Comments Add Comment

पलेँटीमा पाँचौं पटक शान्ति ठटालको प्रस्तुति

७ असार, काठमाडौं । दार्जिलिङमा रहेर नेपाली संगीतमा विशेष छाप छाड्ने अग्रज संगीतकार तथा गायिका शान्ति ठटाल यसपटक जून महिनाको पलेँटी शृंखलामा प्रस्तुत हुने भएकी छन् ।

आधुनिक नेपाली संगीतको सुरुवाती समयमै आफ्नो अमिट उपस्थिति छाडेकी ठटाल यही असार १६ गते शुक्रबार नेपालयको ‘आर’ शालामा सुनिँदै छिन् । त्यस क्रममा ठटालले पुरानो समयका सिर्जनाहरु सम्झनामा ब्युँताउनेछिन् ।

ठटाल नेपाली भाषाका चलचित्रमा संगीत भर्ने पहिलो महिला संगीतकारका रुपमा परिचित छिन् । उनले ‘परालको आगो’ र ‘बाँच्न चाहनेहरू’ मा संगीत दिएकी थिइन् ।

अम्बर गुरुङले संगीतबद्ध गरेको ‘सम्हालेर राख’, ‘मेरो दु:खी मन’ जस्ता कालजयी गीतबाट ठटाल नेपाली श्रोतामाझ परिचित नाम हो । यी दुवै गीत सन् १९६५ मा रेडियो नेपालको स्टुडियोमा एकैदिन रेकर्ड भएका थिए ।

सिक्किमको सांस्कृतिक विभागमा लामो समय संगीतको नेतृत्व गरेकी ठटालले कवि ईश्वरवल्लभद्वारा रचिएको ‘एउटा नीलो सूर्यास्त’ लाई काव्य संगीत (क्यान्टटा) शैलीमा कम्पोज गरेकी छिन् । सो क्यान्टाटालाई उनले सन् २०१२, अगष्ट ३१ को पलेँटीमा प्रस्तुत गरेकी थिइन् ।

संगीतकार ठटालले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू ‘मुनामदन’, ‘कुञ्जिनी’ र ‘म्हेन्दो’ मा आधारित सांगीतिक सिर्जना पनि गरेकी छिन् । तर, तिनको रेकर्ड आफूसँग सुरक्षित नभएको र धुनहरु बिर्सिसकेको उनी बताउँछिन् । ती धुनहरु यो पलेँटीमा पस्किन उनी प्रयासरत छिन् । पलेँटीले त्यो संगीत फेरि उनको सम्झनामा ल्याउने प्रयास गरिरहेको छ ।

‘अग्रज संगीतकारहरुले कुनै समय रचना गरेका महत्वपूर्ण सिर्जनाहरुको जानकारी कसैलाई नहुनु र त्यसको रेकर्ड समेत सुरक्षित राखिएको नपाइनु दुर्भाग्य हो’, पलेँटीका संयोजक तथा गायक/संगीतकार आभाष भन्छन्, ‘पलेँटीको एउटा उद्देश्य त्यस्ता सिर्जनालाई व्यवस्थित पारेर नयाँ पुस्ताहरुका निम्ति सुरक्षित राखिदिनु पनि हो ।’

उनले ठटालले ती धुनहरुको फेरि सम्झना गर्न समर्थ भएपछि फेरि अर्को पलेँटी प्रस्तुत गर्ने योजना समेत सुनाए ।

ठटालका सिर्जनालाई लामो समयदेखि पलेँटीमा आबद्ध गायिका मीना निरौला र दार्जिलिङबाट शान्ति ठटालकै साथमा आएकी गायिका सोनू राईले प्रस्तुत गर्नेछन् । वाद्यवादनतर्फ दिनेश रेग्मीले किबोर्ड, बुद्ध लामाले बाँसुरी, सुन्दर महर्जनले पर्कसन, सन्देश महर्जनले तबला र सुरजकुमार प्रधानले गितार बजाएर साथ दिनेछन् ।

३१ मार्च २००६ मा पलेँटीमा उपस्थित हुँदा ठटालले ६६ वर्षको उमेरमा आफ्नो सांगीतिक जीवनकै पहिलो एकल कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनी २६ सेप्टेम्बर २००८ मा पलेँटीमा दोस्रो पटक आएकी थिइन् । यसपाली पलेँटीमा पाँचौं प्रस्तुति गर्न लागेकी ठटालले फेरि नेपाल आउन पाएकोमा गर्व लागेको सुनाइन् ।

‘निकै अगाडि चुँडिएको नेपाल र दार्जिलिङबीचको सांगीतिक सेतुलाई पलेँटीले फेरि जोड्ने काम गर्दै आएको देख्दा खुशी लागिरहेको छ’, उनले भनिन् । संगीतमा ६ दशक समय गुजारेकी ठटालले सक्रिय गायनबाट अवकाश लिइसक्दा पनि पलेँटीले आफूलाई पुनः संगीतमा फर्किन ऊर्जा दिएकोमा आभार प्रकट गरिन् ।

अंग्रेजी पात्रो अनुसार महिनाको अन्तिम शुक्रबार हुने गरेको पलेँटीले अहिलेसम्म नेपाल र अन्यत्रका ४५ भन्दा बढी कलाकारलाई प्रस्तुत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment