Comments Add Comment

धनगढी उपमहानगरः ‘कांग्रेसले गुन लगायो, जितेरै छाड्छु’

मेयरका उम्मेदवार नृप वड भन्छन्- पार्टीका साथीहरुको साथ छ

६ असार, कैलाली । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगर धनगढीमा नेपाली कांग्रेसले नृप ओड, ४५ लाई मेयरको उम्मेदवार बनाएको छ । पार्टीले ढिलो गरी उम्मेदवारको टुंगो लगाएकाले सीमित समयको सदुपयोग गर्दै उनी अहिले चुनावी प्रचारमा घरदैलोमा पुगिरहेका छन् ।

घरदैलो गर्दैगर्दा सुस्ताउने क्रममा नृप ओडलाई अनलाइनखबरले दलित समुदायबाट मेयरको उम्मेदवार बन्दाको संघर्ष-यात्राबारे सोध्योः

कुराकानीका क्रममा उनले आफ्नो जितका आधार सुनाए-

‘मैले जित्ने आधार प्रशस्तै छ । सबभन्दा पहिलो कुरा त पार्टीको मजबुत संगठन छ । स्थानीय स्तरमा विकासका काममा सहभागी छु । जनताका पक्षमा काम गरेको छु । प्रत्येक जनताको घरदैलो गएको छु र घरमा बसेको छु । फेरि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव लडेको क्षेत्र पनि हो यो ।’

नेविसंघदेखि कांग्रेससँग २८ वर्षे सफर

नृपको पहाड घर अछाम हो । ०३६ सालतिर बुबा-आमाको साथमा धनगढी झरेका उनी त्यसयता धनगढी ५ का बासिन्दा हुन् । श्रीनगर उच्च मावि दुई कक्षामा भर्ना भएका उनले आईएसम्म पढे । त्यहाँभन्दा उनको पढाइले गति लिन सकेन ।

त्यसपछि उनको पूरा समय राजनीतिमै बित्यो भन्दा पनि हुन्छ । ०४६ सालमा कांग्रेसको भ्रातृ संगठन नेविसंघबाट राजनीतिक यात्रा थालेका नृपले त्यसबेला जनआन्दोलनमा भाग पनि लिन भ्याए ।

पारिवारिक पृष्ठभूमि सामान्य किसान परिवार र त्यसमाथि दलित समुदायमा जन्मिएका उनको बाल्यकाल दुःखजिलो रुपमै बित्यो । हातमुख जोर्न गाह्रो नभए पनि आर्थिक अभावमा त्यस बाहेकका कुरा परिवारका लागि विलासी वस्तुसरह थिए ।

घरपरिवारका कसैको राजनीतिसँग साइनो नभएको अवस्थामा विद्यार्थी कालमा उनको यसतर्फ रस बस्यो । ०४६ सालदेखि नेविसंघमा आबद्ध भएका उनी ०५० सालतिर कांग्रेसको मूलधारमा उक्लिए । त्यस क्रममा वडाको सभापति हुँदै नगर सचिवसम्म भए । पार्टीको संगठनमा उनी लगातार दुई कार्यकाल नगर सभापति भए । पहिले निर्वाचित नगर सभापति बनेका उनी अहिले दोस्रो कार्यकालमा निर्विरोध भए ।

राजनीतिक जीवनमा खासै समस्या नभोगेको बताउने नृपले जेलनेल पनि भोगेका छन् । ०६२/६३ को दोस्रो आन्दोलनमा उनी पक्राउ परे । त्यस क्रममा ९६ दिनसम्म जेल बसे ।

तैपनि संगठनले देखेन योग्यता !

कांग्रेसको २८ वर्षे राजनीतिक यात्रामा नृपले अहिलेसम्म खासै उल्लेखनीय समस्या खेप्नुपरेन । बीच-बीचमा आरोह-अवरोध त आए, तर उनले कुनैलाई सम्झनामा राखेका छैनन् । धनगढी उपमहानगरबाट कांग्रेसका मेयर उम्मेदवार चयन गर्ने बेलामा भएको विवाद भने उनको मुटुमै गढेर बसेको छ ।

उनी दलित समुदायबाट राजनीतिमा आएका व्यक्ति हुन् । कांग्रेस निकट नेपाल दलित संघका केन्द्रीय सदस्य समेत छन् । कैलाली कांग्रेसमा चर्चा भएअनुसार उनको यही परिचय मेयरको उम्मेदवार छनोटमा झन्डै अभिशाप बनेन । कतिसम्म भने, जातीय विभेदलाई बढावा दिनेगरी ‘दलित मेयर भए कसरी नमस्कार गर्ने’ भनेर पार्टीभित्रै विरोध भयो ।

जिल्ला तहमा देखिएको विवादलाई अन्ततः केन्द्रले हस्तक्षेप गर्दै नृपलाई नै मेयरको उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

पार्टीभित्र देखिएको यो तहको विवादलाई उनी सतहमा ल्याउन चाहँदैनन् । पार्टीमा उम्मेदवारका आकांक्षीहरु बढी हुँदा समस्या देखिएको र यो स्वाभाविक भएको उनको भनाइ छ । ‘कैलालीमा सबै पद गरी ६५६ वटा टिकट छ । त्यसमध्ये दुई/चार वटामा समस्या हुनु एकदमै स्वाभाविक हो । अहिले सबै साथी कुल हुँदै गएका छन् । हाम्रो टिकट अलि पछि वितरण भएकाले मात्रै समस्या भएको हो’, उनले अनलाइनखबरसँग भने ।

नृपका अनुसार, उनकै वडाका पुराना नेता किसन महराले दाबी गरेकाले पनि उनको मेयर आकांक्षा यसपटक झन्डै संकटमा परेको थियो । महरा ०४९ र ०५४ सालको स्थानीय निर्वाचनमा लगातार दुई पटक वडा अध्यक्ष निर्वाचित भएका थिए । यस पटकको विवादलाई नृप सिनियर र जुनियरबीचको रसाकस्सी मान्छन् । सिनियर र जुनियरको यो नाता कस्तो छ भने, महरा नगर सभापति हुँदा वड सचिव थिए ।

सकेसम्म सबैलाई मिलाएर, व्यवस्थित गरेर लैजाने स्वभावका कारण पार्टीमा नेता-कार्यकर्ताहरुको सहयोग र समर्थन पाउन नृपलाई कहिल्यै गाह्रो परेन । यसपालि मेयर पदको पाउन भने उनलाई हम्मे नै पर्‍यो ।

यसमा उनी केही तिक्तता पोख्छन्, ‘मैले नेविसंघको राजनीति गर्दादेखि आजको दिनसम्म सबै कुरा सहमति-सहकार्यमा चल्दै आएको थियो । अहिले परिस्थितिवश केही कारणले मात्र जटिल हुन गएको हो ।’

जिल्लामा देखिएको विवाद चिर्दै केन्द्रले चुनावी मैदानमा पठाएपछि यसलाई उनले गहन अभिभारा मानेका छन् ।

त्यसो त ०५४ सालको स्थानीय चुनावमा नृपले पनि वडा अध्यक्षको उम्मेदवारमा दाबी गरेका छन् । तर, त्यसबेला पार्टीले किसन महरालाई टिकट दियो । यसैले यसपालिको स्थानीय चुनावमा उपमहानगरको मेयर उम्मेदवार भएर उनी ०५४ सालको इच्छा पूरा गर्ने सोचमा छन् ।

पार्टीले पत्याएकोमा उनी आभारी पनि उत्तिकै छन्, ‘पार्टीले मलाई ठूलो गुन लगाएको छ । पार्टीले विश्वास गरेर दुई कार्यकाल नगर सभापति भएको व्यक्तिलाई अहिले फरक जिम्मेवारी दिएकाले एकदम संवेदनशील छु ।’

‘चुनाव जित्न गाह्रो छैन’

धनगढी महानगरमा एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा हुने नृपको आँकलन छ । उनी आफू मेयर पदमा जित्ने दुई आधार देख्छन् । पहिलो, स्थानीय स्तरमा आफूले गरेका विकासका काम र जनसम्बन्ध । दोस्रो, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको निकट सम्बन्ध ।

केन्द्रीय स्तरका नेताहरुसँग राम्रो सम्बन्ध रहेकाले आफू मेयर निर्वाचित भएमा धनगढीलाई विकासले सुसज्जित बनाउन सक्ने उनको ठहर छ । भन्छन्, ‘उहाँहरुसँगको पहुँचका कारण कुनै विकासे प्रोजेक्ट माग गर्ने बित्तिकै पूरा गर्न सक्छु जस्तो लाग्छ ।’

त्यसमा पनि कांग्रेसको सभापति देउवासँगको सामीप्यका कारण उनमा आत्मविश्वास भरपूर छ । देउवाले गर्दा धनगढीमा एसियाली विकास बैंक (एडीबी) को कार्यक्रम अर्बौं रुपैयाँको कार्यक्रम कांग्रेसले हालेको र एक दर्जनभन्दा बढी वडामा खानेपानी योजना सञ्चालन गरेको उनी बताउँछन् । त्यो योजनामा बाटोघाटोको विस्तार र स्तरोन्नति गर्ने तयारी पनि रहेको उनले सुनाए ।

नृप ढुक्क छन्, ‘देउवाजी चुनाव अगाडि एकचोटि धनगढी आउनुहुन्छ र जिताउनुहुन्छ । उहाँको क्षेत्र पनि भएकाले उहाँको मतदाताले कांग्रेस उम्मेदवारलाई स्वतः जिताउँछन् ।’

अर्कातिर, आफ्नो जनसम्बन्ध राम्रो भएकाले उनी जित्नेमा विश्वस्त छन् । ‘२४ घण्टा जनताका पक्षमा र तिनका समस्या तथा आवश्यकताहरुमा हिँडिराख्ने व्यक्ति भएकाले कांग्रेसलाई चुनाव जित्न त्यति धेरै गाह्रो छैन ।’

सकारात्मक भएर सबै स्थानीय र पार्टीका नेता-कार्यकर्तासँग राम्रो सम्बन्ध रहेकाले समुदाय स्तरमा भिज्न गाह्रो नपरेको उनको अनुभव छ । नृपसँग स्थानीय निकाय सञ्चालनको अनुभव छैन । तर, स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको समयमा पार्टीको प्रतिनिधिको रुपमा सहभागी हुँदा उनले यसको कामलाई नजिकबाट हेरेका छन् ।

जनप्रतिनिधि नहुँदा कार्यकारिणी प्रमुख अध्यक्ष हुने र राजनीतिक दलहरु प्रतिनिधिका रुपमा सहभागी हुँदा उनीहरुको सुझाव मात्र लिइन्थ्यो । अब स्थानीय चुनावबाट निर्णय गर्ने स्थानमै दलका प्रतिनिधि पुग्दै छन् ।

पहिले सुझावमात्र दिने हैसियतमा रहँदा पनि धनगढीमा सकारात्मक कामहरु भएको उनको ठम्याइ छ । ‘सबै राजनीतिक दलबीच र नगरका कार्यकारीहरुसँग पनि राम्रो सामञ्जस्य थियो’, उनले भने’ ‘त्यही कारण पनि त्यसबेला देशका ५८ नगरपालिकामध्ये हामी टप टेनभित्र पथ्र्यौं ।’

केन्द्रबाट आउने बजेट एक रुपैयाँ पनि पि|mज नहुने धनगढीको रेकर्डलाई कायम राख्दै अब उपमहानगरमा प्राप्त हुने झन् ठूलो बजेटलाई सदुपयोग गर्नुपर्नेमा उनको जोड छ ।

चुनाव जितेपछिका योजना

– धनगढी उपमहानगरपालिका सधैं डुबानमा हुने गर्छ । यसलाई डुबानमुक्त गराउनेछु ।
– डुबानपछिको दोस्रो जटिल समस्या तटबन्धनको छ । धेरै क्षेत्र र बस्तीहरु कटानको अवस्थामा छन् । त्यसलाई व्यवस्थापन गर्दै समाधानको उपायमा लाग्नेछु ।
– तेस्रो, धनगढीलाई पर्यटकीय र व्यापारिक रुपमा सफल बनाउन भन्सार नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तयारी थाल्नेछु ।
– बाटोको स्तरोन्नति गर्नुपर्ने अर्को चुनौती छ । सबै ठाउँको बाटोलाई कम्तिमा पनि दुई लेनको बनाउन काम गर्नेछु ।
– शिवपुरी धाम, जाकोर ताल, बेडाबाबा शक्तिपीठ लगायतलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नेछु ।
– विद्युत विस्तार पनि पुरानै शैलीको छ । त्यसलाई पूर्णरुपमा व्यवस्थित गर्नेछु ।

यसरी आफ्ना योजनाको सूची सुनाएपछि उनले यी योजनाहरु पूरा गर्न भने चुनौतीपूर्ण रहेको बताए । सँगै थपे- ‘तर, चुनौतीमै सम्भावना पनि हुन्छ । यी दुई/चार कुरा पूरा गर्न सकिनँ भने मैले धनगढीको मेयर भएर बसिराख्नुको कुनै औचित्य छैन । अफिस गएर दिन बिताउने पक्षमा छैन म ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment