Comments Add Comment

बुटवलमा सुकुम्बासी निर्णायक कि बटौलीको आन्दोलन ?

एमाले र कांग्रेस दुबै दलका उम्मदेवारको जित्ने दाबी

७ असार, काठमाडौं । बुटवल उपमहानगरको चुनावी परिणाममा प्रमुख विपक्षी एमाले ढुक्क छ, सहजै जितिन्छ । उसलाई लागेको छ कि बुटबलमा चुनाव उम्मेदवारले होइन, पार्टीले जित्ने हो ।

एमालेलाई नहोस् पनि किन ? बुटबल लामो समयदेखि लाल किल्ला हो । एमालेको बजबुत संगठन छ र प्रदेश विभाजन विरुद्ध उठेको ‘बटौली आन्दोलन’ को केन्द्रमा एमाले नै रहृयो ।

एमालेको मात्र होइन, धेरैको विश्लेषण पनि यही छ कि बुटवल त एमालेले नै जित्छ ।

एमालेका उम्मेदवार शिव सुवेदीलाई चुनौती दिन कांग्रेसले खेलराज पाण्डेलाई अघि सारेको छ । पाण्डेलाई माओवादी केन्द्रको समेत समर्थन छ ।

सत्तारुढ कांग्रेस र माओवादीको तालमेलका बाबजुद एमालेका स्थानीयदेखि केन्द्रीय स्तरका नेताहरु दाबाका साथ भन्छन्, ‘जित हाम्रै हुन्छ ।’

मेयरका उम्मेदवार सुवेदीले दुई तिहाई मतसहित आफ्नो टीम बिजयी हुने दाबी गरे ।

तर, मतदानको पूर्वसन्ध्या नजिक आइपुग्दा बटौलीको चुनावी परिणाम एमाले र धेरै मानिसहरुले सोचेजस्तो नहुन सक्छ भन्ने संकेत देखिएको छ । कम्तिमा यति भन्न सकिन्छ कि एमालेलाई कांग्रेस-माओवादी गठवन्धनले राम्रै चुनौती दिनेछ । बाँकी त ढ्वाङमा खस्न बाँकी मतबारे अनुमान मात्रै गर्न सकिन्छ, परिणाम त असार १४ मै आउने छ ।

एमाले र कांग्रेस दुबै दलका उम्मेदवार स्थानीय राजनीतिमा सक्रिय अनुहार हुन् ।

सुरुमा चर्चा गरौं, कांग्रेस-माओवादीका साझा उम्मदेवार खेलराज पाण्डेको 

बुटवलमा लामो समय कांग्रेसले सूर्यप्रसाद प्रधानको विकल्प खोजेन । लगातार उनलाई टिकट दिइरहृयो र एमालेले जितिरहृयो । यो पटक प्रधानको विकल्पमा आए पाण्डे । उनी कांग्रेसको तत्कालीन संस्थापन पक्षकै हुन् । तर, अहिले बुटवलमा भएका कांग्रेस नेताहरु मध्ये सबैभन्दा राम्रो उम्मेदवार मानिएको छ ।

सरल नेतृत्व, सबैसँग सम्पर्क उनको विशेषता हो । विद्यार्थी, तरुण हुँदै कांग्रेसको राजनीतिमा आएका उनी दुईपटक नगर सभापति बनिसकेका छन् । बुटवलका हरेक मतदाताको घरदैलोमा पुगेका अनुहार हुन् ।

उनलाई यो पटक बुटवल राजनीतिमा महत्वपूर्ण मानिएको बालकृष्ण खाँड समूहको पनि राम्रै साथ देखिएको छ । कांग्रेस र माओवादीबीच तालमेल गराउने क्रममा बालकृष्ण खाँड र बर्षमान पुनको सक्रियता रहृयो ।

अब एक छिन एमाले उम्मेदवार शिव सुवेदीको कुरा गरौं

सुवेदी पनि बुटवलमा सक्रिय नेतामध्ये एक हुन् । यो पटक बुटवलको मेयरका लागि एमालेमा थुप्रै आकांक्षीहरु थिए । तर, बुटवल राजनीतिमा उपमहासचिव विष्णु पौडेल हावी छन् र उनले चाहाना अनुसार नै शिव सुवेदीले टिकट पाए ।

तर, एमालेको बुटवल राजनीतिमा राजु गुरुङ, भोजप्रसाद श्रेष्ठ पनि प्रभावशाली छन् । अब यो हेर्न बाँकी छ कि यो समूहले सुवेदीलाई जिताउन पहल गर्छ कि असहयोग गर्छ ।

यदि राजु गुरुङहरुको साथ रहेन भने शिव सुवेदीलाई मेयर बन्न गाह्रो हुने देखिन्छ ।

साथै बुटवलमा होमबहादुर गलामी मेयरका उम्मेदवार छन् । उनलाई नयाँशक्ति, फोरमदेखि माले, जनमोर्चा लगायका साना दलहरुले पनि समर्थन गरेका छन् । एक समय एमालेमा रहेका उनले काट्ने धेरै भोट एमालेकै हुने धेरैको अनुमान छ ।

तिनाउ र दानव नदी साझा एजेण्डा

भोट माग्दै जनताको घरदैलोमा जाने क्रममा कांग्रेस र एमाले दुबै दलका उम्मेदवारले तिनाउ र दानव नदीले निम्त्याएको समस्यालाई एजेण्डा बनाएका छन् ।

तिनाउ र दानव अभिसापका रुपमा छन् । मानव वस्तीलाई असुरक्षित बनाएको छ । शिव भन्छन्, ‘यसलाई व्यवस्थित गर्ने र कोरिडोर सडक बनाउने मेरो एजेण्डा छ ।

तिनाव र दानव नदी हाम्रा लागि बरदान हुनु पर्ने हो । तर, वर्षाको समयमा आउने बाढी र प्रकोपका कारण दुबै नदी अभिसाप जस्तै भएका छन् । खेलराज भन्छन्,-‘यसको नहरीकरणमा बालकृष्ण खाँड सिचाई मन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम सुरु भएको थियो, यसलाई गति दिने छौं ।’

बुटवललाई ५ नम्बर प्रदेशको राजधानी बनाउने दुबै उम्मेदवारको अर्को समान एजेण्डा हो । मेडिकल कलेज खोल्ने, आर्थिक केन्द्रका रुपमा विकास गर्ने, पर्यटनका लागि आकर्षक केन्द्र बनाउने लगायतका एजेण्डा पनि समान छन् ।

कांग्रेस उम्मेदवार खेलराजले अंग्रेजमाथि युद्ध जितेको जितगढीलाई पर्यटन आकर्षणको केन्द्र बनाउने, यसलाई विद्यालय स्तरको पुस्तकमा राख्ने बताए । साथै नयाँ वर्षपार्क, अटो भिलेन निर्माण पनि उनको एजेण्डा छ ।

एमाले उम्मेदवार शिवले बुटवललाई भोलि महानगरमा जाने र लुम्बिनीसँग जोडेर नमुना बनाउने योजना सुनाए । ‘आर्थिक विकास, सामाजिक सद्भावसहित राष्ट्रिय एकता बलियो बनाउन यो प्रदेशको अक्षुणता जरुरी छ’ उनले भने, ‘त्यो प्रदेशको केन्द्र बुटवललाई बनाउन जरुरी छ ।’

अखण्ड आन्दोलन फ्याक्टर

प्रचण्ड सरकारले तराई मधेसको असन्तुष्टि सम्बोधन गर्न प्रदेश नम्बर ५ को सीमांकन हेरफेर गर्ने प्रस्ताव ल्यायो । त्यसविरुद्ध बटौली आन्दोलित भयो ।

एमाले रुपन्देहीका अध्यक्ष शिव सुवेदीलाई बुटबल उपमहानरमा मेयरको उम्मेदवार बनाएर एमालेले त्यही आन्दोलनलाई क्यास गर्न खोजेको छ । ‘प्रदेश विभाजनबाट रोक्न पनि कांग्रेस र माओवादीका समर्थक सुभचिन्तकलाई मलाई भोट हाल्छन्’ एमाले उम्मेदवार सुवेदीको दाबी छ ।

आन्दोलनको अग्रपङ्तिमा एमालेका विष्णु पौडेल र प्रदीप ज्ञवालीसँगै कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका टोपबहादुर रायमाझी पनि थिए । तर, केन्द्रीय स्तरमा कांग्रेस र माओवादी संविधान संशोधनको पक्षमा रहृयो भने एमाले विपक्षीमा अर्थात बुटवल आन्दोलनको समर्थनमा ।

त्यसैले यो एजेण्डाको मत एमालेले पाउँछ भन्ने काठमाडौंको विश्लेषण छ ।

तर, ‘ग्राउण्ड रियालिटी’ केही फरक छ ।

माओवादीको समर्थन समेत पाएका कांग्रेसका उम्मेदवार खेलराज पाण्डे पनि त्यही आन्दोलनमा थिए । आन्दोलनमा खेलराज पाण्डेको सहभागिता शिव सुवेदीको भन्दा कम थिएन ।

‘त्यो आन्दोलनको अगुवा म पनि हुँ र सीमांकन हेरफेर हुनुहुँदैन भनेर मुद्दाको उठान मैले नै गरेको हो’ उनले भने, ‘हामीले गरेको आन्दोलनको जस एमालेले लिन खोज्यो । तर, स्थानीय स्तरमा एमालेको जत्तिको सहभागिता हो । हाम्रो पनि त्यति नै सहभागिता थियो ।’

सुकुम्बासी निर्णायक ?

तिनाउ नदी किनारमा सुकुम्बासी बस्तीहरु छन् । वडा नम्बर ११ मा मात्र १० हजार बढी मत छ । बुटवलको हरेक चुनावमा त्यही सुकुम्बासीको भोट निर्णायक हुन्छ । योपटक पनि बटौली आन्दोलनभन्दा सुकुम्बासी निर्णायक देखिएको छ ।

सुकुम्बासीको भोट आफ्नो पक्षमा पार्न सके जित लगभग सुनिश्चित हुने भएकाले कांग्रेस र एमाले दुबै दलले प्रयत्न गरिरहेका छन् ।

कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डे भन्छन्, स्थानीय तहको ऐनमा टेकेर बुटवलमा रहेका सबै सुकुम्बासीलाई बसोबासका आधारमा लालपूर्जा वितरण गर्न अभियान थाल्ने छौं । यो हाम्रो प्रमुख मुद्दा हो ।’

एमालेले पनि आफूले जितेमा सुकुम्बासीलाई जमिन दिलाउने प्रतिवद्धता जनाएको छ । मेयरका उम्मेदवार शिव सुवेदीले भने, ‘बुटबलमा असुरक्षित वस्तीहरु पनि छन्, सुकुम्बासीहरुलाई जमिन दिलाउने हाम्रो एजेण्डा हो ।’

तर, योपटक सुकुम्बासी बस्तीको भोट पाउन एमालेलाई त्यति सजिलो छैन । विष्णु पौडेलले हरेक चुनावमा त्यही सुकुम्बासी भोट पाए । दोस्रो संविधानसभा चुनावका समयमा उनले ‘सुकुम्बासीलाई लाजपूर्जा दिन नसके संसद भवनमा नै जान्नँ’ भनको थिए । तर, त्यो बाचा पूरा भएको छैन ।

अहिले कांग्रेस र माओवादी गठनबन्धनले त्यहाँका मतदातालाई एमालेको यो बाचा सम्झाइरहेका छन् । यो गठवन्धनले चुनाव प्रचारका क्रममा एमालेलाई हेर्‍यौं पटकपटक,, यो पटक हामीलाई हेर्नुस्, सुकुम्बासीलाई बसोबासका आधारमा लालपूर्जा दिलाउँछौं भनेका छन् ।

तालमेलको हिसाव-किताब

पहिलो चरणको चुनावमा कांग्रेस माओवादी तालमेल अपवाद बाहेक लगभग असफल रहृयो । पोखरा र भरतपुरमा आएको मतले त्यही संकेत गर्छ । तर, दोस्रो चरणमा पनि कांग्रेस र माओवादीले तालमेल गरेका छन् ।

र, सबैभन्दा महत्वपूर्ण छ, बुटवल । एमालेको लालकिल्लाका रुपमा परिचित बुटवलमा एमालेलाई हराउन कांग्रेस र माओवादीले तालमेल गरेका हुन् । नेताहरुले यसलाई प्रतिष्ठाको विषय पनि बनाएका छन् ।

भरतपुरलाई शेरबहादुर देउवा, प्रचण्ड र केपी ओलीले जसरी प्रतिष्ठाको विषय बनाए, बुटवलको चुनावलाई बालकृष्ण खाँड -कांग्रेस), वर्षमान पुन अनन्त (माओवादी) र विष्णु पौडेल (एमाले)ले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

योपटक कांग्रेस र माओवादीको तालमेल पहिलो चरणमा भन्दा केही व्यवस्थित देखिएको छ । माओवादीसँग तालमेल गर्ने तयारी भएकै कांग्रेसले उपमेयरको उम्मेदवार टुंग्याएको थिएन । यसले कांग्रेसलाई केही सहज भएको छ । नभए कार्यकर्तामा भरतपुरमा जस्तै असन्तुष्टि देखिन्थ्यो ।

तर, माओवादीको साथ खोज्नुले कांग्रेसले एक्लै एमालेलाई हराउन सकिन्न भन्ने विश्लेषण गरेको बुझिन्छ ।

मेयरका उम्मेदवार खेलराज यसको अर्को कारण देखाउँछन् । उनले भने, ‘हामीले देशमा स्थिरताका लागि माओवादीसँग सहमति गरेर शान्ति प्रक्रिया सुरु गर्‍यौं । हाम्रै सहयात्राले प्रचण्ड प्रधानमन्त्री भएका बेलामा स्थानीय चुनाव भयो । दुई दल मिल्दा मुलुकले धेरै कुरामा निकास पाएको छ । अब बुटवलमा पनि कांग्रेस र माओवादीसहित अरु दललाई पनि साथमा लिएर लैजान्छौं । सबै दलको सहनुभूतिको भोट पाउँछौं ।’

जे होस्, अहिले यति भन्न सकिन्छ, कांग्रेस र माओवादी मिल्दा बुटवलमा एमालेलाई दबाव परेको छ । यद्यपि कांग्रेस र माओवादीको ‘फ्रस्टेट’ मत आफूतिर आउने एमालेको दाबी छ । छिनोफानो असार १४ गते नै लाग्नेछ ।

दुबैको दाबी छ- म जित्छु

बुटवल उपमहानगरको मेयरमा थुप्रै उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा एमालेका शिव सुवेदी र माओवादीको समेत समर्थन पाएका खेलराज पाण्डेबीच हुनेमा कुनै दुईमत छैन ।

दुबैले आफ्नो जित्ने दाबी गरेका छन् । एमाले उम्मेदवार शिव सुवेदीले भने, ‘म ढुक्क छु, सुविधाजनक बहुमतसहित आफ्नो टिमलाई जिताउँछु ।’

आधार के भन्ने प्रश्नमा एमाले उम्मदेवार सुवेदीले तीन कारण पेश गरे ।

पहिलो- ०५४ मा हाम्रो टिमले विकासको आधारशीला बनाएको थियो । त्यही कारण अहिले पनि हरेक सूचकांकमा बुटवल उत्कृष्ट छ । भलै जनप्रतिनिधि नभएकाले सापेक्षतामा त्यो गति प्राप्त गरेन । अब २० वर्षपछि थप ईंटा थप्न खोजेको छौं ।

जित्ने दोस्रो आधार संगठन हो । र, तेस्रो- हिजोको अनुभव, विकासको आधारशीला, संगठन र निन्तरको क्रियाशीलता हो ।

आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै एमालेका मेयरका उम्मेदवार शिव सुवेदीले भने, सचेत मतदाताले हामीलाई मतदान गर्ने सल्लाह गरेर बस्नुभएको छ । चुनाव प्रचारका क्रममा भोट माग्दै जाँदा ‘हामीलाई विश्वास छ, काम गर्ने तपाईहरुले हो, हाम्रो आशिर्वाद छ भन्नुभएको छ ।’

कांग्रेस उम्मेदवारको पनि आफ्नै दाबी छ । भिजन नभएको एमालेको आरोप खारेज गर्दै मेयरका उम्मेदवार खेलराज पाण्डेले भावी बुटवल कस्तो हुनुपर्छ भनेर प्रष्ट दृष्टिकोण आफूसँग भएको बताए ।

उनले भने, मेरो जितको आधार भनेको म हरेक जनताको घरदैलोमा उपस्थित हुन्छु । एमालेले जित्यो भने शासक संस्थाको रुपमा अगाडि बढाउने छ । मैले जितेँ भने बुटवल उपमहानगरलाई सेवाग्राही संस्था बनाउँछु ।’

एमालेले जितेपछि अतिवाद सुरु हुने गरेको र नगरपालिका सबैको नभई एमालेको र त्यसमा पनि गुटका कार्यकर्ताको मात्र हुने गरेको उनको आरोप छ । उपमहानगरलाई सबैको साझा संस्था बनाउने अभियान आफूहरुले थालेको भन्दै उनले अगाडि भने- ‘नगरपालिकामा हेर्‍यौं, एमालेलाई सांसदमा हेर्‍यौं । योपटक कांग्रेस र हामीसँग सहमतिको यात्रा गरेको टिमलाई भोट दिनुपर्छ भन्ने मतदाताले बुझेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment