Comments Add Comment

अमेरिकी जोडीले गर्दैछ सात देशमा पुगी सातपटक बिहे, तेस्रो बिहे नेपालमा सकियो

अमेरिकी नागरिक ग्याब्रियला र टिमोथीले आफ्नो बिहे अलिक फरक ढंगले गर्ने निधो गरे । जस अनुसार, यो जोडीले ४० दिनमा विभिन्न ७ वटा देशमा पुगी ७ पटक नै बिहे गर्ने योजना बनायो । त्यो पनि सम्बन्धित देशको रितिरिवाज अनुसार ।

योजना मुताविक उनीहरुले अहिलेसम्म आफ्नो पाँचौ बिहे सम्पन्न गरिसकेका छन् र अब थप दुईपटक बिहे गर्ने योजना छ ।

यस अमेरिकी जोडीले आफ्नो बिहेयात्राको सुरुवात जापानबाट गरेका हुन् । भेटेनरी डाक्टरसमेत रहेकी ग्याब्रियला र मनोविज्ञान विषयका विद्यार्थी रहेका उनका पति टिमोथीको अध्ययनका क्रममा जापानमै भेट भएको थियो । जहाँ उनीहरुबीच सम्बन्ध आत्मीय बन्यो । बिहेको योजना बुनियो ।

यस दम्पतिले पहिलो बिहे गत मे १८ मा शिन्टो परम्परा अनुसार जापानमा सम्पन्न गरेका हुन् । त्यसक्रममा बिहेका लागि ३० मिनेट लागेको थियो ।

जापानपछि यो जोडी इन्डोनेसिया पुग्यो । मे ३० मा उनीहरुले इण्डोनेसियाको बालीमा दोश्रो बिहे गरे स्थानीय परम्परा र भेषभुषामा सजिएर ।

यिनीहरुको तेस्रो बिहे चाहीँ हाम्रै देश नेपालमा भएको हो । गत जुन २ तारेखमा उनीहरुबीच ललितपुरको पाटनमा बिहे भएको रहेछ । बेहुली ग्याब्रियलाले भनेकी छिन् । हाम्रो नेपाल भ्रमणअघि हामीले हाम्रो बिहेमा दम्पतिलाई बौद्ध भिक्षुहरुद्धारा आशीर्वाद प्रदान गर्नका लागि एक गुम्बालाई अनुरोध गर्यौँ । गोल्डेन टेम्पल नजिकै जुन २ तारेखमा बिहे र आशिर्वाद ग्रहण सम्पन्न भयो ।

नेपालपछि चौथो बिहेका लागि उनीहरु भारतको चेन्नइ हानिए । जहाँ बेहुलीका प्राध्यापक मोहन कुमारको निवासमा हिन्दू परम्परा अनुसार उनीहरुबीच बिहे सम्पन्न भयो ।

भारतपछि उनीहरु केन्यातर्फ लागे । केन्याको मासाइ मारामा ग्याब्रियला र टिमोथीबीच यो हप्ताको सुरुमा पाँचौ बिहे भएको छ ।

उनीहरुबीचको छैटौँ बिहे अलिक फरक हुनेछ । किनकी उनीहरुले आफ्नो छैटौँ बिहे धर्तीमा होइन की आकाशमा गर्ने योजना बनाएका छन् । उनीहरुले आफ्नो छैटौँ बिहे चेक गणतन्त्रको राजधानी प्रागको आकाशमा एयर बेलुनमा उडेर गर्नेछन् ।

अनि उनीहरुको सात बिहेको यात्रा नेदरल्याण्डको एम्सटर्डममा गएर टुंगिनेछ । त्यहाँ क्याथोलिक समारोह हुनेछ र उनीहरुको बिहेले आधिकारिकता पाउनेछ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment