Comments Add Comment

अष्ट्रेलियामा पहिलो पटक यसरी प्रदर्शन भएको थियो नेपाली चलचित्र ‘बलिदान’

१९ वर्ष अघि चलचित्र 'बलिदान'को १२५ किलोको चक्का ल्याइएको थियो

२१ जून, सिड्नी । अष्ट्रेलियालाई नेपाली चलचित्रको लागि राम्रो बजार मानिन्छ । तर, केही समययता आएर यो बजारमा केही असर पर्न थालेको छ ।

नेपाली चलचित्रलाई माया गर्ने नेपाली दर्शकहरूको संख्या बढी भएको अष्ट्रेलियामा पहिला कुन नेपाली चलचित्र आएको थियो ? कसले ल्याएको थियो, या त्यति बेलाको बजार कस्तो थियो ? यो बारेमा सिड्नीमा रहेका अगुवा तथा एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन के.सी.ले यसरी अनलाइनखबरसंग संस्मरण सुनाएका छन ।

कूरा सन् १९९८ अर्थात १९ वर्ष अगाडिको हो । हामी त्यो समयमा सबै विधार्थी थियौ । त्यति बेला सिड्नीमा मुस्किलले १ हजारको हाराहारीमा नेपालीहरू हुनुहुन्थ्यो । नेपाली कला, चलचित्र, संस्कृति र गीतसंगीतका क्षेत्रमा पनि केही गर्नु पर्छ भन्ने सोचले हामीले सिड्नीको समर हिल पार्कमा मिटिगं बसेर एउटा चलचित्र ल्याउने निर्णय गरेका थियौं ।

त्यतिबेला नेपालमा चलचित्र ‘बलिदान’ को चर्चा ब्यापक थियो । मिटिङ बस्दा सबैले पैसा उठाउने कूरा गर्‍यौं । कुराकानी कै क्रममा ११ हजार अष्ट्रेलियन डलर उठ्यो । पछी सबैलाई फिर्ता दिने सहमतिमा त्यो रकम उठाइएको थियो । यो चलचित्र एनएडिएफ संस्थाको पहलमा ल्याइएको थियो । म त्यो संस्थाको महासचिव थिए । नयाँ काम भएकाले सबैले एक वचनमा नै रकम दिए । तुरून्त नेपाल फोन गरेर नेपाली रूपैयाँ करिव दुई लाखमा बलिदानका निर्देशक तुलसी घिमिरे र निर्माता श्याम सापकोटासंग कूरा फिक्स भयो । फिल्म त ल्याउने भइयो तर कसरी ल्याउने ? हामी सबै अनबिज्ञ थियौ , त्यो बेलामा अहिले जस्तो सजिलो थिएन , फिल्मको चक्का नै ठूलो हुन्थ्यो ।

हामीले पछी थाई एयरलाइन्सलाई आग्रह गरेर पनि १२५ किलो वजनको चक्कालाई अष्ट्रेलियामा ल्याउँदा फिल्मको भन्दा बढी खर्च भयो । २ लाखमा फिल्म लेराइएको थियो भने हबाईजहाजबाट ल्याउँदा ३ लाख खर्च भयो । हामीले त्यो फिल्म पहिलोपटक सिड्नीको हर्सभिलमा रहेको सिबिक थिएटरमा देखाएका थियौ । दुई शो चल्दा लगभग ५०० नेपालीहरूको सहभागिता थियो । आयोजक सबै कोट र टाईमा आउनु पर्ने उर्दी नै लगाएका थियौ । सबै त्यसै गरी आए ।

नेपाली सिनेमालाई अष्ट्रेलियामा ल्याउने हाम्रो सपना पूरा भएको त्यो दिन हामी खुशीले रातभरी सुतेनौ । नेपाली कार्यक्रम नै हुदैनथ्यो त्यति बेला । विदेशी कार्यक्रम सुन्दा हाम्रो दिन कहिले आउला जस्तो लाग्दथ्यो । हामी त्यसरी सफल भएका थियौ । हामीलाई त्यो शो ले घाटा पारेन । एकले अर्कालाई नजिकबाट चिन्ने हुँदा सबै आएर साथ दिए ।

अहिले नेपाली चलचित्रको बजार नेपाल पछी अष्ट्रेलिया पनि राम्रो हो भनेको सुन्दा गर्वले छाती फूल्छ । नेपाली सिनेमाको अष्ट्रेलिया बजार अब च्यारिटीमा मात्र सिमित राख्नु हुदैन । रेगुलर हलमा चलाउने प्रयासमा लाग्नु पर्छ । यहाँ नसकिने कूरा केही पनि छैन । आवश्यकता छ त संकल्प र दृढताको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment