Comments Add Comment

तीन दलबाट २४ स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार (सूचीसहित)

नेतृत्वमा महिलाको कमजोर उपस्थिति


६ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचनमा तीन ठूला दलका २४ महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्दैछन् । र, सबैले विपक्षी पार्टीका पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेश नम्बर १, ५ र ७ का ३४४ स्थानमा हुने चुनावका लागि आइतबार उम्मेदवार भइसकेको छ । प्रमुख र उपप्रमुखमध्ये एउटा पदमा अनिवार्य महिला हुनुपर्ने कानुनी व्यवस्था भए पनि ठूला दलले उपप्रमुखमै सीमित गरेका छन् ।

दोस्रो चरणको चुनाव हुने ७ उपमहानगरमध्ये एउटामा माओवादीले महिलालाई मेयरको उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेबाट भने नगर र गाउँपालिकामा मात्र छन् ।

पहिलो चरणको चुनावमा १२ जना महिलाहरु प्रमुख पद (मेयर वा गाउँपालिका प्रमुख) मा विजयी भएका थिए ।

कांग्रेसबाट ७ उम्मेदवार
दोस्रो चरणको चुनावमा कांग्रेसले सात वटा स्थानीय तहको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ । जसमध्ये ५ गाउँपालिका र दुई नगरपालिका छन् ।
कांग्रेसले एक नम्बर प्रदेशमा १३७ स्थानीय तहमध्ये ३ महिलालाई प्रमुखमा उठाएको छ । धनकुटाको पाखि्रबास नगरपालिकाको मेयरमा इन्दिरा थापा उम्मेदवार बनेकी छन् ।

झापाको गौरीगञ्ज गाउँपालिकामा फुलवती राजवंशी र भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्षमा शिशिरा राईलाई अध्यक्षको उम्मेदवार बनाइएको छ ।

प्रदेश नम्बर ५ मा कांग्रेसले कुनै पनि स्थानीय तहमा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छैन । यस्तै प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये कांग्रेसले ४ जना महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

कांग्रेसले अछामको रामारोशन गाउँपालिका अध्यक्षमा अनुराधा स्वाँरलाई उम्मेदवार बनाएको छ । त्यस्तै डडेलधुराको भागेश्वर गाउँपालिका अध्यक्षमा कौशिला भट्टलाई उम्मेदवार बनाएको छ । उनी पद्मकन्या क्याम्पसकी विद्यार्थी नेतृ हुन् ।

कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा रीता चौधरी र जानकी गाउँपालिका अध्यक्षको उम्मेदवारमा गंगादेवी चौधरीलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

एमालेबाट को-को उम्मेदवार ? 

एमालेले प्रदेश नम्बर १ बाट दुईजना महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । उनीहरु दुवै झापा जिल्लाका हुन् । झापाको कमल गाउँपालिका अध्यक्षमा मेनका काफ्ले र हल्दीबारी गाउँपालिका अध्यक्षमा मन्जु सिटौला उम्मेदवार छिन् ।


यसअघि विवादका कारण काफ्लेले उम्मेदवारी फिर्ता गरेकी थिइन् भने सिटौलालाई पनि फिर्ता लिन दबाब परेका थियो । तर, अन्तिममा दुबैलाई उम्मेदवार बनाइएको छ । असन्तुष्टहरुलाई मनाउन अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् ।

एमालेले प्रदेश नम्बर ५ का पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ ।

नवलपरासीको सुनवल नगरपालिकाको मेयरमा एम्ाालेले विमला अर्याललाई उठाएको छ । यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिकाको मेयरमा बिमला घिमिरे र मायादेवी गाउँपालिका अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको छ ।

रोल्पा नगरपालिकाको मेयरमा मीना शर्मा र रुकुमको भूमे गाउँपालिका अध्यक्षमा आशा स्वर्णकारलाई उम्मेदवार बनाएको छ । यसअघि रुपन्देहीको मायादेवी गाउँपालिकामा पनि एमालेले महिला उम्मेदवार शान्तिदेवी लोधलाई टिकट दिएको थियो । तर, उम्मेदवारी मनोनयका बेला उनको नाम फिर्ता भएको छ ।

प्रदेश नम्बर ७ बाट एमालेले एकजना महिलालाई मात्र प्रमुखको उम्मेदवार बनाएको छ । डोटीको सिलगढी नगरपालिकाको मेयरमा मन्जु मलासी उम्मेदवार भएकी छन् । उनी एमालेसम्वद्ध महिला संघकी केन्द्रीय सदस्य पनि हुन् ।

माओवादीबाट उपमहानगरमा महिला

माओवादी केन्द्रले प्रदेश नम्बर १ मा इटहरी उपमहानगरपालिकाको मेयरमा महिलालाई उम्मेदवार बनाएको छ । हरीमाया जिमीले इटहरीको मेयरमा उम्मेदवारी दिएकी छन् ।

यस्तै संखुवासभाको धर्मदेवी गाउँपालिका अध्यक्षमा उमा कार्की विष्ट र तेह्रथुमको मेन्छेयाम गाउँपालिका अध्यक्षमा फूर्वी शेर्पा अध्यक्षको उम्मेदवार बनेकी छन् । मोरङको सुन्दर हरैंचा नगरपालिको मेयरमा माओवादीले लक्ष्मी न्यौपाने (लता) लाई उम्मेदवार बनाएको छ ।

प्रदेश नम्बर ५ मा माओवादीले दाङको लमही नगरपालिका मेयरमा द्रौपदा पौडेल र तानसेन नगरपालिकाको मेयरमा प्रतिक्षा सिन्जाली मगरलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै रुकुमको सिस्ने गाउँपालिका अध्यक्षमा कुमारी बराललाई उम्मेदवार बनाएको छ । माओवादीबाटै गुल्मीको इस्मा गाउँपालिकाको अध्यक्षमा विमला थापा उम्मेदवार बनेकी छन् ।

 

प्रदेश नम्बर ७ मा माओवादीले एकजनामात्र महिला उम्मेदवार बनाएको छ । डडेलधुराका अमरगढी नगरपालिकाको मेयरमा माओवादीबाट शोभा भट्ट उम्मेदवार बनेकी छन् ।

पहिलो चरणमा १२ महिला

पहिलो चरणका २८३ स्थानीय तहमध्ये १२ जना महिलाले प्रमुख जितेका थिए । जसमध्ये एमालेका ३ मेयर र २ गाउँपालिका अध्यक्षसहित ५ जना जितेका थिए । कांग्रेसबाट मेयर र ४ गाउँपालिका अध्यक्ष जितेका थिए भने माओवादीबाट २ जना गाउँपालिका अध्यक्ष जितेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment