Comments Add Comment

यती कार्पेटको कथाः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोले खरानी


६ जेठ, काठमाडौं । उद्यम गर्नेे मान्छेको जीवनमा एउटा रातले खासै उलट-पुलट गर्न सक्दैन । तर, यती कार्पेट उद्योगका सञ्चालक अनिल केडियालाई गत शनिबारको एउटै रात जीवनमा भारी परेको छ ।

शनिबारको रातमा केडियाको कार्पेट उद्योगमा मात्रै आगो लागेन, उनको जीवनको उर्जाशील अढाई दशकको सपना र यथार्थको महल खरानी बन्यो । उनले नेपाली कार्पेट बजारलाई आत्मनिर्भर बनाउन तयार गरेको योजना एकै रातमा ‘भस्म’ भयो ।

 

आगलागीको घटना भएको ३ दिन बित्दा पनि केडिया शोकबाट बाहिर आउन सकेका छैनन् । सोमबार केडियाको कार्यालयमा पुग्दा त्यहाँ सन्नाटा मात्रै देखियो । सँधै ब्यस्त रहने कार्यालय सोमबार सुनसान थियो । केडियाको कार्यकक्ष खाली थियो । कर्मचारीका अनुसार दैनिकजसो कार्यालय आएर काम गर्ने केडिया कार्पेटकोे उद्योगमा आगो लागेपछि कार्यकक्षमा प्रवेश नै गरेका छैनन् ।

कार्यालयमा कर्मचारीहरु निराश र मौन देखिए । कर्मचारीहरुको अनुहारले नै आफ्नो टिममा परेको पीडाको झझल्को दिइरहेको थियो । ‘सरसँग हामी ले कुरा नै गर्न सकेका छैनौं, हामी यो घटनाबारे धेरै बोल्न र भन्न सक्ने अवस्था नै छैन’ मार्केटिङ एण्ड कर्पाेरेट म्यानेजर राजकुमार साहले सुनाए,’अध्यक्ष सर पनि ठूलो शोकमा हुनुहुन्छ । हामीले पनि केही सोच्नै सकेका छैनौं, यो कसरी भयो ?’

कसरी लाग्यो आगो ?

अहिले यति ठूलो उद्योगमा कसरी आगो लाग्यो भन्ने प्रश्न छ । म्यानेजर साहका अनुसार शनिबार राति करिब सवा ११ बजे उद्योगको नजिकै रहेको ट्रान्सर्फमर पड्किएको थियो । त्यसबाट नजिकै रहेको फर्निस आयलको ड्रममा आगोको झिल्का पर्‍यो । त्यही आगोको झिल्काबाट सुरु भएको आगो केमिकलमा पुगेपछि फैलियो ।

आगो फैलिँदै गएपछि कम्पनीका कच्चा पदार्थका रुपमा मौज्दात राखिएका फाइबरमा सल्कियो । त्यसपछि गोदाम हुँदै बजार पठाउन तयारी अवस्थामा राखिएका कार्पेटमा आगो लाग्यो । गोदामको आगो फैलिँदै उद्योगको मुख्य उद्योग भवनसम्म फैलिएको थियो, जहाँ मेसिनहरु जडान भएका थिए ।


आगो बिहान ५ बजे मात्रै नियन्त्रणमा आएको थियो । तर, आगो पूर्ण निभेको भने थिएन । आइतबार दिउँसो पुनः आगो फैलिएको थियो ।

सम्झनामा त्यो रात

शनिबार राति आगलागी सुरु भएको १५ मिनेटमै अध्यक्ष केडिया उद्योगको परिसर पुगेका थिए । ‘प्रकृतिले आफ्नो लिला देखाउँदा कसरी मान्छे कति निरीह भएर सबै कुरा स्वीकार्नुपर्छ भन्ने त्यो समयमा हामीले अनुभव गर्‍यौं’ साह भन्छन् ‘आफ्नै अघि करोडौंको सम्पत्ति जल्यो । तर, हामी हेरिरहन मात्रै सक्थ्यौं । आगो निभाउन भएको प्रयासले केही काम गरेन । सबैथोक जल्यो ।’

उद्योगमा लागेको आगो ५ घन्टाको निरन्तर प्रयासपछि केही साम्य भयो । आगो शान्त हुँदासम्म उद्योग खरानी बनिसकेको थियो । साह सम्झन्छन् ‘सरको आँखाभरि टिलपिल आँसु थियो, आँखै अगाडि अर्ब बराबरको सम्पत्ति खरानीमा परिणत हुँदा हामी पनि स्तब्ध भयौं ।’

पीडामा कर्मचारी

यती कार्पेट २५ वर्ष अघि स्थापना भएको हो । शनिबारको आगलागीपछि उद्योग पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा छ । उद्योग भक्तपुर नगरपालिकाको वडा नं २ मा छ । यती फेबि्रक उद्योगको सबै संरचनामा आगोले ध्वस्त बनाएको छ ।

यो उद्योगमा झण्डै १ सयजना रोजगारी गर्छन् । पुरानो उद्योग भएकाले यसैमा आश्रति भएर धेरै कामदारले परिवारको गुजारा चलाएका छन् । अब उद्योग केही बाँकी नरहने गरी खरानी भएपछि ती कर्मचारीको रोजीरोटी के हुन्छ भन्ने प्रश्न जन्मिएको छ ।

‘एक सय जनाले यसबाट प्रत्यक्ष रोजगारी पाएका थिए भने हजारभन्दा बढी अप्रत्यक्ष रुपमा यसबाट रोजगारी पाएका थिए । अहिले यति कार्पेटको उद्योग होइन १ सय जनाको साझा घर जलेको छ’ शाहले भने । अप्रत्यक्षरुपमा भने यो उद्योगबाट झन्डै १ हजार जनाले रोजगारी पाएका थिए ।

अन्योलमा कम्पनी

२५ वर्षमा यो उद्योगले नेपालमा आफ्नो ठूलो बजार हिस्सा ओगट्न सफल भएको थियो । नेपाली कार्पेट उद्योगहरुमध्ये यसको बजार हिस्सा अहिले ७० प्रतिशत छ । बजारमा यो कार्पेट प्रचलित मात्रै हैन, चर्चित नै छ ।

यती कार्पेटकै कारण पछाडि सुन्दर लोगो भए/नभएको हेर्ने प्रचलन अहिले आम भएको छ । तर, अब यो सुन्दरको लोगो लागेको कार्पेट फेरि नेपालीको घर सुन्दर पार्न आउँछ या आउँदैन ? उद्योग पुनः सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा केडिया अर्गनाइजेशन अलमलमा छ ।

केडिया अर्गनाइजेशनको प्रारम्भिक आँकलनअनुसार उद्योगमा रहेको ९० करोडदेखि १ अर्ब रुपैयाँबराबरको सामान जलेर नष्ट भएका छन् । यसमा २० करोडको नयाँ मेसिनको बीमा गरिएको थिएन ।

‘गुणस्तर कायम गर्न झण्डै २० करोड बराबरको मेसिन भर्खरै मात्रै ल्याएका थियौं, नयाँ मेसिन भएका कारण हामीले बीमा गर्न पाएका थिएनाैं । त्यो पनि पर्‍यो ‘ साहले भने ।


उद्योगका लागि आवश्यक ऋण केडिया अर्गनाइजेशनले नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकबाट ल्याएको छ । साथै यसले बिमा भने नेशनल इन्सुरेन्समा गराएको छ ।

म्यानेजर साह भन्छन् ‘आधिकारिक रुपमा के कति क्षति भयो भन्न गाह्रो भइरहेको छ । हामीसँग भएका सबै कागजात उद्योगसँगै जलेर नष्ट भए’

‘हामीले स्वदेशी उत्पादनलाई टप लेभलमा पुर्‍यायौं । नेपालमा कार्पेट इण्डस्टि्रजको सम्भावना छ भन्ने प्रमाणित गरेका थियौं’ म्यानेजर साह भन्छन्, ‘हामीले अहिलेसम्म देशलाई कार्पेटमा आत्मनिर्भर गर्नुपर्छ भनेर नै काम गरेका हौं । हामी धेरै हदसम्म सफलता उन्मुख थियौं तर, यो घटनाले हामीलाई धक्का लागेको छ ।’

यती कार्पेटको कथा

२५ वर्षअघि अनिल केडियाका पिता शंकरलाल केडियाले यो उद्योगको स्थापना गरेका थिए । तर, स्थापनाको केही वर्षमै शंकरले संसार छाडे । त्यसपछि यो उद्योग सञ्चालन गर्ने जिम्मेवारी अनिल केडियालाई आयो ।

सुरुमा कम्पनी घाटामा गयो । तर, अनिल बिचलित भएनन् । उनले आफ्नो ब्यवस्थापन र बजारीकरणको खुबी प्रयोग गर्दै जसोतसो कम्पनीलाई नाफामा लिएर गए ।

यो दिनसम्म आइपुग्दा यती कार्पेट नेपालमै चर्चित ब्रान्ड बन्यो । अब भारतमा पनि यसले बजार खोज्दै थियो । कम्पनीको पुरै टीम उत्पादन बढाएर भारतमा यतीलाई पुर्‍याउने योजनामा काम गर्दै थियो ।


पछिल्लो समयमा कार्पेट एउटा घरका लागि अनिवार्य आवश्यकताको सामाग्री बन्दै गर्दा यतीको बजार हिस्सा पनि फैलँदो थियो ।

वाषिर्क २० प्रतिशतसम्म बिक्रीदर बढिरहँदा कम्पनी अबको १० वर्ष ढुक्कसँग यही प्रकारको उत्पादनले बजार कायम राखिराख्नेमा विश्वस्त थियो । बढ्दो शहरीकरणले घर-घरमा फेबि्रक कार्पेटको माग अहिले बढ्दो पनि छ ।

कम मूल्यमा उच्च गुणस्तर र ३६ वटा विकल्पसहितको कलरका कारण यती धेरै मध्यमवर्गीय शहरिया परिवारको रोजाइ बनेको छ । त्यसैले यती कार्पेट अहिले बजार मागको उच्च बिन्दुमा पुगेको थियो । यसबाट कम्पनी धेरै उत्साहित हुँदै प्रविधिक अपग्रेड गर्न नयाँ मेसिन भित्र्याउँदै थियो ।

अझै लगानी थपेर यतीलाई नेपालसँगै विदेशी बजारसम्म पुर्‍याउने र कार्पेटलाई नेपालको निर्यातको महत्वपूर्ण सामग्री बनाउने गृहकार्यमा कम्पनी ब्यस्त थियो ।

तर, शनिबारको घटनाले यो परिस्थिति १८० डिग्रीमा मोडिएको छ । अब यो कम्पनी आफूलाई कसरी बचाउने र फेरि बजारमा कसरी फर्किने भन्ने अन्योलको नयाँ विन्दुमा आइपुगेको छ ।

अनलाइनखबरसँगको कुराकानीमा म्यानेजर साहले आगो नियन्त्रणका लागि उच्चस्तरीय प्रविधि नेपालमा पनि आवश्यक भएको सन्देश सरकारलाई पुर्‍याउन अनुरोध गरे ।

‘सबै आगो एकै प्र्रकारका हुँदैनन्, पानीले मात्रै आगो निभ्दैन भन्ने कुरा सरकारलाई थाहा हुनुपर्ने हो’ साह भन्छन्,’केमिकल र डिजेल बलिँरहँदा पानी हाल्नुपर्ने बाध्यताको अन्त्य जरुरी देखियो ।’

साहले थपे- ‘अब हामी यो समयमा राज्यलाई पनि हेरिरहेका छौं, नेपाललाई कार्पेटमा आत्मनिर्भर बनाउने हाम्रो योजनामा लागेको धक्कालाई सरकारले कसरी हेर्ला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment