Comments Add Comment

मेयर बन्न पूर्वमन्त्रीदेखि पूर्व सांसदसम्म चुनावी मैदानमा


८ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचनमा पूर्व सहायकमन्त्रीदेखि पूर्व सांसद र जिल्ला सभापति समेत चुनावी मैदानमा उत्रिएका छन् । मन्त्री भइसकेका व्यक्ति स्थानीय चुनावमा लडेपछि वैतडीमा चुनावी माहौल रोचक बनेको छ ।

वैतडीको पाटन नगरपालिकामा नेपाली कांग्रेसबाट पूर्व सहायकमन्त्री केशवहादुर चन्द मेयरको उम्मेदवार बनेका छन् । ६० वर्षीय चन्द २०५४ सालमा महिला वालवालिका तथा समाजकल्याण सहायकमन्त्री भएका थिए ।
कांग्रेसबाटै रोल्पा नगरपालिकाको मेयरमा पनि पूर्वसांसद लेखनाथ आचार्य उम्मेदवार बनेका छन् । आचार्य २०५६ सालमा रोल्पाबाट सांसद निर्वाचित भएका थिए । उनले माओवादीका पूर्ण केसी करेन्ट र एमालेकी मीना शर्मासँग प्रतिस्पर्धा गर्नेछन् ।चन्दले एमालेका नरेश विश्वकर्मा र माओवादीका शंकर भण्डारीसँग प्रतिस्पर्धा गर्नेछन् । पूर्व सहायकमन्त्री नै उम्मेदवार बनेपछि कांग्रेसले पाटन नगरपालिकालाई प्रतिष्ठाको विषय बनाएको छ ।

माओवादी जनयुद्धको उद्गमथलो रहेको रोल्पा नगरपालिकाको चुनावलाई माओवादी केन्द्रले प्रतिष्ठाको विषय बनाएको छ । यहाँ मुख्यतः माओवादी र कांग्रेसको प्रतिस्पर्धा हुनेछ ।

दाङको तुल्सीपुर नगरपालिकाको मेयरमा पनि कांग्रेसले पूर्व सांसद गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ । गिरी २०५६ सालमा दाङबाट सांसद निर्वाचित भएका थिए । उनले एमालेका घनश्याम पाण्डे र माओवादीका शेशुराम भण्डारीसँग प्रतिस्पर्धा गर्दैछन् ।

माओवादी केन्द्रले यसपटक तीनजना पूर्व सभासदलाई चुनावी मैदानमा पठाएको छ । खोटाङको रुपाकोटगढी मझुवा नगरपालिकाको मेयरमा पूर्व सभासद दुर्गा जयन्ती राई उम्मेदवार बनेकी छन् ।

तत्कालिन जनमोर्चा पृष्ठभूमिकी राई जिल्लाकी प्रभावशाली महिला नेता हुन् । उनले आफ्नो मुख्य प्रतिस्पर्धा एमालेका दिपनारायण रिजालसँग हुने बताइन् । राई माओवादी पोलिटव्यूरो सदस्य पनि हुन् ।

त्यस्तै अर्का पूर्व सभासद जगत पार्की डडेलधुराको आलिताल नगरपालिकाको मेयर उम्मेदवार बनेका छन् । आलिताल माओवादीको प्रभाव क्षेत्र हो ।

माओवादीका अर्का पूर्व सभासद पट्टु थारु बाँकेको राप्ती सोनारी गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनेका छन् । थारु बाहुल्य रहेको राप्ती सोनारीमा उनले एमालेका तुलसीराम थारु र कांग्रेसका लाहुराम थारुबीच प्रतिस्पर्धा गर्नेछन् ।

बझाङको जयपृथ्वी नगरपालिकाको मेयरमा पूर्व जिविस सभापति चेतराज बझाल कांग्रेसबाट मेयरको उम्मेदवार बनेका छन् ।

पहिलो चरणको स्थानीय चुनावमा एमालेका पूर्व सभासद लालमणी चौधरी चितवनको खैरहनी नगरपालिकाको मेयर निर्वाचित भएका थिए । त्यस्तै नेपाल मजदूर किसान पार्टीका सुनिल प्रजापति झक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment