Comments Add Comment

झापामा ओलीलाई कसको डर ? एकै दिन ५ चुनावी सभा, मध्यरातसम्म मन्त्रणा


७ असार, झापा । स्थानीय चुनावसँग झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दौडधुप निकै बढेको छ । सोमबारदेखि गृहजिल्ला झापामा रहेका ओलीले एकै दिन ५ ओटासम्म चुनावी सभा र दर्जनौं भेला तथा बैठकहरुमा सहभागिता जनाइरहेका छन् ।

मृगौला प्रत्यारोपणपछि निकै थलिएका ओलीलाई चिकित्सकले धेरै धपेडी नगर्न र भिडभाडबाट टाढा रहन सल्लाह दिइरहेका छन् । तर ओली भने राति १ बजेसम्म खटिरहेका छन् । प्रचण्ड गर्मीमा झापाको काँकडभिट्टादेखि केचनाकलनसम्मका भूभागको दौडाहामा छन् ।
ओली झापामा किन यसरी केन्दि्रत भए ? यो प्रश्नले सुरक्षा प्रमुखहरुलाई समेत घुमाइरहेको छ । ‘झापामा उहाँ यति धेरै खटिएको हामीले पहिलो पटक देख्दैछौं, उहाँको मूभमेन्टलाई हामीले पछ्याउँनै नभ्याउने गरी खटिनुभएको छ’ जिल्लाका एक सुरक्षा अधिकारीले बताए ।पहिलो चरणको स्थानीय चुनावको परिणामबाट एमाले पहिलो भए पनि पूर्वप्रधानमन्त्री समेत रहेका ओली त्यो नजितासँग सन्तुष्ट छैनन् । उनी दोस्रो चरणमा १ नम्बर प्रदेशबाट बहुमत सहित ५ र ७ मा पनि एमालेलाई पहिलो पार्टी बनाउने अभियानमा रहेका छन् ।

स्रोतका अनुसार एमाले झापामा असन्तुष्टि ठूलो छ । त्यसमाथि कांग्रेसको तीब्र दबावमा परेपछि ओली आफैं खटिएका हुन् । गृहजिल्ला झापामा उम्मेदवारी चयनका क्रममा उत्पन्न असन्तुष्टि साम्य पार्नका लागि दमक पुगेका एमाले अध्यक्ष ओलीले सोमवार झापा ओर्लिनासाथ कन्काईमा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

ओलीले मंगलबार दमक नगरपालिकाका ५ ओटा वडाका चुनावी सभालाई सम्बोधन गरेका थिए । दमक ओलीको गृहनगर हो । त्यहाँ एमालेबाट रोमनाथ ओली मेयर र गीता अधिकारी उपमेयरका उम्मेदवार छन् । ओलीले मंगलबार दमकका वडा नम्बर १, ३, ४, ५ र १० नम्बर वडाका चुनावी सभालाई सम्बोधन गरेका छन् ।

दमकको विकासको जिम्मा आफूले लिएको भन्दै ओलीले एमालेका उम्मेदवारलाई आफ्नो विकास दूतका रुपमा परिचय गराए । दमकका चुनावी सभाहरुलाई सम्बोधन गरेपछि विर्तामोड पुगेका ओलीले त्यहाँ उद्योगी व्यवसायीहरुलाई भेला गरेर भोट मागेका छन् ।

ओलीको सक्रियता यति बढेको छ कि टिकट नपाएका असन्तुष्ट कार्यकर्तालाई राति १ बजेसम्म सम्झाएका थिए । निवासमा कार्यकर्ता भेटघाट र छलफल गरेर सुत्दा रातिको १ बजेको बज्राचार्यले बताए ।

बुधबार बिहानैदेखि भेटघाट र छलफलमा व्यस्त रहेका ओलीले ५ ओटा चुनावी सभालाई सम्बोधन गरे । झापा गाउँपालिकास्थित कामाटोलीको चुनावी सभालाई सम्बोधन गरे लगत्तै उनी अर्जुनधारा पुगे । अर्जुनधाराको चुनावी सभा लगत्तै ओली विर्तामोडको वृहत चुनावी सभामा सहभागी भए ।

बिर्तामोडपछि उनी मेचीनगर नगरपालिकाको चुनवाी सभालाई सम्बोधन गर्न काँकडभिट्टा पुगेका थिए ।

ओली बिहीबार पनि झापाका केही चुनावी सभाहरुलाई सम्बोधन गरेर काठमाडौं फर्किनेछन् । ओलीले चुनावी सभाहरु भन्दा पनि कोठे बैठक, उद्योगी व्यवसायी तथा भोट वैंक रहेका व्यक्ति तथा समूहहरुसँगको अनौपचारिक छलफलमा जोड दिएको स्रोतले जनाएको छ ।

दमकका बासिन्दा भए पनि ओलीले पछिल्लो समय मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा सारेका छन् । उनी विराटनगर महानगरपालिका सहित मोरङ र सुनसरीका चुनावी कार्यक्रममा भाग लिन असार १० गते त्यसतर्फ लाग्ने बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment