Comments Add Comment

विनोद ढकाल भन्छन्- बिराटनगर कांग्रेसको पेवा होइन

'लोकतान्त्रिक फोरमसँग गठवन्धन समयको माग'

७ असार, बिराटनगर । महानगरपालिकाको मेयर जस्तो पदमा ठूलो पार्टीबाट टिकट पाउन ठूलै लडाइँ लड्नुपर्छ । तर, एमाले नेता विनोद ढकाल यसमा अपवाद रहे ।

ढकालको दाबीअनुसार एमालेबाट बिराटनगर महानगरपालिकाको मेयरको टिकट पाउन उनले पार्टीमा मरिहत्ते गरेका थिएनन् । बरु पार्टीले नै उनलाई चुनाव लड्न प्रेरित गरेको थियो । उनको उम्मेदवारीप्रति कसैको असन्तुष्टि सार्वजनिक भएको छैन ।

हाल एमालेका मोरङ जिल्ला अध्यक्षसमेत रहेका ढकाल आफ्नो जितप्रति निश्चिन्त छन् । कांग्रेसले आफ्नो किल्ला ठान्ने गरेको नगरमा उनले कुनै उलटफेर ल्याउन सक्छन्, सक्दैनन् भन्ने त भविष्यले बताउनेछ तर, उनी चुनावी दौडमा निकै सक्रिय छन्

को हुन् ढकाल ?

भोजपुर जिल्लाको याङपाङ गाविसमा २०२५ सालमा जन्मेका हुन् ढकाल । उनका बुवा निमावि शिक्षक थिए । परिवार मध्यमवर्गीय थियो । उनको बाल्यकाल सामान्यरुपमै बित्यो ।

०३६ सालको आन्दोलनका क्रममा हो उनलाई राजनीतिमा चाख लाग्न थालेको । उमेर कलिलै भए पनि उनी कम्तिमा बहुदल र निर्दलको भेद छुट्याउन सक्ने भएका थिए । उनको बालमष्तिस्क निर्दलभन्दा बहुदल ठीक हो भन्ने निक्र्यौलमा त्यतिबेलै पुगेको थियो ।

नजिकका एकजना दाइको प्रभावले ढकाल अनेरास्ववियूप्रति आकषिर्त बने । ०३८ सालमा उनी ८ कक्षामा पढ्दै गर्दा विद्यालयमा स्ववियू चुनाव भएको थियो । उनले आँखा चिम्लेर अनेरास्ववियूमा भोट हाले ।

ढकालले एसएलसी पास गरेलगत्तै ०४१ सालमा उनको परिवार बिराटनगर बसाई सर्‍यो । उनी बिराटनगरको ल क्याम्पसमा भर्ना भए । त्यही क्याम्पसबाट उनको औपचारिक र संगठित राजनीतिक यात्रा सुरु भयो ।

सुरुमा अनेरास्ववियूको सह प्रारम्भिक कमिटी, प्रारम्भिक कमिटी, नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य, सचिव, उपाध्यक्ष र दुई कार्यकाल मोरङ अखिलको अध्यक्ष भए ।

त्यसपछि अनेरास्ववियूको केन्द्रमा तानिए । केन्द्रीय सदस्य, संगठन विभाग प्रमुख र केन्द्रिय उपाध्यक्ष बने । केन्द्रमा तानिएपछि ०५० देखि ५७ सालसम्म उनी काठमाडौंमा बसे ।

अनेरास्ववियूको केन्द्रीय उपाध्यक्षसम्म भएपछि उनको विद्यार्थी राजनीति टुंगियो । त्यसपछि मोरङ फर्केर पार्टी राजनीति सुरु गरे । सुरुमा वडा कमिटी, इलाका कमिटी हुँदै क्षेत्रीय कमिटीमा रहे । त्यसपछि जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, नगर इन्चार्ज र संगठन विभाग प्रमुख बने । पहिलो संविधानसभा चुनावपछि १ वर्ष कार्यवाहक जिल्ला सचिव भए र त्यसपछि तीन वर्ष जिल्ला अध्यक्ष बने । उनी अहिले पनि जिल्ला अध्यक्ष नै छन् ।

पढाइको हकमा उनले बीएलसम्मको अध्ययन पूरा गरेका छन् । डिग्री भर्ना भए पनि राजनीतिक व्यस्तताले गर्दा पूरा गर्न नसकेको उनी बताउँछन् ।

फ्याक्ट्रीमा सुपरभाइजरदेखि होम ट्युसनसम्म

ढकालले राजनीति सुरु गर्दा कठिन परिस्थिति थियो । पञ्चायत उत्कर्षमा रहेको र बहुदलका लागि देश छट्पटिइरहेको अवस्थामा राजनीतिमा होमिँदा उनलाई सहज भएन ।

एकातर्फ कुनै पनि बेला पक्राउ पर्नसक्ने र प्रहरीबाट छलिएर हिँड्नुपर्ने त्रासदी, अर्कोतर्फ परिवारको जिम्मेवारी । उनले आफूलाई तरवारको धारमा हिँडाउँदै लगे ।

अनेरास्ववियूको राजनीति गर्ने क्रममा नै एक सहयोद्धासँग उनको प्रेम बस्यो । दुवैतर्फको परिवारको सहमतिमा उनीहरुले बिहे गरे । बिहेपछि पारिवारिक दायित्व झन् बढ्यो । आर्थिक रुपमा जीवन धान्न कठिन हुँदै गएपछि उनले केही समय एउटा फ्याक्ट्रीमा सुपरभाइजरको काम गरे । पछि त्यो काम छोडेर होम ट्यूसन पढाउन थाले र सँगसँगै राजनीतिलाई पनि अघि बढाए ।

यतिञ्जेलमा उनकी पत्नीले पढाइ सकेर मोरङ क्याम्पसमा प्राध्यापन गर्न थालिन् । त्यसपछि बल्ल ढकाल खुकुलो भए र खुलेर आफूलाई राजनीतिमा केन्दि्रत गरे ।

माघ १९ को शाही कदमका बेला ढकाल एमालेको जिल्ला अध्यक्ष थिए । बिराटनगरमा सरकारविरोधी आन्दोलनको नेतृत्व उनैले गरेका थिए । त्यसैले उनी प्रहरी-प्रशासनको आँखाको कसिंगर बने । आखिरमा क्षेत्रीय प्रहरी कार्यालयले पक्राउ गरेर ४ महिना हिरासतमा राख्यो । अदालतको आदेशले उनी छुटेका थिए ।

यसरी पाए टिकट

यति लामो राजनीतिक जीवनमा ढकाल कहिल्यै लाभको पदमा पुगेनन् । एकपटक संसदीय चुनावमा मोरङ क्षेत्र नम्बर ७ बाट लडेका थिए, तर शेखर कोइरालाबाट पराजित बने ।

यसपालि स्थानीय चुनावमा उठ्ने उनको पूर्वयोजना थिएन । पार्टीको जिल्ला अध्यक्षका रुपमा जिल्लाभरि पार्टीलाई अग्रस्थानमा पुर्‍याउने जिम्मेवारी उनको काँधमा थियो । तर, पार्टीले उनैलाई मेयरको उम्मेदवार बनाइदियो ।

‘मैले दौडधुप गरेर टिकट पाएको होइन,’ ढकाल भन्छन्, ‘नजिकका साथीहरु, पार्टीका कार्यकर्ता र पार्टी केन्द्रले घच्घच्याएपछि मात्र उठेको हुँ ।’

बिराटनगरमा मेयरको टिकटलाई लिएर पार्टीभित्र कुनै खिचातानी नभएको र अहिले कोही असन्तुष्ट पनि नरहेको उनले बताए ।

‘गठवन्धन समयको आवश्यकता’

बिराटनगरमा एमालेले लोकतान्त्रिक फोरमसँग गठवन्धन गरेको छ । फोरमलाई उपमेयर छोडेर एमालेले मेयर लिएको छ । यो गठवन्धनलाई कतिपयले आश्चर्यको भावले हेरेका छन् ।

हामीले ढकाललाई सोध्यौं, ‘मधेसविरोधी भनिने एमाले र मधेसवादी भनिने लोकतान्त्रिक फोरमको गठवन्धन अलि अप्राकृतिक भएन र ?’

‘विल्कुल अप्राकृतिक होइन, लोकतान्त्रिक फोरम र हाम्रो धेरै एजेन्डा समान छन् । उनीहरु हामीजस्तै संविधान कार्यान्वयनका पक्षधर हुन्, चुनावका पक्षधर हुन् । अहिलेको मुलभूत एजेन्डा यही नै हो,’ उनले जवाफ दिए ।

ढकाल अगाडि भन्छन्, ‘यो परिस्थितिले गराएको सहकार्य हो । हामीले राष्ट्रिय राजनीतिमा नै नयाँ सन्देश दिन खोजेका छौं । यो गठवन्धनले एमालेलाई मधेसविरोधीको आरोप लगाउनेहरुको मुखमा बुझो लाग्नेछ । राजनीतिक रुपमा पनि यो गठवन्धन अहिलेको आवश्यकता हो ।’

उनले बिराटनगरमा मधेसी र पहाडीबीच खाडल नरहेको उल्लेख गर्दै मधेसी जनतासमेत आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको बताए ।

७० प्रतिशत मतदाता चिनजानकै

ढकाल आफ्नो जितका आधारहरु यसरी प्रस्तुत गर्छन्ः

– स्थानीय चुनाव व्यक्ति-व्यक्तिबीचको मात्र नभएर पार्टी-पार्टीबीचको प्रतिस्पर्धा हो । राष्ट्रिय राजनीतिमा खेलेको नेतृत्वदायी भूमिका र अघि सारेका राष्ट्रवादी एजेन्डाले गर्दा एमाले जनताको प्यारो बनेको छ । त्यसैले पार्टीगत भोट मेरो जितको पहिलो आधार हो ।

– बिराटनगरको नवनिर्माणका लागि मैले ठोस खाका र प्रतिवद्धता जनतासामु प्रस्तुत गरेको छु । यसका आधारमा पनि जनताले मलाई मत दिने विश्वास लिएको छु ।

– कांग्रेसका साथीहरुले बिराटनगरलाई आफ्नो पेवाजस्तो मान्छन् । वीपी-गिरिजाको गृहनगर भएकाले यसलाई उनीहरुले आफ्नो पकडभित्र रहेको हेर्न चाहेका होलान् । अघिल्लो निर्वाचनमा कांग्रेसले यहाँ जित हासिल गरेको पनि हो । तर, इतिहासलाई कोट्याउँदा वामपन्थिहरुले पनि यहाँ जितेका उदाहरण छन् ।

स्थानीय निकायको अघिल्लो चुनावमा एमालेले शानदार जित हासिल गरेको यहीँ हो । विगतको संसदीय चुनावमा कमल कोइराला र गुरु बरालले जित्नुभएकै हो । दुई संविधानसभा चुनावमा मात्रै हामी पछि परेका छौं । त्यसलाई यसपालि रिकभर गर्नेछौं ।

– म बिराटनगरमा ४१ सालदेखि अनवरतरुपमा क्रियाशील छु । राजनीतिक मात्र नभएर सामाजिक र जनसरोकारका विषय सबै विषयमा प्रत्यक्ष-अप्रत्यक्ष संलग्न छु । म भोट माग्न पुग्दा ७० प्रतिशतभन्दा बढी मतदाता चिनजानकै हुन्छन् । त्यसैले मेरो व्यक्तिगत भोट जितको अर्को आधार हो ।

ढकालका एजेन्डा

ढकालले ‘हामी बनाउँछौं हाम्रो बिराटनगर, अन्तर्राष्ट्रियस्तरको आधुनिक र समृद्ध बिराटनगर’ भन्ने नारासहित आफ्नो चुनावी अभियान अघि बढाइरहेका छन् । यस नाराभित्र समेटिएका उनका प्रमुख एजेन्डाहरु यसप्रकार छन्ः

– बिराटनगरलाई १ नम्बर प्रदेशको प्रादेशिक राजधानी बनाउन पहल गर्ने ।
– दिगो शहरी विकासमा आधारित नक्शांकनसहितको देशको दोस्रो ठूलो महानगर बनाउने ।
– भूमिहीन तथा सुकुम्बासीका लागि सामुहिक बस्ती निर्माण गर्ने ।
– बिराटनगरलाई औद्योगिक र आर्थिक केन्द्रका रुपमा विकास गर्ने ।
– युवाहरुका लागि युवा उद्यम कार्यक्रम, स्पोट्र्स भिलेज निर्माण र अन्तर्राष्ट्रिय रंगशाला बनाउने ।
– चालु विकास निर्माणका योजनाहरुलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने ।
– बाइपास रोड, रिंगरोडलाई द्रुत गतिमा अघि बढाउने ।

अन्त्यमा उनले भने, ‘म बिराटनगरमा कुनै नयाँ नाम होइन । परिचित मान्छे हुँ । राजनीतिक र सामाजिक क्षेत्रमा बिराटनगरवासीको सेवा गरेको छु । मलाई निर्वाचित गर्नुस, धोका दिन्न । म समृद्ध, आधुनिक र अन्तर्राष्टियस्तरको शहर तपाईंहरुलाई दिनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment