी राजनीतिमा लागे । ०५९ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य बने । कांग्रेसमा यही नै उनको माथिल्लो ग्रेड थियो ।

कांग्रेसबाट फोरममा

विसं. ०६२/६३ को जनआन्दोलन सफल भएपछि मधेस तात्यो । त्यही बीचमा कांग्रेसबाट विद्रोह गरेर मधेसी जनअधिकार फोरममा प्रवेश गर्ने विजय गच्छदार नेतृत्वको समूहमा उमेश यादव पनि सहभागी भए ।

कांग्रेस त्याग्नुको कारण सोध्दा यादव भन्छन्, ‘त्यतिबेला परिस्थिति नै त्यस्तै थियो । मधेसमा आगो बलिरहेको थियो । कांग्रेसमा बसेर मधेसको पक्षमा राजनीति गर्न सम्भव नदेखेर पार्टी बदलेँ ।’

फोरममा लागेपछि उमेश दुई कार्यकालसम्म मोरङको जिल्ला अध्यक्ष बने । अहिले उनी कुनै पदमा छैनन् । आफूलाई पार्टीको सामान्य कार्यकर्ता भन्न रुचाउँछन् ।

आफूले अहिलेसम्म निभाएको भूमिकालाई न्याय गरेर पार्टीले महानगरको मेयर पदमा टिकट दिएको उनले ठानेका छन् ।

पहाडेको ज्वाइँ !

महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा सोही जिल्लाकी ममता सुवेदीसँग यादवको ‘लभ’ पर्‍यो । ममता पनि स्थानीय कांग्रेस नेताकी छोरी थिइन् । पार्टी त मिल्यो, तर जात मिलेन ।

दुबैतर्फका परिवारलाई यो अन्तरजातीय प्रेम मञ्जुर भएन । करिब ५/६ वर्ष प्रेम गरेपछि उनीहरुले बिहे गर्ने निर्णय लिए । तर, परिवारबाट स्वीकृति नपाएपछि यादवले ०५६ सालको मंसिर ८ गते ममतालाई भगाएर काठमाडौं ल्याए ।

करिब डेढ वर्ष उनीहरु दुबैतिरका परिवार र आफन्तहरुबाट बेखबर रहे । अन्ततः परिवारको केही लागेन । ममतालाई बुहारी बनाएर भित्र्याउन बाध्य हुनुपर्‍यो ।

पहाडी-मधेसीबीच विभाजनको रेखा अहिले पनि मेटिएको छैन, बरु झन् गाढा हुँदैछ । यस्तोमा उमेश र ममताको बैबाहिक जीवन कसरी अगाडि बढिरहेको होला ?

यादव भन्छन्- ‘हामी दुबै यो सम्वन्धमा खुशी र सन्तुष्ट छौं । जात र वर्ण फरक भए पनि हाम्रो मन मिलेको छ । अहिले दुवैतर्फका परिवारको पनि कुनै गुनासो बाँकी छैन ।’

यादवले मधेसी र पहाडे समुदायवीचको अन्तरजातीय विवाह धेरै कारणले फलदायी हुने अनुभव सुनाए । र, अरुलाई पनि अन्तरजातीय बिहे गर्न सुझाव दिए ।

श्रीमान र श्रीमती मधेसी-पहाडी हुनुले अहिले चुनाव प्रचारका क्रममा यादवलाई खुब फाइदा भएको छ । उनी भन्छन्- ‘मधेसी मतदाताले मलाई आफ्नो छोरा सम्झेर माया गर्छन्, पहाडी मतदाताले ज्वाईंचेला सम्झेर स्वागत गर्छन्, दुवैतिरबाट मलाई राम्रो भोट आउँछ ।’

पहाडे समुदायहरुको बसोबास रहेको क्षेत्रमा भोट माग्न जाँदा उनले श्रीमतीलाई पनि साथै लग्ने गरेका छन् ।

आफू कहिल्यै लाभको पदमा नपुगेता पनि परिवारमा कहिल्यै आर्थिक समस्या नभोगेको यादवले बताए । ‘खेतीपाती प्रशस्त भएकाले दुःखका दिन कहिल्यै आएनन्,’ उनले भने, ‘राजनीतिक जीवनमा भने धेरै उतार चढाव भोगियो ।’

यादव दम्पत्तिका तीन सन्तान छन् । जेठो छोराले हालै एसईई पास गरे । छोरी ९ कक्षामा पढ्दैछिन् । कान्छा छोरा सानै छन् ।

एजेन्डा मिलेकाले माओवादीसँग तालमेल

‘हार्ने डरले माओवादीसँग मिल्नुभएको हो कि ?’ यादवलाई सोधियो ।

‘पटक्कै होइन,’ उनले भने- ‘नमिलेको भए पनि जित्थेँ, हाम्रा धेरै एजेन्डाहरु समान भएकाले मात्रै तालमेल गरेका हौं ।’

मेयरका दाबेदार यादवले राष्ट्रिय राजनीतिका मुद्दाहरुका साथसाथै स्थानीय एजेन्डामा पनि माओवादी र संघीय समाजवादीको समान दृष्टिकोण रहेको बताए ।
जनस्तरको कुनै पनि चुनावमा यादवको यो पहिलो अनुभव हो ।

आखिर कति भोट ल्याउने अपेक्षा गरेका छन् त उनले ?

‘बिराटनगरमा फोरम र माओवादी दुवैको राम्रो जनमत छ,’ यादवले भने, ‘मेरो कम्तिमा पनि ४० हजार भोट आउँछ ।’

यो एउटा प्राकृतिक गठवन्धन भएकाले अन्यत्रजस्तो क्रस भोटिङ नहुने विश्वास व्यक्त गरे ।

महानगरका ८० प्रतिशत मतदाता कहाँ आफू पुगिसकेको उनले जानकारी दिए । ३-४ दिनमा बाँकी मतदाताकहाँ पुग्ने उनको योजना छ । ‘जहाँ जाँदा पनि मतदाताले मलाई हौसला दिनुभएको छ, म काम गर्ने मान्छे हुँ भन्ने उहाँहरुलाई थाहा छ,’ यादवले भने ।

उनले आफ्नो प्रमुख प्रतिस्पर्धीका रुपमा कांग्रेसलाई लिएका छन् । ‘एमाले पनि बलियो छ,’ उनले भने, ‘तर, मुख्य प्रतिस्पर्धा कांग्रेससितै हुन्छ ।’

कस्तो बिराटनगर बनाउने ?

‘२० वर्षअघिको बिराटनगर नेपालको दोस्रो शक्ति केन्द्र थियो,’ बिराटनगरलाई कस्तो बनाउने भन्ने प्रश्नमा यादवले जवाफ दिए, ‘तर, कांग्रेस-एमालेको शासनकालमा यो नगर धेरै पछाडि धकेलियो । म मेयर भएँ भने पुरानो बिराटनगर फिर्ता ल्याउने छु ।’

राम्रो सोच र प्रतिवद्धताका साथ अघि बढे स्रोत-साधनको कमी नहुने यादव बताउँछन् । उनले भने, ‘हाम्रो स्रोत-साधन नभएर पछि परेका होइनौं, यसको सदुपयोग गर्न नसकेर हो ।’

यस महानगरपालिकाका हरेक समस्याहरुसँग आफू परिचित रहेको उनले बताए । ‘जनताका एजेन्डा नै मेरा एजेन्डा हुन्,’ यादवले भने ।

यस्ता छन् प्राथमिकता

फोरम-माओवादीका साझा उम्मेदवार यादवले आफ्ना प्राथमिकताका कामहरु बुँदागतरुपमा यसरी सुनाएः

१. भत्केका बाटाहरु बनाउने
२. खानेपानीको समस्या समाधान गर्ने
३. बिजुलीको पोल व्यवस्थापन गर्ने
४. सर्वसुलभ स्वास्थ्य पहुँच बनाउने
५. गरिबका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने
६. बिराट दरबारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने
७. राम्रोखालको बाल उद्यान बनाउने ।
८ जर्जर अवस्थामा रहेको औद्योगिक क्षेत्रलाई ट्र्याकमा ल्याउने

अन्त्यमा यादवले भने, ‘पाँच वर्षभित्र हाम्रो टिमले बिराटनगरलाई आमूल परिवर्तन गरेर जनतालाई देखाइदिनेछौं । कृपया हामीलाई भोट दिनुस् ।’

यो पनि पढ्नुस् 

बिराटनगरका ३ बुहारीः जो उपमेयरमा भिड्दैछन् 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment