Comments Add Comment

विमानस्थलको बिजोगः काठमाडौंदेखि पोखरासम्म के काम हुँदैछ ?

राष्ट्रिय ध्वजावाहकसँग जहाज कम, कहिले बन्ला निजगढ ?

source: flickr

८ असार, काठमाडौं । नेपालमा पर्यटकहरु भित्रिने क्रममा उल्लेख्य सुधार नभएको व्यवसायीहरुबाट गुनासो आइरहेका बेला यसको कारणको खोजी हुन थालेको छ ।

नेपालमा स्तरीय होटलहरु पनि नयाँ नयाँ खुलिरहेका छन् । राजनीतिक वातावरण पनि सन्तोषजनक नै छ । तै पनि पर्यटकहरुको आगमन किन सन्तोषजनक हुन सकिरहेको छैन ?

यसबारे अधिकांश व्यवसायीको विचार के छ भने विमानस्थल लगायतका भौतिक पूर्वाधारहरुको पर्याप्त विकास हुन नसकेका कारण पर्यटन व्यवसायमा यसको असर परिरहेको छ ।

आखिर नेपालका विमानस्थलको अवस्था के छ ? हेरौं यसबारे केही तथ्यः

गौतम बुद्ध विमानस्थलः काम सुस्त

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ठेकेदार र सहठेकेदारवीचको विवादले पुनः काममा अवरोध आएको छ ।


सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी यसको काम सुरु भएको भएको थियो । तर, बेलाबेलामा ठेकेदार र सहठेकेदारवीचको विवादले काम लक्ष्य अनुरुप अघि बढ्न सकेको छैन ।

समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले यसलाई सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको छ । चीनको नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले यसको ठेक्का लिएको हो ।

त्रिभुवन विमानस्थलः ठेकेदार छनोट हुँदै

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारको ठेक्का लिएको कम्पनी सान्जोसेले समयमै काम नसकेपछि सरकारले सम्झौता तोडेर अहिले नयाँ ठेकेदार कम्पनी छनौट गर्दैछ ।

सन् २०१६ मै यसको निर्माण सक्ने लक्ष्य लिइएको थियो । तर अहिले बल्ल यसको ठेकेदार कम्पनी छनोटको काम सुरु भएको छ । फेज वान र टुको ठेकदार छनौटको काम सुरु भएको भए पनि फेज थ्री मा भने नागरिक उड्डयन प्राधिकरणले ठेकेदार पाउँन सकेको छैन । यसअघि खुलेको टेण्डरमा यसमा कसैले पनि आवेदन गरेका थिएनन् । जसका कारण अहिले पुनः टेण्डर आहृवान गरिएको छ ।


फेज वान र फेज टुको निर्माणका लागि आवेदन दिएका कम्पनीहरुको अहिले प्राविधिक बिश्लेषण भइरहेको छ । यसपछि आर्थिक विश्लेषण गरेपछि मात्रै कम्पनीको छनोट हुने श्रेष्ठ बताउँछन् । सन् २०१८ को अन्त्यसम्ममा निर्माण गर्ने लक्ष्य लिइएको भए पनि यसको अहिलेको प्रगति हेर्दा समयमै काम सम्पन्न हुनेमा ढुक्क हुने स्थिति छैन ।

देशको एक मात्रै अन्तर्राष्ट्रिय बिमानस्थलको समयमै बिस्तार हुन नसक्दा अहिले हवाइ जहाजहरु आकाशमै होल्ड हुने अवस्था बढेर गएको छ । यसरी लामो समय आकाशमा जहाज होल्ड हुँदा विमान कम्पनीलाई ठुलो घाटा लाग्ने गरेको छ ।

पोखरा विमानस्थलः स्क्र्यू एकाउन्ट खोल्ने तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि अहिले ‘स्क्र्यु एकाउन्ट’ खोल्ने प्रक्रिया अघि बढाइएको छ । चीनको एक्जिम बैंकबाट ऋण लिएर निर्माण गर्न लागिएको यो आयोजना निर्माण पश्चातको नाफाबाट ऋण तिर्ने योजना बनाइएको छ । यसैका लागि नै स्क्रयू एकाउन्ट खोल्न लागिएको हो ।


नेपाल सरकार र चीनको सीएमएसी इञ्जिनियरिङवीच यसको निर्माण सम्झौता भएको छ । अहिले यो कम्पनीले डीपीआरको काम अघि बढाइरहेको छ । आगामी आर्थिक वर्षबाट मात्रै यसको निर्माणको काम सुरु गरिने श्रेष्ठ बताउँछन् ।

उनले भने, ‘सुरुमा यो विमानस्थल पनि सन् २०१८ को अन्त्यसम्ममा नै सक्ने हाम्रो लक्ष्य थियो, तर अहिले २०२० सम्ममा सक्ने नयाँ लक्ष्य लिएका छौं ।’

राष्ट्रिय ध्वजावाहकसँग जहाज कम

राष्ट्रिय ध्वजावाहक नेपाल वायू सेवा निगमसँग अहिले जहाज पर्याप्त छैनन् । दुईवटा बोइङमध्ये एउटा पुरानो भएर लिलामीमा राखिएको छ भने अर्काे मर्मतका लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा बस्नेछ ।

अहिले निगमले दुईवटा वाइडबडी एयरबस खरिद गर्न लागेको छ, जुन सन् २०१८ को मे महिनासम्ममा ल्याउने निगमको तयारी छ । नेवानीसँग अन्तर्राष्ट्रिय उडानका लागि जहाज थोरै हुँदा धेरै गन्तव्यमा पुग्न सकेको छैन ।

अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको नेपाल आउने भाडा चर्काे छ । महंगो भाडा भएका कारण पनि नेपालले अहिले विदेशबाट पर्यटक तान्न नसकेको होटल एसोसियसन अफ नेपाल (हान) का महासचिव विनायक शाह बताउँछन् ।

‘अन्तर्राष्ट्रिय विमान कम्पनीको नेपाल आउने भाडा चर्काे छ, बिमानस्थल निर्माणले पनि गति लिन सकेको छैन र अन्य पूर्वाधारको निर्माणको गति पनि सुस्त छ,’ उनले भने, ‘२० लाख पर्यटक भित्र्याउने सरकारको योजना नारामा सीमित हुन लागेको देखिन्छ ।’

निजगढ विमानस्थलः जग्गा अधिग्रहण सुरु

निजगढ विमानस्थलका लागि अहिले जग्गा अधिग्रहणको काम सुरु भएको छ । जग्गा अधिग्रहणका लागि अहिले मुआब्जा वितरणको काम थालिएको हो ।


सरकारले यसको निर्माणस्थलमा क्लियरेन्सका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको छ । तर, यसको हालसम्म सम्झौता हुन सकेको छैन । यो आयोजना कहिले निर्माण सकिन्छ भन्नेमा नागरिक उड्डयन प्राधिकरण नै बेखबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment