Comments Add Comment

प्रदेश र संसदको निर्वाचन एकै चरणमाः डा. महत

७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारले गृहकार्य सुरु गरेको बताएका छन् ।

दुई वटै निर्वाचन एकै चरणमा गर्नु पर्ने उनले बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने भने, ‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै खर्चिलो र झन्झटिलो हुने भएकोले एकै चरणमा निर्वाचन गर्नुपर्छ । सरकारले त्यही अनुसार गृहकार्य सुरु गरिरहेको छ ।’

एकै चरणमा निर्वाचन गर्दा राजनीतिक दलहरुलाई उम्मेदवारका लागि टिकट दिन पनि सहज हुने उनको जिकिर छ ।

राजपाको सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणको लागि सारिएको भन्दै उनले असोज २ गतेपछि निर्वाचन नसर्ने जिकिर गरे । उनले भने, ‘असोज २ गतेको निर्वाचन अब कसैलेपनि टार्न सक्दैन ।’

राजपाले आफूहरुसँग एउटा सहमति गरेको र बाहिर आएर सहमति मान्दिन भनेको उनको दाबी छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्मालेपनि प्रदेश र केन्दि्रय संसदको चुनाव मंसिरको अन्तिमसम्ममा एकै चरणमा गर्नुपर्ने बताए । उनले भने,’समयको बचत भयो, पैसाको पनि बचत हुन्छ, मुलुकलाई भार पर्दैन, त्यसैले प्रदेश र केन्दि्रय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ ।’

शर्माले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन समयमा नै सम्पन्न हुने बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकी तीनै तहको निर्वाचन सफल रुपमा सम्पन्न गराउने भन्दै शंका नगर्न आग्रह गरे । उनले प्रदेश नम्बर २ को चुनाव अघिसंविधान संशोधन र बाँकी राजनीतिक मागहरु सम्बोधन गर्न सरकारले पहल गर्नुपर्ने सुझाव समेत दिए ।

माओवादी नेता शर्माले जनसंख्याको आधारमा स्थानीय तहमको संख्या १० वा २० थप्दा कसैलाई पनि घाटा नहुने जिकिर गरे ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा.बंशिधर मिश्रले सरकारले चुनाव नचाहेकै कारण प्रदेश नम्बर २ को चुनाव सारिएको आरोप लगाए । उनले भने, ‘यो चुनाव सार्नुको कुनै औचित्य छैन् । चुनाव कुनैपनि हालतमा सार्नुहुन्थेन, सरकारले चाहेको भए चुनाव गर्न सक्थ्यो ।’

वर्तमान सरकारले तीनै तहको निर्वाचन गराउन सक्छ्न या सक्दैनन भन्ने कुरा अझै शंका रहेको उनले बताए ।

संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिबजी यादवले निर्वाचनले सहमतिको बाताबरण बनाएको दाबी गरेका छन् ।

उनले आफ्नो पार्टी निर्वाचनमा भाग लिँदा राजपाका केही नेताहरुले गैर-राजनैतिक अभिव्यक्ति दिएको आरोप लगाए । फोरम नेता यादवले भने,’मनिष सुमनजीले आरोप लगाएको कुरा बाहिर आएको छ, तर यो गैर-राजनीतिक भाषा हो, यसले उहाँकै मुखमा छिट्टा पारेको छ ।’

कार्यक्रममा राजपा नेता रामनरेशराय यादवले राजपा नेपाल गठन भएपछि ठूला राजनीतिक दलहरुको जग हल्लिएर राजपालाइ चुनावमा जान रोकेको आरोप लगाए । उनले काठमाडौंमा बसेर कसैले यति भोट ल्याउँछौं वा उति भोट ल्याउँछौं भनेर कसैलेपनि ठूला कुरा गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment