Comments Add Comment

इशानेश्वरमा पर्यटक आकर्षित गर्न वनमा उद्यान


६ असार, लमजुङ (बेँसीसहर) । लमजुङको मध्य नेपालस्थित इशानेश्वरमा पर्यटक आकर्षित गर्न वन उद्यान बनाइएको छ । मध्य नेपाल नगरपालिका–६ मा रहेको रानी रिहिने सामुदायिक वनको १४ रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको हो ।

इशानेश्वर महादेव मन्दिरलाई जोड्ने गरी १४ रोपनी क्षेत्रफलमा फूलबारी वन उद्यान निर्माण गरिएको छ । उद्यानमा कल्की, असारे, सयपत्री, लालुपातेलगायतका विभिन्न प्रजातिका फूल, रुद्राक्ष, अशोक, बाँस, अम्रिसोलगायतका रुखका बिरुवा रोपिएको छ ।

वन उद्यानमा ट्रष्ट हल, दुईवटा सार्वजनिक शौचालय, खानेपानी धारा निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष दयाराम खनालले बताउनुभयो । वन उद्यानमा पिकनिक स्थल निर्माण गर्नुका साथै पर्यटक घुमाउनका लागि सुसाउने पहरा गुफा पुग्ने बाटो निर्माण गरिएको खनालले बताए ।

आगामी वर्ष सुसाउने पहरा गुफालाई थप व्यवस्थित बनाउँदै इशानेश्वर महादेव मन्दिर जोड्ने पदमार्गसमेत निर्माण गरिने सामुदायिक वनका सदस्य प्रकाश खनालले बताए ।

उद्यान निर्माणका लागि चालु आवमा १६ लाखभन्दा बढी खर्च गरिएको छ । उद्यानका लागि जिल्ला वन कार्यालयले रु आठ लाख, मध्य नेपाल नगरपालिकाले रु चार लाख, स्थानीयको श्रमदान रु तीन लाख ८८ हजार र सामुदायिक वनका तर्फबाट  ७० हजार खर्च गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment