Comments Add Comment

राजपाका उम्मेदवार भन्छन्- अहिले चुनाव लडौं, संघर्ष पछि गरौंला

आफ्नो गाउँ गलत व्यक्तिको हातमा नजाओस् भनेर चुनावमा आयौं


७ असार, भैरहवा । मंगलबार दिउँसो सम्मरीमाई गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा चुनाव चिन्ह लिन उम्मेदवारहरु भिड थियो । त्यो भिडमा राष्ट्रिय जनता पार्टीका अशोक शुक्ल पनि थिए ।

उनले चुनाव चिन्ह त लिइसकेका रहेछन् । तर, उम्मेदवारको परिचयपत्र आउन बाँकी थियो । उनी निकै हतारमा देखिन्थे । चुनाव चिन्ह र परिचय पत्र लिएपछि चुनाव प्रचार प्रसारमा जाने उनको तयारी थियो ।

संविधान संशोधन र जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धिको माग गर्दै राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको चुनाव पनि बहिस्कार गरेको छ । तर, शुक्ला उम्मेदवार बनेका छन् । उनी मात्र होइन, राजपामा १७१ नेता कार्यकर्ता दोस्रो चरणको चुनावमा उम्मेदवार बनेका छन् ।

धेरै रुपन्देहीको मर्चवार क्षेत्रमा छन्, जसका कारण राजपाको पकड क्षेत्र मानिने मर्चवार चुनावमय बनेको छ । पार्टीको निर्णयलाई चुनौती दिँदै अशोक शुक्लहरुले दिएको उम्मेदवारीले राजपाभित्र भने तरङ्ग फैलिएको छ ।

सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा राजपा नेता अशोक शुक्ला र उपाध्यक्षमा कमालुद्दिन शेखले स्वतन्त्र प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिक बब्लु शुक्ला, फोरम कमलापति यादव चुनावी मैदानमा छन् । कांग्रेस, एमाले र माओवादीको तुलानामा राजपा, फोरम र फोरम लोकतान्त्रिक बलियो मानिएको छ ।

मर्चवारी गाउँपालिकामा राजपाकै राजकुमार सिंह स्वतन्त्र प्यानलसहित अध्यक्षमा उठेका छन् । उनको स्वतन्त्र प्यानलबाट उपाध्यक्षमा जानकी प्रसाद चौधरी मनोनयन पत्र दाखिला गरेका छन् ।

मंगलबार दिउँसो मर्चवारीमा पुग्दा राजकुमार सिंह कार्यकर्तामाझ चुनावी रणनीति बनाइरहेका थिए ।

त्यस्तै कोटहीमाई गाउँपालिकाको अध्यक्षमा राजपाका बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले प्यानलसहित स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

राजपाका नेताहरु स्वतन्त्र उम्मेदवार बनेको मर्चवार क्षेत्रका ३ वटै स्थानीय तह साविकको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ । जुन र्वेन्द्रनाथ शुक्लको पकड क्षेत्र मानिन्छ । शुक्ल यसै क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

आफ्नो क्षेत्रलाई सुरक्षित राख्नका लागि नेता शुक्लले ३ वटै स्थानीय तहमा प्यानलसहित नै स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लगाएका हुन् ।

के भन्छन् उम्मेदवार ?

मर्चवार क्षेत्रको सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका अशोक शुक्लले जनता र गाउँको विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।

उनले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा आफूहरुले भाग नलिए आफ्नो गाउँ विकासमा पछि पर्नुका साथै जनताको पनि स्तरवृद्धि नहुने बताए ।

उनले आफूहरुको माग यथावत रहेको भन्दै आफू निर्वाचनमा विजयी भएपश्चात मागहरु सम्बोधन गराउन पहल गर्ने बताए ।

राजपाको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ६ को क्षेत्रीय सदस्य पदबाट राजीनामा दिएर चुनावमा भाग लिएको दावी गर्दै उनले चुनावमा भाग लिएर पनि आफ्नो अधिकारको लडाई लड्न सक्ने बताए ।

निर्वाचनमा भाग नलिएमा आफ्नो गाउँ थप पछाडि पर्ने अवस्था देखिएकाले आफूले चुनावमा भाग लिएको शुक्लले बताए ।

गलत व्यक्तिको हातमा आफ्नो गाउँ (स्थानीय तह) नजाओस् भन्ने उद्देश्यले पनि आफूले उम्मेदवारी दिएको उनी बताउँछन् ।

स्वतन्त्र प्यानलसहित गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका शुक्ल सरकारले मधेसी जनताको माग सम्बोधन नगरी चुनाव गराएकोमा रुष्ट छन् ।

उनी भन्छन्- ‘सरकारले हामी मधेसीलाई अँध्यारोमा राखेर चुनाव गराउन गइराखेको छ । हाम्रो माग सम्बोधन गरेर चुनाव गराए राम्रो हुन्थ्यो । तर, पनि हामीले चुनावमा भाग लिएका छौँ । किनभने, हामी निर्वाचनमा भाग लिएर पनि जनताको प्रतिनिधि बनेर आफ्नो हक अधिकारीको संघर्ष जारी राख्छौँ । हाम्रो मुद्दा अहिले यथावत नै छ ।’

अध्यक्षका दाबेदार शुक्लले स्थानीय स्तरमा विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको विकास गर्ने आफूहरुको चुनावी एजेण्डा रहेको बताए । साथै उनले मधेसी जनताको पहिचान, अधिकार, वर्तमान मधेसी सामुदायको मुद्दा पनि आफुहरुको चुनावी एजेण्डा रहेको बताए ।

यी हुन् मर्चवारी गाउँपालिका अध्यक्षका उम्मेदवार

राजपाका नेता राजकुमार सिंहले मर्चवारी गाउँपालिकाको अध्यक्ष पदमा प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले जनताका आंकाक्षा पूरा गर्नका लागि आफूले गाउँपालिकाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनी राजपामा विलय भएको तमलोपाको साविकको सिलौटियागाउँ कमिटीका अध्यक्ष हुन् ।

सिंहले जनताको आकांक्षा पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउँदै आवश्यक परे आफूले पार्टीबाट राजीनामा दिने बताए । उनले जनताको चाहना चुनाव र सघर्ष दुवै रहेका कारण चुनावमा भाग लिएर विजयी भएमा जनताको जनप्रतिनिधि बनेर मधेसी जनताको अधिकारका लागि संर्घर्ष जारी राख्ने बताए ।

उनले भने-‘२० वर्षपछि चुनाव आएको छ । यो अवसर गुमाउनुहुँदैन । स्थानीयको विकास र मधेसी जनताको अधिकार दिलाउनका लागि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ । म जनप्रतिनिधि बनेर नै मधेसीको जनताको हक अधिकारका लागि सघर्ष जारी राख्नेछु ।’

सिंह पनि सरकारले मधेसी जनताको माग पुरा नगरी निर्वाचन गराएको प्रति रुष्ट छन् । उनी राजपाले राखेका माग सरकारले पूरा गर्नुपर्ने बताउँछन् । उनी भन्छन्- ‘यदि सरकारले मधेसी जनताको माग पूरा गरेर निर्वाचन गराएको भए सुनमा सुगन्ध हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment